‘गणतन्त्र दान होइन, सार्वभौम जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता गर्दैनन्’

काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र कसैको दान स्वरूप प्राप्त नभएको भन्दै सार्वभौम जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता नगर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख राजनीतिक दलका नेताहरूले यस्तो बताएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा भइरहेका गतिविधिप्रति संकेत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष गरेका राजनीतिक दलका नेताहरूले गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए ।
बैठकमा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले त्यति सजिलै राजतन्त्र ल्याउँछु भनेर नसोच्न राजावादीहरूलाई चेतावनी दिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रमुख राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै पृथ्वीनारायण शाहदेखि विभिन्न किसिमका राजतन्त्र नेपाली जनताले देखे भोगेको बताए ।
नेपाली जनताको अधिकार खोसेर राजाहरूले शासन चलाउँदाको अवस्था स्मरण गर्दै नेता निधिले राजतन्त्रको दुष्परिणामकै कारण नै गणतन्त्र स्थापना भएको बताए ।
‘हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली कसैले दानमा दिएको होइन, हामीले संघीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोगका लागि ल्याएका छौँ’, निधिले भने, ‘हामीले थरीथरीका राजतन्त्र हेरिसकेका छौँ,’ पृथ्वीनारायण शाहको राजतन्त्रको मोडल पनि हेरेका छौँ, त्रिभुवन राजाको मोडल पनि हेरेका छौँ ।’
उनले तत्कालीन बालक ज्ञानेन्द्रको राजतन्त्रको मोडलदेखि वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटक अधिकार खोसेर गरेको मोडल हेरेको भन्दै राजतन्त्रको दुष्परिणाम हेरिसकेको बताए ।
नेता निधिले विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलहरू प्रतिवद्ध रहेको बताए । ‘कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन, त्यो अवस्था छैन । जनताले कुनै पनि मोडलको राजतन्त्र चाहेको छैन । यसका लागि हामी जे पनि गर्न तयार छौँ,’ निधिको भनाइ छ । उनले देशी विदेशी र साधुसन्तहरुले यो आउँछ, त्यो आउँछ भनेर भनेपनि त्यस्ता भनाइमा कुनै सत्यता नभएको बताए । ‘वास्तवमा यो त रिजेक्टेट राजा हो । प्रथम राष्ट्रपति डा. रामवरण यादव र अन्तिम राजा ज्ञानेन्द्र शाह हो’, उनले भने, ‘नेपाली जनताको धैर्यता र सीमाबारे ख्याल गर्नुस् ।’
बैठकमा पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किन नसक्ने जिकिर गरे ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले सार्वभौम भइसकेका जनताको चाहाना विपरित राजतन्त्र ल्याउन मूर्खता नगर्न राजावादीहरूलाई चेतावनी दिए ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने भन्दै शर्माले निरंकुशतन्त्र र तानाशाहीतन्त्र कदापि स्वीकार्य नहुने बताए ।
‘नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको प्रारम्भ कसरी भयो सबैलाई थाहा छ’, शर्माले भने, ‘जब २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भयो ।’
नेता शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र नफर्कने भन्दै भने,‘सार्वभौम भएका जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता गर्दैनन् ।’
शर्माले राजतन्त्र फर्किन्छ भनेर आशङ्कित हुनु जरुरी नभएको समेत बताए । ‘राजतन्त्रको पक्षमा होहल्ला गर्न जरुरी छैन’ ’शर्माको भनाइ छ ।
नेकपा एमालेका प्रमुख सचेतक सुनिता बरालले नेपाली जनताको चेतनाको स्तर बढ्दै गएको भन्दै अहिले चियाचौतारीदेखि सवै ठाउँमा निराशा बाँड्ने काम भएको बताइन् । उनले त्यस्ता निराशा चिर्न सरकार र राजनीतिक दलहरूले समन्वय गरेर सुशासन र पारदर्शी काममा ध्यान दिनुपर्ने बताइन् ।
‘नयाँ दलले पुराना दललाई गाली गर्ने र पुस्तान्तरणको कुरा गरेर राम्रो गर्दैन । अव जनताका मुद्दामा अपडेट, अपग्रेड र प्रतिस्पर्धा गरौँ’, उनले भनिन्, ‘निराशा देखाएर जनता भड्काउने होइन पोलिसी र प्रोग्रामका आधारमा जनतालाई गणतन्त्रमै समेट्ने थलो बनाउनुपर्छ ।’
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले भने राजा आउने डरले गणतन्त्रवादी नेताहरूलाई नआत्तिन आग्रह गरे ।
सिंहले गणतन्त्र आएको दुई दशक बितिसक्दा पनि राजाले अहिलेसम्म कुनै हस्तक्षेप नगरेको बताउँदै सुशासन र समृद्धिका लागि एक पटक साथ दिनुस् भनेर राजाले भन्दा यसरी आत्तिन जरुरी नभएको बरु दलहरू सुध्रिन जरुरी रहेको बताए ।
‘देश तपाई हामीले नै मिलेर बनाउने हो यो देशमा गणतन्त्र ल्याएको तपाईँहरूले नै हो हामीले होइन’, सिंहले भने, ‘राजाले मध्यरातमा जनताको नासो जनतालाई सुम्पिन्छु भन्दै राजगद्दी र राजमुकुट जनतालाई सुम्पिएर हात जोड्दै निस्किएको तपाईँहरूले देख्नुभएकै हो । तर, तपाईँहरूकै कुकर्मकै कारण देशमा यो अवस्था आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पलायन हुँदै उखु किसान, महिना दिन अगावै क्रसिङ बन्द
-
गाजामा इजरायली हवाई आक्रमण जारी, २५ जनाको मृत्यु
-
एलपिजी ग्यासको जोखिम घटाउन काठमाडाैँ महानगरकाे निरीक्षण र सचेतना
-
पहिलो सहभागितामै आईपीएलमा चम्कन सक्ने यी पाँच युवा खेलाडी
-
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती
-
राजेन्द्र लिङ्देन र कमल थापाले ठुलो राजनीति गरे : दुर्गा प्रसाईं