जनमत पार्टीसँग एकताबारे नागरिक उन्मुक्तिभित्रै अन्योल

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया तीव्र रूपमा अगाडि बढेको भनिए पनि रेशम चौधरी र रञ्जिता श्रेष्ठबिचको विवादले अन्योल बढेको छ ।
रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् भने उनकी पत्नी रञ्जिता अध्यक्ष हुन् । उनीहरूबिचको आन्तरिक झगडाले पार्टी एकतामा ब्रेक लाग्ने हो कि भन्ने आशङ्का बढेको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी एकताको प्रक्रिया अगाडि बढिसकेको र केही दिनमै त्यसको घोषणा हुने जनाएका थिए ।
तर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले एकताको विषयमा कुनै प्रक्रिया अगाडि नबढेको बताएकी छन् । उनले भनिन्, ‘एकताको कुरा म पनि सुन्दैछु तर पार्टीमा त्यसबारे कुनै छलफल छैन । न कुनै दस्ताबेज बनेको छ, न वार्ताका लागि कुनै कार्यदल बनेको छ । अनि कसरी एकता प्रक्रिया अगाडि बढ्यो ? मलाई थाहा छैन ।’
आफू पार्टीको अध्यक्ष रहेको तर एकताको विषयमा कसैले कुरा नगरेको रञ्जिताको भनाइ थियो । अरू कसले कहाँ के कुरा गरिरहेका छन् भन्ने आफूलाई थाहा नभएको उनले बताइन् ।
चैत ३ गते जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटघाट भए पनि एकताको विषयमा कुनै कुराकानी नभएको रञ्जिताले बताइन् । अरू समसामयिक राजनीतिक अवस्थाको बारेमा मात्र कुराकानी भएको उनको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले चैत ८ गते बस्ने केन्द्रीय समितिको बैठकले सबै कुराको टुङ्गो लाग्ने बताए । उनले एउटा भिडियो सन्देश जारी गरेर एकताको सबै प्रक्रिया लगभग टुङ्गिएको र केन्द्रीय समितिको बैठकमा औपचारिक रूपमा छलफल गरी त्यसलाई अन्तिम रुप दिने जनाएका छन् ।
संरक्षक चौधरीका अनुसार सहमतिको दस्ताबेज मस्यौदासमेत तयार भइसकेको छ । यद्यपि अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ गते बस्ने केन्द्रीय समितिको बैठकमा पार्टी एकताको कुनै एजेन्डा नरहेको दाबी गरिन् ।
‘अध्यक्षको हैसियतले बैठक मैले बोलाएको हुँ । त्यो बैठकमा एकताबारे छलफल गर्ने कुनै एजेन्डा छैन । पार्टीका साथीहरूले आफ्नो कुरा राख्ने क्रममा एकताको बारेमा कुरा उठाए भने त्यो बेग्लै कुरा हो तर एजेण्डाकै रूपमा राखिएको छैन,’ उनले भनिन् ।
पार्टी एकताका लागि संरक्षक रेशम चौधरीले पार्टीमा तलैदेखि छलफल चलाएका छन् । स्थानीय, जिल्ला तथा प्रदेश कमिटीमा त्यसबारे छलफल गरी केन्द्रीय कमिटीको बैठकमा निष्कर्ष लैजाने र एकताको बारेमा निर्णय गराउने तयारी संरक्षक चौधरीको छ ।
पार्टीको नाम, चुनाव चिह्नलगायत अन्य राजनीतिक दस्ताबेजको टुङ्गो जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टुङ्ग्याइसकेका छन् । पार्टीको नाम जनमत रहने, चुनाव चिह्न ढकिया रहने, पार्टीको अध्यक्ष सीके राउत, संरक्षक रेशमलाल चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने लगभग तय भइसकेको छ ।
अन्य नेताको व्यवस्था कसरी गर्ने भन्ने बारेमा पनि राउत र चौधरीका बिचमा छलफल चलिरहेको छ । संरक्षक चौधरीले पार्टी एकता हुँदा कुनै पनि नेतामाथि अन्याय नहुने बताएका छन् । यो एकताले मधेसमा पहिलो शक्ति बन्ने र मधेसी, आदिवासी जनजाति तथा उत्पीडित समुदायको हकहितका लागि काम गर्ने, अन्यायका लागि लड्ने संरक्षक चौधरीको भनाइ छ ।
चैत महिनाभित्र पार्टी एकता घोषणा हुने जनमत पार्टीका नेतासमेत बताउँछन् । पार्टी एकताका लागि जनमत पार्टीले केन्द्रीय समितिबाट निर्णय गर्दै तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिंह यादव, बालगोविन्द चौधरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह
-
रूस र युक्रेनबिच ३७२ युद्धबन्दी आदानप्रदान