बेशीसहरका नागरिकलाई अब बाह्रै महिना र २४ सै घण्टा शुद्ध खानेपानी - मन्त्री यादव

लमजुङ । खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेसीसहरका नागरिकको खानेपानी समस्या तत्कालका लागि अन्त भएको बताएका छन् ।
बुधबार लमजुङको बेसीसहरस्थित सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना, २४ सै घण्टा स्वच्छ खानेपानी प्रयोग गर्न पाउने बताए ।
'कुनै पनि समाजको समृद्धि स्वस्थ जीवनशैलीको आधार स्वच्छ पानी हो । तर, विगतमा लमजुङको बेसीसहर नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको थियो,' उनले भने, 'पानीको अभावका कारण यहाँको बसाइ कठिन थियो, तर आजको दिनले यहाँ नयाँ युगको सुरुवात गरेको छ ।'
सरकारको नीति नै नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउनु भएकाले देशका दुर्गम क्षेत्र सहित लमजुङका नागरिकको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ थियो । 'देशका हिमाल, पहाड, तराइँ सहित विभिन्न दुर्गम क्षेत्रका नागरिकहरूको खानेपानीको समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध छ,' मन्त्री यादवले भने ।
त्यसैगरी मन्त्री यादले संघीय सरकार, उपभोक्ता समिति र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य र परिश्रमको फलस्वरूप आज बेसीसहरमा यो महत्त्वपूर्ण सफलता हासिल गर्न सफल भएको भन्दै खुसीसमेत व्यक्त गरे । भने, 'अब बेसीसहरका हजारौँ नागरिक निरन्तर रूपमा शुद्ध, प्रशोधित, र सुरक्षित खानेपानी सेवा प्राप्त गर्न सक्षम हुनेछन् । सरकार नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।'
नगर विकास कोषबाट लिइने ऋणमा ब्याजदर कम गर्न पहल गरिरहेको र यसले उपभोक्ताहरूलाई आर्थिक रूपमा थप सहज बनाउने विश्वास लिएको पनि उनले बताए । खानेपानी सेवाको विस्तार तथा नवप्रवर्तनका लागि आवश्यक स्रोत सुनिश्चित गर्न मन्त्रालयले दीर्घकालीन योजना बनाउने उनको भनाइ थियो ।
'हाल सह–लगानी मोडेलमा उपभोक्ताले ३० प्रतिशत योगदान गर्नुपरेको भए पनि अब सरकारले नीति परिमार्जन गर्दै निर्देशिका तयार गरी यो अनुपात ८५/१५ मा रूपान्तरण गरिसकेको तर जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन म प्रतिबद्ध छु,' उनले भने ।
खानेपानी क्षेत्रलाई अझ प्रभावकारी, समावेशी र दिगो बनाउन नेपाल सरकारसहित आफ्नो प्रयास निरन्तर जारी रहेको मन्त्री यादवले प्रतिबद्धता जनाए ।
भावी योजनाअन्तर्गत बेसीसहर क्षेत्रको खानेपानी सेवा विस्तार गर्न १० करोडको नयाँ परियोजना अघि बढाउन सरकार प्रतिबद्ध रहेका तथा जलवायु परिवर्तन तथा दिगो खानेपानी व्यवस्थापनका लागि रु १७ करोडको थप योजना स्वीकृत गर्ने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।
आज उद्घाटन गरिएको आजको उक्त आयोजनाले बेसीसहर नगरपालिका-६ देखि १० सम्मका करिब ४५ हजार जनसङ्ख्या तथा २ हजार ७०० घर प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले जानकारी दिए ।
गुरुत्वाकर्षण प्रवाह प्रविधिमा आधारित भएकाले विनापम्पिङ, न्यून ऊर्जा खर्चमा पानी आपूर्ति गर्न सकिने, पम्पिङ आवश्यक नपर्ने भएकाले नियमित, भरपर्दो, र टिकाउ खानेपानी सेवा यहाँका बासिन्दाले प्राप्त गर्न सक्ने श्रेष्ठले बताए । सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालित यो आयोजनामा सरकारको ७० र उपभोक्ता समितिको ३० प्रतिशत योगदान रहेको छ । यसको कुल लागत २८ करोड ८३ लाख रहेकोमा नेपाल सरकारको २० करोड २८ लाख र उपभोक्ता समितिको ८ करोड ६४ लाख रुपैयाँ छ ।
उक्त आयोजनाले २४ सै घण्टा निरन्तर गुणस्तरीय पानी उपलब्ध गराउने र जसका लागि २८ एलपीएस क्षमता भएको आधुनिक प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
आजको उक्त कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्रचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा बागमतीका १ लाख ८ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने, कुन जिल्लाबाट कति ?
-
भारतीयलाई नागरिकता दिलाउने नक्कली बुवा पक्राउ, वडाध्यक्षले एक लाख भारुमा गरेका थिए सिफारिस
-
सुदूरपश्चिममा स्ववियु निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक, नेविसंघ अग्रस्थानमा
-
लुम्बिनी प्रदेश सरकारको खर्च ८ महिनामा ३१ प्रतिशत
-
अनलाइन टिभी पत्रकार सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण
-
विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेस गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन