कानुनविपरीत जगेडा राखिएका सहसचिव र उपसचिवलाई गृहमन्त्री लेखकले दिएनन् जिम्मेवारी

काठमाडौँ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार मन्त्रालय अन्तर्गत कार्यरत १२ सहसचिव र एक उपसचिवको पदस्थापन तथा सरुवा गरियो । ६ सहसचिवको पदस्थापन र ६ सहसचिवको सरुवा हुँदा एक उपसचिवको सरुवा गरियो ।
तर सरुवा र पदस्थापनमा गृहमन्त्री लेखकले मन्त्रालयको अतिरिक्त समूह (जगेडा)मा निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख)(१) विपरीत राखेकालाई समेटेनन् ।
ऐनको दफा १८ को उपदफा (ख)(१) मा लामो बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएका कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्नेमा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई ६० दिनभन्दा बढी समय राख्न नमिल्ने उल्लेख छ ।
तर, गृह मन्त्रालयमा हाजिर गरेको ६० दिनभन्दा बढी पुगेका दुई सहसचिव र ४ उपसचिव थिए । उनीहरूले आजको सरुवामा पनि स्थान पाएनन् । सहसचिव बन्धुप्रसाद बास्तोला र प्रेमप्रसाद भट्टराईलाई कानुनविपरीत मन्त्री लेखकले जगेडामा राखेका हुन् ।
रातोपाटीलाई प्राप्त सूचीमा बास्तोला २६ पुसमा र भट्टराई २७ पुसमा मन्त्रालयमा हाजिर भएका थिए । त्यसपछि उनीहरू जिम्मेवारीवीहिन छन् ।
त्यस्तै उपसचिवहरू खेमराज ओझा, कैलाशबहादुर ठकुराठी, अमरदिप सुनुवार र सहदेव रायमाझीले पनि ऐनमा भएको व्यवस्था विपरीत गैह्रकानुनी तरिकाले मन्त्रालयले जगेडामा राखेको छ । रातोपाटीलाई प्राप्त सूचीमा ओझा कात्तिक ४ गते, ठकुराठी मंसिर ५ गते, सुनुवार मंसिर १७ गते र रायमाझी पुस २७ गते मन्त्रालयमा हाजिर भएको देखिन्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आइ जगेडामा रहेका ६ सहसचिवलाई भने गृहमन्त्री लेखकले आज पदस्थापन गरेका छन् ।
दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी, जगदिशवर उपाध्यायलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारी, भविश्वर पाण्डेलाई नवलपरासी पूर्वको प्रमुख जिल्ला अधिकारी, कुमानसिंह गुरुङलाई बागलुङको प्रमुख जिल्ला अधिकारी, प्रेमप्रसाद लुइटेललाई उदयपुरको प्रमुख जिल्ला अधिकारी र आनन्द सारूलाई अछामको प्रमुख जिल्ला अधिकारी बनाएर गृहमन्त्री लेखक स्तरीय निर्णयबाट पदस्थापन गरिएको छ ।
ऐनको दफा १८ (ख)(१)मा भएको व्यवस्था विपरीत जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउनु पर्ने दायित्व भएको पदाधिकारीलाई विभागीय कारबाही हुने व्यवस्था ऐनको दफा १८ (ख)(२)ले गरेको छ ।
निजामती सेवा ऐन अनुसार मन्त्रालय अन्तर्गत सहसचिवलाई सरुवा गर्ने र जिम्मेवारी दिने अधिकार विभागीय मन्त्रीलाई हुन्छ । अहिले गृहमन्त्री लेखक छन् । उपसचिवलाई सरुवा गर्ने र जिम्मेवारी दिने अधिकार सचिवलाई हुन्छ । अहिले गृह सचिवमा गोकर्णमणि दुवाडी छन् ।
गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले भने आकर्षक जिल्ला खोजेर जान नमानेकाले सरुवा नगरिएको जानकारी दिएको छ । यसबारे औपचारिक प्रतिक्रिया दिन भने मन्त्रालयका कर्मचारीहरू तयार भएनन् । उनीहरूको भनाइ थियो, ‘मन्त्री र सचिवको तजबिजी अधिकारमा हामी बोल्न मिल्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एकदिने दक्षिण एसियाली किसान सम्मेलन हुने
-
बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु
-
मोदीसँग भेटका लागि पहल गर्दै परराष्ट्रमन्त्री राणा
-
नेपाल मधेसी निजामती कर्मचारी मञ्चको महाधिवेशन सर्यो
-
चैत १४ देखि आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला
-
ढकाल समूहलाई तह लगाउन संस्थापनको गोप्य बैठक