मोदीसँग भेटका लागि पहल गर्दै परराष्ट्रमन्त्री राणा

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि पहल गरिरहेकी छन् ।
रायसिना डायलगमा भाग लिन भारत पुगेकी परराष्ट्रमन्त्री राणाले दुई देशबिचको सम्बन्ध सुधार गर्ने उद्देश्यले भारतीय प्रधानमन्त्री मोदीसँग भेटका लागि पहल गरिरहेकी हुन् । शुक्रबार नेपाल फर्कने तयारीमा रहेकी उनले त्यसअघि भारतका प्रधानमन्त्रीलाई भेट्न चाहेको बताइएको छ ।
यसअघि परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी एस.जयशंकरसँग भेट गरेकी थिइन् । सो भेटमा समेत आगामी जेठमा नेपालमा हुने सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथि बनाउन चाहेको विषयमा चर्चा भएको स्रोतले बताएको छ ।
भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले पनि भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेटेर भारतका प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री आरजुबिच भेटघाटको समय मिलाउने प्रयास गरेका छन् ।
रायसिना डायलगमा भाग लिन नेपालबाट भारत पुगेका एक जना प्रतिनिधिले भने, ‘परराष्ट्रमन्त्रीज्यू उच्चस्तरीय भेटघाटका लागि वातावरण बनाउने कोसिसमा हुनुहुन्छ । हेरौँ, साँझसम्म के हुन्छ !’
नेपाल–भारतबिच बिग्रिएका सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आरजुबाट पटकपटक प्रयास भइरहेको छ । तर एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण भारत निश्चित दूरीमा बस्न थालेको बताइएको छ ।
एमालेले हालै बसेको सचिवालय बैठकले देशमा पछिल्लो समय बढ्दै गएको राजावादीहरूको गतिविधिबारे छलफल गर्दै उनीहरूलाई भारतले उचालेको निष्कर्ष निकालेको थियो । त्यसमा भारतले चित्त दुखाएको छ ।
परराष्ट्रमन्त्री आरजुसँग भारतीय पक्षले यसबारे गुनासो गरेको बताइएको छ । रायसिना डायलगको क्रममा आरजुसँग भेट गरेका भारतीय नेता तथा सरकारी अधिकारीहरूले एमालेको निर्णयलाई लिएर चित्त दुखाएको स्रोतको भनाइ छ ।
थाइल्याण्डमा वैशाखमा हुने बिमस्टेक सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ता गर्न चाहेका छन् । यसबारे पनि परराष्ट्रमन्त्री राणाले भारतीय पक्षसँग चर्चा गरेको बताइएको छ । बिमस्टेक सम्मेलनका क्रममा मोदीसँग साइडलाइन वार्ता गरी प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि निमन्त्रण दिने योजना बनाइएको स्रोत बताउँछ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले सगरमाथा संवादका लागि दुई छिमेकी देशबाट उच्चस्तरीय प्रतिनिधि सहभागी गराउने योजना रहेको र सोही अनुसार निमन्त्रणा गरिएको बताए । परराष्ट्रमन्त्री आरजुमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रणा पठाइएको हो भन्ने जिज्ञासामा प्रवक्ता ढकालले खुलेर बताउन चाहेनन् ।
नेपाल फर्कनु अघि दिल्लीमा स्वास्थ्य उपचार तथा केही भेटघाटको कार्यक्रम रहेको परराष्ट्रमन्त्री राणाको निजी सचिवालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा बागमतीका १ लाख ८ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने, कुन जिल्लाबाट कति ?
-
भारतीयलाई नागरिकता दिलाउने नक्कली बुवा पक्राउ, वडाध्यक्षले एक लाख भारुमा गरेका थिए सिफारिस
-
सुदूरपश्चिममा स्ववियु निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक, नेविसंघ अग्रस्थानमा
-
लुम्बिनी प्रदेश सरकारको खर्च ८ महिनामा ३१ प्रतिशत
-
अनलाइन टिभी पत्रकार सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण
-
विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेस गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन