स्थगित स्ववियु निर्वाचन र विद्यार्थी आन्दोलन

सानै हुँदा मैले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावबारे सुनेकी थिएँ । मेरा दाजुभाइ, दिदीबहिनी क्याम्पसमा भर्खर भर्ना भएका थिए । हरेक पटक स्ववियु चुनावका बेला उनीहरूको उत्साह लोभलाग्दो हुन्थ्यो । योग्य साथीलाई स्ववियु चुनावमा जिताउन दिलोज्यानले लागिरहेका हुन्थे । उनीहरूको उत्साह र समर्पण देख्दा विद्यार्थी राजनीति रोचक लाग्थ्यो ।
मैले भने यस्तो उत्साहको मौका पाइनँ । निजी कलेजमा पढे जहाँ विद्यार्थी राजनीति लगभग वर्जित छ । यद्यपि मैले नेपालको विद्यार्थी आन्दोलनको इतिहास भने पढ्ने र सुन्ने मौका पाए । र यही कारण विद्यार्थी आन्दोलतप्रति मेरो लगाव छ । विद्यार्थी राजनीति केवल उमेरको जोस मात्र होइन, बरु भविष्यका नेताहरू निर्माण गर्ने एउटा प्रयोगधर्मी थलो रहेछ भन्ने महसुस गरेँ । जसरी कुनै देशको लोकतन्त्र बलियो बनाउन चुनाव आवश्यक छ, त्यसरी नै विद्यार्थी राजनीतिले लोकतन्त्रलाई कुशल नेतृत्व दिन महत्त्वपूर्ण भूमिका खेल्छ ।
- ऐतिहासिक पृष्ठभूमि
नेपालमा विद्यार्थी आन्दोलनको जरो निकै गहिरो र पुरानो छ । २०३६ को जनमत संग्रहदेखि २०६२/६३ को गणतन्त्र स्थापनासम्म विद्यार्थीले अग्रणी भूमिका खेलेका छन् । २०१७ सालमा पञ्चायती व्यवस्था लादिँदा सबैभन्दा पहिला विद्यार्थी संगठनहरूले देशभर विरोध प्रदर्शन गरेका थिए ।
त्यसपछि २०३६ सालको जनमत संग्रहमा विद्यार्थीहरू बहुदलीय व्यवस्थाको पक्षमा उभिए । जनमत संग्रहसम्म विद्यार्थी आन्दोलनले नै पुर्याएको हो ।
२०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्यका लागि विद्यार्थीहरूले निर्णायक संघर्ष गरे र त्यसैको बलमा बहुदलीय व्यवस्था पुनस्र्थापित भयो ।
यी सबै संघर्षमा विद्यार्थी संगठनले देखाएको नेतृत्वले विद्यार्थी राजनीति परिवर्तनको अगुवा शक्ति हो भन्ने प्रमाणित गरेको छ । जब–जब मुलुक संकटमा पर्छ, जब–जब शासकले अन्याय गर्छन्, तब ढाल बनेर विद्यार्थी सडकमा उत्रन्छन् ।
नेपालका विद्यार्थी संगठनहरू प्रायः राजनीतिक दलहरूमा आबद्ध छन्, जसका कारण विद्यार्थी राजनीतिलाई कहिलेकाहीँ नकारात्मक रूपमा हेरिन्छ । वास्तविकता के हो भने राजनीतिभन्दा पर कोही छैनन् र विद्यार्थी संगठनहरू त झन् हुने कुरै भएन ।
चुनाव स्थगित गर्दै जाने हो भने विद्यार्थी राजनीतिमा निराशा बढ्नेछ र योग्य विद्यार्थीहरू नेतृत्वमा आउने अवसर गुम्नेछ । विश्वविद्यालय प्रशासनले निष्पक्ष प्रक्रिया अपनाएर निर्वाचन गराउने वातावरण बनाउनुपर्छ । विद्यार्थी संगठनहरूबिच सहमति जुटाएर निष्पक्ष चुनाव सुनिश्चित गर्नुपर्छ ।
- स्ववियु निर्वाचन राजनीति चियाउने आँखीझ्याल
हाम्रो राजनीतिक अभ्यासमा स्ववियु निर्वाचन विद्यार्थी राजनीतिमा प्रवेश गर्ने ढोका हो । यहीँबाट विद्यार्थीले नेतृत्व विकास गर्ने अवसर पाउँछन् । बहस, छलफल, तर्क–वितर्क, सहमति, प्रतिस्पर्धा र नीति निर्माणको प्रारम्भिक अभ्यास स्ववियु निर्वाचनबाटै सुरु हुन्छ ।
नेपालका धेरै चर्चित राजनीतिक नेताहरू विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा पुगेका छन् । तसर्थ स्ववियु निर्वाचन केवल विद्यार्थीको आन्तरिक राजनीति मात्र होइन, यो उनीहरूको हक–अधिकारको सुरक्षा गर्ने एउटा महत्त्वपूर्ण संरचना पनि हो । मुलुकमा कस्ता राजनीतिज्ञ आउँदै छन् भनेर चियाउने आँखीझ्याल पनि हो ।
- स्थगित स्ववियु निर्वाचन र यसको असर
पछिल्लो समय विद्यार्थी राजनीति कमजोर बनाउने प्रयास भइरहेको छ । लामो समय विश्वविद्यालय र क्याम्पस स्ववियुविहीन अवस्थामा थिए ।
बिस्तारै लयमा फर्किन लागेको स्ववियुलाई कतिपय शैक्षिक संस्थाले अनेक कारण देखाउँदै निर्वाचन स्थगित गरेका छन् । कतिपय क्याम्पस प्रशासनले विद्यार्थी संगठनबिच विवाद हुने डरले चुनाव गराउन आनाकानी गरिरहेका छन्, भने कतिपय स्थानमा राजनीतिक दलहरूको हस्तक्षेपले निष्पक्ष चुनाव हुन सकेको छैन ।
कुनै पनि शिक्षालयमा स्ववियु निर्वाचन रोकिँदा त्यसको असर लामो समयसम्म पर्न सक्छ । स्ववियु नभएका क्याम्पसमा विद्यार्थी आफ्नो अधिकार खोज्न सक्दैनन् । शुल्क वृद्धिदेखि विद्यार्थी सुरक्षासम्मका विषयमा प्रशासनले आफ्नै निर्णय लिन्छ, जसको प्रतिरोध गर्ने बलियो विद्यार्थी संरचना हुँदैन ।
नेपालको संविधानले नै नागरिकलाई संघ, संगठन, र आन्दोलन गर्ने अधिकार दिएको छ । विद्यार्थीका लागि स्ववियु निर्वाचन यही अधिकारको अभिव्यक्ति हो । लोकतान्त्रिक प्रणालीको अभ्यास बाल्यकालदेखि नै हुनुपर्छ, ताकि भविष्यमा विद्यार्थी सशक्त नागरिक बन्न सकुन् । संसद, प्रदेशसभा, स्थानीय तहमा चुनाव गरिन्छ तर विद्यार्थीका लागि किन निर्वाचन रोक्नपर्यो ? कतिपय स्थानमा अप्रिय घटना पनि भए । यस्ता अप्रिय घटनाको विद्यार्थी नेता र संगठनहरूले छानबिन गर्नुपर्छ । विद्यार्थीलाई उनीहरूको सुरक्षाको प्रत्याभूति दिलाउनु पनि विद्यार्थी संगठनकै जिम्मेवारी हो ।
- नेतृत्वको जिम्मेवारी
अबको जिम्मेवारी नेतृत्व वर्गको हो । जहाँ–जहाँ स्ववियु निर्वाचन स्थगित गरिएको छ, अब त्यो तुरुन्त गराउनुपर्छ । चुनाव स्थगित गर्दै जाने हो भने विद्यार्थी राजनीतिमा निराशा बढ्नेछ र योग्य विद्यार्थीहरू नेतृत्वमा आउने अवसर गुम्नेछ । विश्वविद्यालय प्रशासनले निष्पक्ष प्रक्रिया अपनाएर निर्वाचन गराउने वातावरण बनाउनुपर्छ । विद्यार्थी संगठनहरूबिच सहमति जुटाएर निष्पक्ष चुनाव सुनिश्चित गर्नुपर्छ ।
विद्यार्थी आन्दोलन संकटग्रस्त अवस्थामा छ । विगतका झै–झगडाले आन्दोलनलाई पिरोलिरहेको छ । यस्तोमा त्यस्ता प्रदूषित चिन्तनलाई प्रश्रय दिनुहुँदैन । विद्यार्थी आन्दोलन तेज निभ्न नदिने र यसको उपादेयता जोगाउने दायित्व विद्यार्थी संगठनहरूको हो । त्यसैले आफू अब्बल बनौँ, विद्यार्थी आन्दोलनलाई सशक्त बनाऔँ ।
शैक्षिक संस्थान र विद्यार्थी आन्दोलनलाई बाहुबल प्रयोग गर्ने थलो नबनाई विचार र सिद्धान्तको अभ्यास गर्ने बृहत् मञ्च बनाइनुपर्छ । स्ववियुलाई राजनीतिको पहिलो खुड्किलोका रूपमा स्थापित गर्ने हो भने यसलाई लोकतान्त्रिक बनाउनुपर्छ । यसका प्रक्रिया लोकतान्त्रिक पद्धति अनुकूल हुनैपर्छ ।
- सिर्जनात्मक विद्यार्थी आन्दोलन
विद्यार्थी राजनीतिमाथि प्रश्न उठिरहेका बेला अबको स्ववियु नेतृत्वले शिक्षालयमा तालाबन्दी गर्ने होइन । शिक्षालयलाई अध्ययन, अनुसन्धानको केन्द्र बनाउने बहस गरिनुपर्छ । विद्यार्थी हकहितलाई केन्द्रमा राख्दै नवप्रवर्तनतर्फ जोड दिनुपर्छ ।
शिक्षकलाई कालोमोसो दल्ने, कुटपिट गर्ने नभई शैक्षिक वातावरण रचनात्मक र सिर्जनात्मक बनाउन पहल गर्नुपर्छ । पाठ्यक्रम, शैक्षिक नीति, प्रणालीजस्ता विषयमा विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्छ ।
विद्यार्थी नेताहरूले विचारशील बहस, अनुसन्धानमुखी नीतिगत छलफल र समाज परिवर्तनका लागि नवीनतम विधिहरू अपनाउनुपर्छ । विद्यार्थी संगठनहरूले डिजिटल मञ्चहरू, पोडकास्ट, ब्लग र अनलाइन बहसलाई प्राथमिकता दिनु आवश्यक छ ।
विद्यार्थी राजनीतिलाई केवल दलगत प्रतिस्पर्धामा सीमित नराखी, सामाजिक अभियन्ता प्रवृत्तिको विकास गर्नुपर्छ । शिक्षा सुधार, वातावरणीय संरक्षण, मानसिक स्वास्थ्यजस्ता विषयमा विद्यार्थी नेताले सक्रिय भूमिका खेल्नुपर्छ ।
विद्यार्थी संगठन र स्ववियुले विश्वविद्यालयभित्र इन्टर्नसिप कार्यक्रम, नीति निर्माण कार्यशालाहरू र उद्यमशीलता प्रवद्र्धनका अभियान सञ्चालन गर्नुपर्छ । विद्यार्थीलाई दलगत गुटबन्दीभन्दा माथि उठेर, नीति, विचार र शिक्षामा सुधार ल्याउनेतर्फ उन्मुख गराउनुपर्छ । यसो भएमा भविष्यको विद्यार्थी पुस्तालाई सग्लो विद्यार्थी आन्दोलन हस्तान्तरण गर्न सकिन्छ र विद्यार्थी आन्दोलनको गरिमा पनि जोगिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उज्यालो नेपालका नायक कुलमान होइनन्, भारतले गर्दा लोडसेडिङ हटेको हो’
-
पलायन हुँदै उखु किसान, महिना दिन अगावै क्रसिङ बन्द
-
गाजामा इजरायली हवाई आक्रमण जारी, २५ जनाको मृत्यु
-
एलपिजी ग्यासको जोखिम घटाउन काठमाडाैँ महानगरकाे निरीक्षण र सचेतना
-
पहिलो सहभागितामै आईपीएलमा चम्कन सक्ने यी पाँच युवा खेलाडी
-
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती