बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

सागका स्वर्ण पदकधारी विप्लवलाल श्रेष्ठको अप्रत्यासित सन्न्यास घोषणा

‘कराँते महासंघका पदाधिकारीको अपमान सहन नसकेर सन्न्यास लिएँ’
बुधबार, ०६ चैत २०८१, १६ : २७
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औँ संस्करणमा देशलाई स्वर्ण पदक चुमाउने कराँते खेलाडी विप्लवलाल श्रेष्ठले अप्रत्यासित रुपमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।

श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन् । उनले नेपाल कराँते महासंघका पदाधिकारीहरुको अप्रिय व्यवहारका कारण आफूले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको बताए । उनले खासगरी महासंघका अध्यक्ष युवराज लामाले आफूप्रति नराम्रो व्यवहार गरेको आरोप लगाए ।

आफू कराँते छाडेर विदेश जाने तयारीमा रहेको पनि उनले बताए ।  ‘म कराँते खेलसँग अभिन्न रुपमा जोडिएको छु । त्यसैले अहिले नै सन्न्यास लिन मन थिएन । तर, कराँते महासंघका पदाधिकारीहरुको नराम्रो व्यवहारबाट निकै चित्त दुःखेको छ । यस्तो स्थितिमा सन्न्यास लिनुको विकल्प थिएन,’ २८ वर्षीय विप्लवले भनेका छन् ।

१९ औँ एसियाली खेलकुदपछि महासंघका माथिल्लो पदमा आसिन पदाधिकारीहरुले आफूमाथि फरक व्यवहार गर्न थालेको उनले बताए ।  ‘सुरुमा त सहेरै बसेको थिएँ । तर, बारम्बार अपमान हुन थालेपछि सन्न्यास लिने निर्णय गरेँ,’ उनले भने ।

राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक दीपक श्रेष्ठसँगको निकट सम्बन्धका कारण महासंघ नेतृत्व आफूमाथि पूर्वाग्रही बनेको हुनसक्ने अनुमान उनले गरेका छन् । 

उनले निकट भविष्यमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद र सन् २०२६ को एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गर्ने चाहना हुँदाहुँदै सन्न्यास लिन बाध्य भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?