बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

आजबाट मण्डलमा तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

बुधबार, ०६ चैत २०८१, १२ : २०
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । थापागाउँ स्थित मण्डला थियटरमा आज बुधबारबाट तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना हुँदैछ । आजै एक कार्यक्रम सहित उद्घाटन हुने महोत्सव एक सातासम्म चल्नेछ । 

महोत्सवमा रङ्गमञ्चसँगै कला संस्कृति, सिनेमा, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा छलफल समेत हुनेछ । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च: रैथाने ज्ञानको उज्यालो’ नारा सहित आयोजना हुन लागेको महोत्सव भोली बिहीबार अन्तरक्रिया हुनेछ । रैथाने ज्ञानको उज्यालो शीर्षकमा अध्येताद्वय भोगिराज चाम्लिङ र गुरुङ सुशान्तबिच कुराकानी हुनेछ । 

तेस्रो दिन शुक्रबार नेपाली रङ्गमञ्च र सिनेमाको मितेरीपथबारे सेसन चल्नेछ । सेसनमा निश्चल बस्नेत, केकी अधिकारी, दीपक रौनियार र आशान्त शर्मा रहेछन् ।

शनिबारको छलफलमा मिडियामा रंगमञ्चका विषयले पाउने महत्त्व र त्यसको प्रस्तुतीकरणबारे रङ्गमञ्च र मिडियाका अभ्यासकर्ताहरूबिच भलाकुसारी हुनेछ । मिडियाको आँगनमा रङ्गमञ्च शीर्षकमा सम्पादक सन्तगाहा मगर, सम्पादक जनकराज सापकोटा र पत्रकार पुनम पौडेलले आफ्ना अनुभव साट्ने छन् ।

महोत्सवमा आइतबार भने राजनीतिमा कलानीति शीर्षक महोत्सवको अर्को महत्त्वपूर्ण सत्र हुनेछ । जसमा पूर्व संस्कृति मन्त्री सुदन किराँती, युवा नेतृ रामकुमारी झाँक्री र ठाकुर गैरेले आफ्नो धारणा राख्ने छन् ।

महोत्सवकै आकर्षण मानिएको सेसन छ, ‘सिमली छायामा बसी’ । सोमबारको यो सेसनमा दुई फरक पुस्ताका प्रतिभाशाली कलाकार हरिवंश आचार्य र विजय बरालबीच संवाद हुनेछ ।

महोत्सवको अन्तिम सत्र झन् विशेष छ । गाउँगाउँमा सिंहदरबार, ठाउँठाउँमा थिएटर । देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने मेयरहरुबीच हुने यो अन्तरक्रिया संघीयताको सन्दर्भमा रंगमञ्चको बिस्तारका प्रयास र सम्भावना बुझ्न सहयोगी आयोजकले बताएको छ । 

हुनेछ । महोत्सवमा भिक्षु आनन्दको प्रवचन पनि विशेष हुने संयोजक केदार श्रेष्ठले बताए । उनले भने, ‘रङ्गमञ्चले मनोरञ्जनसँगै ज्ञान निर्माणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।’

महोत्सव निर्देशक तथा अभिनेता दयाहाङ राईले तेस्रो संस्करणमा महोत्सवमा विभिन्न देशबाट सयभन्दा बढी कलाकार सहभागी हुने बताए । नेपाली कलाप्रेमीहरुले ती कलाकारबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै कुरा सिक्न सक्ने उनको धारणा छ । ‘महोत्सवहरूमा हुने कार्यशालाहरू पनि विशेष हुन्छन् । यो महोत्सवमा  स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशाला आयोजना हुँदै छ । विदेशबाट आएका विज्ञ कलाकारहरूबाट नयाँ कुरा सिक्ने अवसर महोत्सव पाइन्छ’ राईले थपे ।

यसपटक ४ सहरमा हुने निटफेस्ट काठमाडौंको मण्डला थिएटर सँगसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदै छ । महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकारहरू सहभागी हुने अपेक्षा गरिएको छ । 

कला प्रदर्शनी, संगीत, नृत्य प्रदर्शनीलगायत गतिविधिसमेत समेटिने महोत्सवमा १२ देशका १७ नाटक प्रदर्शन हुनेछ । परम्परागत संस्कृति तथा लोकसंस्कृतिको प्रवर्धन र हस्तान्तरणलाई समेत महोत्सवले प्राथमिकतामा राखेको छ । 

लोकनृत्य, लोकसंगीतदेखि चित्रकलासम्मका अन्य धेरै गतिविधि समावेश भएको महोत्सवमा हजारौँको सहभागिता हुने अपेक्षा लिएको राईले बताए । महोत्सव चैत १२ सम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?