बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

पद्मकन्या क्याम्पस : विरासत जोगाउने र भत्काउनेबिच प्रतिस्पर्धा हुँदै

बुधबार, ०६ चैत २०८१, १७ : २१
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । पद्मकन्या क्याम्पसमा भोली (चैत ७ गते) स्ववियु निर्वाचन हुँदैछ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन विवादका कारण भोलिका लागि सरेको हो । भोलि हुने निर्वाचनमा विगतको आफ्नो विरासत जोगाउने र भत्काउनेबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

पद्मकन्याबाट विभिन्न ५ विद्यार्थी संगठनले चुनाव लड्दैछन् । जसमा नेविसंघको तर्फबाट पूर्णिमाया परियार अध्यक्षसहित पुरै प्यानल तयार छ । पद्मकन्या विगतदेखि नै नेविसंघले जित्दै आएको थियो । यसअघि २०७९ सालको निर्वाचनमा समेत नेविसंघकै ज्योति पनेरु स्ववियु अध्यक्षमा निर्वाचित भएकी थिइन । यो पटक समेत नेविसंघले आफ्नो विरासत कायम राख्ने दाबी गर्दै आएको छ । 

त्यस्तै यो पटक नेविसंघलाई हराउँदै आफ्नो विरासत फर्काउने मनसायसहित अनेरास्ववियु अघि बढेको छ । अखिल संयुक्त सुनिता घिमिरेको अध्यक्षतामा प्यानलसहित चुनावी मैदानमा छ । त्यस्तै स्वतन्त्र समूह बनाएर नेविसंघकै भूपेश्वरी ऐरले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । 

अखिल (क्रान्तिकारी) संयुक्तको तर्फबाट रविना सथसंकर अध्यक्षको उम्मेदवारसहित प्यानलसहित चुनावी मैदानमा छिन् भने अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) को तर्फबाट प्रजिना दर्नाल प्यानलसहित चुनावी मैदानमा छिन् । 

दर्नाल अखिल समाजवादी र अनेरास्ववियूको संयुक्त टिमबाट अध्यक्षकी उम्मेदवार बनेकी हुन् । उक्त समूह ‘नयाँ सोच नयाँ गति–भोट फर अनेरास्ववियू र समाजवादी’ भन्दै चुनावी प्रचार प्रसार गरिरहेको छ । 

‘परिवर्तनको निम्ति पिके क्याम्पसमा सही नेतृत्व र विचार जरुरी भएकोले हाम्रो भिजनलाई विद्यार्थीले जिताउनेछन्, उनले भनिन् । 

सभापतिकी उम्मेदवार दर्नालको प्यानलमा सचिवमा अरुणा गौतम, कोषाध्यक्षमा आयुष्मा पण्डित क्षेत्री, प्रत्यक्ष सदस्यहरूमा भूमिका चुनारा, अनुपमा आचार्य, कजिना ढकाल, प्रियंका नापित, सर्मिला कुमारी बुढा, समानुपातिक सदस्यहरूमा प्रेमिता बानियाँ, सल्मा महर्जन, एलिना आचार्य, बबिता बिष्ट, रुपा नेपाली र श्रीया अधिकारी रहेका छन् । 

उक्त समूहले क्याम्पस भित्रका विकृतिहरूको अन्त्य गर्न, स्ववियुलाई विद्यार्थीको सेवा गर्ने संस्थाको रूपमा विकास गर्न, क्याम्पसको शिक्षा र प्रशासनको स्तरबृद्धि गर्न, रोजगारी र उत्पादनका कार्यलाई अघि बढाउन, इमानदारिता र पारदर्शिता लागू गर्न र विज्ञान प्रविधि क्षेत्रमा नयाँ नयाँ परियोजनाका साथ १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

त्यस्तै अखिल (क्रान्तिकारी) बहुमतको तर्फबाट स्ववियु अध्यक्षमा उम्मेदवार दिएकी सथसंकरले स्ववियुको महत्त्व र गरिमाको शैक्षिक रूपान्तरणको आन्दोलनका रूपमा स्थापित गर्न उम्मेदवारी दिएको बताइन् । 

कानुन संकायबाट स्नातक गरेकी सथसंकर समाजशास्त्र विषयमा स्नातकोत्तर गरिरहेकी छन् । उनको नेतृत्वमा अखिल (क्रान्तिकारी) संयुक्तको प्यानलबाट सचिवमा गिनिज बुढा, कोषाध्यक्षमा आरती नेपालीले उम्मेदवारी दिएका छन् ।

विद्यार्थीहरूको बलिदानपूर्ण सङ्घर्षबाट स्थापित आम विद्यार्थीको साझा र सरकारको प्रतिपक्षीय आन्दोलन (स्ववियु) लाई विगत केही दशकदेखि विकृत बनाउँदै लगिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?