आमा बनेपछि अथक सङ्घर्ष गरेर सरकारी अधिकृत बनेकी पुष्पा

धनगढी । आमा बनेपछि पढाइलाई निरन्तरता दिन जो–कोहीलाई सहज हुँदैन । अझ सरकारी जागिरे बन्ने गरी पढाइ गर्नु झन् ठुलो चुनौती हुन्छ महिलाका लागि ।
सुदूरपश्चिमको हकमा महिलाहरू बिहेपछि पढ्ने वातावरण मिलेन भनेर पढाइ छोड्छन् तर बैतडीकी ३० वर्षीय पुष्पा भट्टले एक छोरी जन्माएपछि पनि उच्च शिक्षा पूरामात्र गरिनन्, सरकारी सेवामा समेत प्रवेश गर्न सफलता पाइन् । उनी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा हाल अधिकृत छिन् । यद्यपि यो अवस्थामा पुग्न उनले अथक सङ्घर्ष गरिन् ।
आमालाई देखेर पुष्पामा सानैदेखि सरकारी सेवामा प्रवेश गर्ने भोक थियो । ठुलो भएपछि आफ्नो खुट्टामा उभिने र केही गरेर देखाउनु पर्छ भन्ने सानैदेखिको दृढ सङ्कल्पले अहिले आफूले फल प्राप्त गरेको उनको बुझाइ छ ।
पुष्पाकी आमाको पालामा त छोरी मान्छेले पढ्ने चलन नै थिएन । पुष्पाको मामाघरको हजुरबुवा इन्डियन आर्मी हुनाले भारतमा पढाइबारे थाहा पाए । उनले नै पुष्पाकी आमालाई पढाउन खोज्दा ‘यसले आफ्नी छोरीको कमाइ खाने भयो’ भनेर गाउँलेले कुरा काट्थे ।
यी सब कुरालाई मतलब नगरी पुष्पाका हजुरबुवाले उनकी आमालाई कक्षा १० सम्म पढाइदिएका थिए । त्यसपछि आमाको बिहे भयो । बिहेपछि पुष्पा र उनका दाजुभाइको जन्म भयो । उति वेला एसएलसी पास गरेका मानिसलाई जागिर पाउन गाह्रो थिएन । पुष्पाकी आमाले सरकारी शिक्षक बन्ने अवसर पाइन् । छोराछोरीको लालनपालन, घरायसी काम र जागिर उनले एकसाथ सम्हाल्नु पर्दथ्यो ।
यी सब जिम्मेवारीसँगै सङ्घर्ष गरेर उनकी आमाले कक्षा १२ पास गरिन् । ‘आमाको सङ्घर्ष देख्दै हुर्केकी मैले पनि हरहालमा जागिर गर्नुपर्छ भनेर सानैदेखि सोच्थेँ,’ पुष्पाले भनिन् ।
पुष्पाको घर बैतडीको डिलाशैनी गाउँपालिका–३, सीमारमा छ । आमा शिक्षिका हुन् भने बुवा गोठालापानीमा कस्मेटिकको पसल गर्छन् ।
आमा शिक्षित हुँदा पुष्पाले पनि पढ्ने वातावरण सहजै पाएकी थिइन् । उनीप्रति घरपरिवारले पनि राम्रै अपेक्षा गरेका थिए । कक्षा १२ को पढाइ अन्तिमतिर पुगेको बेला पुष्पाको जीवनले नयाँ मोड लिन पुग्यो । उनले भागेर प्रेम विवाह गरिन् ।
ब्राह्मण परिवारमा जन्मेकी उनले क्षेत्री केटासँग बिहे गरिन् । यसरी विवाह गर्ने उनको निर्णय माइतीले ठिक ठानेनन् ।
बिहेपछि उनीहरू काठमाडौँमा डेरा लिएर बस्न थाले । श्रीमान् बेरोजगार र आमाबुवाले स्वीकार नगरेको अवस्थामा उनी डराएकी थिइन् ।
पुष्पाले स्नातकको पढाइ गर्न थालिन् । त्यही बेला उनी गर्भवती भइन् । बीबीएस दोस्रो वर्ष अध्ययनरत हुँदा उनले छोरीलाई जन्म दिइन् ।
‘एकातिर श्रीमानको पनि कमाइ थिएन, परिवारले पनि स्वीकार गरेका थिएनन् । बच्चा भएपछि झनै गाह्रो भयो,’ पुष्पाले भनिन् ।
‘बच्चा बुझ्ने भएपछि छोड्नै नमान्ने रहेछ, छोरीले मान्दै मानिनन् । केही दिन त पढ्न गएँ, तर बच्चालाई धेरै असहज भएपछि त्यहाँ पढ्न पाइएन’, पुष्पाले भनिन् ।
ऋण निकालेर उनका श्रीमान् विदेश गए । उनको काँधमा छोरीलाई हुर्काउँदै पढाइ गर्नुपर्ने जिम्मेवारी आयो । काखमा बच्चा हुँदा उनलाई क्याम्पस गएर पढ्न त्यत्ति सहज थिएन । बिहानै क्याम्पस लाग्थ्यो । उनले एउटै घरमा बस्ने एक जना दिदीलाई बिहान चार घण्टाका लागि छोरी हेरिदिन भनेर अनुरोध गर्थिन् ।
कलेजबाट बिहान साढे १० बजे फर्किएपछि खाना पकाएर खाने, बच्चाको हेरचाह गर्दै दिनभरि पढ्ने गर्थिन् उनी ।
यसरी उनले स्नातक तहको पढाइ पूरा गरिन् । यतिञ्जेलसम्म उनकी छोरी तीन वर्षकी भएकी थिइन् । अब उनले मास्टर्सका लागि भर्ना गर्नुपर्ने भयो । एनसीसी कलेजमा एमबीएस पढ्ने सोचेकी थिइन् उनले । त्यहाँ बिहान कलेज लाग्थ्यो ।
‘बच्चा बुझ्ने भएपछि छोड्नै नमान्ने रहेछ, छोरीले मान्दै मानिनन् । केही दिन त पढ्न गएँ, तर बच्चालाई धेरै असहज भएपछि त्यहाँ पढ्न पाइएन’, पुष्पाले भनिन् ।
त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन सङ्कायको केन्द्रीय विभागमा दिउँसो पढाइ हुन्थ्यो । त्यहाँ दुई सय जना विद्यार्थीका लागि मात्रै कोटा थियो । त्यहाँ पढ्नका लागि उनले प्रवेश परीक्षाको तयारी गरिन् । बच्चाका कारण उनले त्यहाँ जसरी पनि पढ्नुपर्ने थियो । उनको ३७ औँ नम्बरमा नाम निस्कियो ।
त्यसपछि पुष्पा कीर्तिपुरमा बसाइ सरिन् । ‘कीर्तिपुरको वातावरण एकदमै राम्रो थियो, त्यहाँ बच्चादेखि बुढाबुढीहरू सबै पढ्ने थिएँ, कोही लोकसेवा, कोही विदेशका लागि पढ्ने मानिस भेटिए । त्यो वातावरणले मलाई थप पढ्न ऊर्जा मिल्यो,’ पुष्पाले भनिन् ।
बच्चा छ, श्रीमानले पनि विदेशमा दुःख गरिरहेको छ भन्ने अवस्थाले उनलाई जसरी पनि जागिर गर्नुपर्छ भन्नेमा पुर्यायो । मास्टर्स अध्ययन गर्दा उनले दुई पटक निजी बैंकमा जागिर खान परीक्षा दिएकी थिइन् तर, नाम निस्किएन ।
पुष्पाले निजीभन्दा सरकारी बैंकमा जागिर खाने सोच बनाउँदै पहिलेको भन्दा बढी मेहनत गरेर अध्ययन गरिन् ।
यही बिचमा उनले राष्ट्रिय वाणिज्य बैंकमा चौथो तहका लागि लोक सेवाको परीक्षा दिइन् ।
मास्टर्स चौथो वर्षको सेमेस्टरको परीक्षा सकेर उनी थेसिस गरिरहेकी थिइन् । २०७५ सालमा वाणिज्य बैंकको नगद सहायक चौथो तहमा उनको नाम निस्कियो ।
पढेको कुरा नबिर्सन उनले अनेक जुक्ति निकाल्ने गरेकी थिइन् । क्याम्पसको १५ दिन हिउँदे बिदामा उनले एउटा कुरा अर्को कुरामा लिङ्क गरेर कसरी पढ्ने, कसरी दीर्घकालीन बनाउने, कसरी विश्लेषण गर्ने, एकचोटी पढेको कुरा नबिर्सिन कसरी लिङ्क गर्ने भन्नेमा एक आधार बनाएर पढेकी थिइन् ।
इन्टेरनेटमा पढ्ने विधिहरू हेरेर पुष्पाले तिनलाई फलो पनि गरेकी थिइन् । आ–आफ्नो बैंकको आ–आफ्नै पाठ्यक्रम हुन्छ । राष्ट्रिय वाणिज्य बैंकको पाठ्यक्रममा भएका ऐन पढ्न उनले बिदाको समय सदुपयोग गरिन् ।
‘अन्य कुरालाई अलि परिमार्जन गरेर लेखे पनि हुन्छ, तर ऐन भन्ने कुरा जे हो, त्यही लेख्नुपर्ने हुन्छ,’ उनले भनिन् ।
पढाइप्रति गरेको सङ्घर्ष देखेर पुष्पाको घरपरिवारले काठमाडौँ गएर अर्काको घरमा बसेर धेरै दुःख नगर्नु भन्ने सल्लाह पनि दिएका थिए ।
बच्चासँगै तिम्रो बिजोग भयो भन्ने कुरा पनि उनलाई सासुससुराले समेत सुनाएका थिए । तर, पनि उति वेला आफ्नालागि आमाबुवाले गरेको दुःख, श्रीमानले गरेको दुःख सम्झिएर उनले पढ्ने काममात्रै गरिन् ।
‘आमाको संघर्ष र श्रीमानले विदेशमा गरेको दुःखलाई मैले धोका दिनुहुन्न भन्ने सोचेर धेरै बोल्ड भएकी थिएँ । अन्त्यमा मेहनतको फल पनि पाइयो,’ उनले भनिन् ।
बैंकमा नाम निकालेपछि २०७५ सालमा उनलाई धनगढीको राष्ट्रिय वाणिज्य बैंकको क्याम्पस चोकस्थित शाखा कार्यालयमा खटाइयो ।
जागिरे जीवनमा प्रवेश गरेको केही समयपछि पुष्पा दोस्रो पटक गर्भवती भइन् । जागिरसँगै उनले दोस्रो छोरीलाई पनि हुर्काइन् । श्रीमान् पनि यतिञ्जेलसम्म विदेशबाट फर्किसकेका थिए ।
पुष्पाले बैंकमा क्यसियरको काम गरिन् । गोल्डलोन दिनुपर्ने, क्यास सर्टिङ गर्नुपर्ने, नोटहरू साट्न राष्ट्र बैंक लग्नुपर्ने, चेक साट्नुपर्ने, राजस्व सङ्कलन लगायतको काम गर्नुपर्थ्यो ।
‘मलाई अहिलेसम्म दुःख गरेको अनुभूति भएको छैन । बच्चा हो, बच्चा त रुन्छ, कराउँछ, जिद्दी गर्छ तर, बिहान एक र बेलुका एक टाइम सुत्छ, समय मिलाएर पढ्न समय मिलिहाल्छ,’ उनले भनिन् ।
पुष्पाले सानैदेखि देख्दै आएको जागिर गर्ने सपना पूरा गरिसकेकी थिइन् । ‘मैले जागिर पाइसकेपछि श्रीमानलाई अब विदेश जानुपर्दैन भनेँ । उहाँ त्यसपछि विदेश जानुभएन । गाउँमै सामाजिक सेवामा लाग्नुभयो,’ उनले सुनाइन् ।
एक दिन एक जनाले पुष्पालाई भनेका थिए ‘जागिर खाइहालेँ, पढाइ पनि सकियो भन्दै बच्चा जन्माएरमात्रै बस्ने होइन । अझै माथिल्लो तहमा जानुपर्छ, पढ्नुपर्छ नि !’
उनको मनमा यो कुराले छोयो ।
‘बैंकलाई राम्रो बनाउन माथिल्लो तहमा पुर्याउन हामीसँग ज्ञान छ, थुप्रै आइडिया छ । किन तल्लो तहमै बस्ने ? उसै पनि सरकारी बैंक भनेपछि हेर्ने दृष्टिकोण पनि फरक छ । यसैलाई परिवर्तन गर्न र बैंकलाई व्यवस्थित बनाउन माथिल्लो तहमा जानुपर्छ भन्ने सोचेँ,’ उनले भनिन् ।
एकातिर दिनभरि बैंकको ड्युटी, घर फर्किएपछि बच्चालाई समय दिनुपर्ने । बैंकबाट धेरै बिदासमेत नपाइने । १२ दिन उनले ग्रुपमै पहिलाकै तरिका अपनाएर पढिन् । लोकसेवा दिएको पहिलो महिनामा आन्तरिक पाँचौँ तहमा नाम निस्कियो । दोस्रो महिनामा छैटौँ तहमा नाम निस्कियो । अहिले पुष्पा बैंकको अधिकृतस्तरमा पुगेकी छन् ।
उनी बच्चा रुने, कराउने, जिद्दी गर्नु स्वाभाविक ठान्छिन् । यस्ता परिस्थितिलाई सही तरिकाले ह्याण्डल गरेर आफूले अध्ययन पनि गर्नुपर्ने उनको भनाइ छ । ‘बच्चाहरू भएर मैले पढ्न पाइनँ, घरकाले सहयोग गरेनन् भन्नु महिला आफैँ पढाइबाट टाढा हुनु हो,’ उनले भनिन् ।
पुष्पालाई अहिले साथीभाइ, आफन्तले धेरै दुःख गरिस् भनेर सुनाउँछन् । ‘मलाई अहिलेसम्म दुःख गरेको अनुभूति भएको छैन । बच्चा हो, बच्चा त रुन्छ, कराउँछ, जिद्दी गर्छ तर, बिहान एक र बेलुका एक टाइम सुत्छ, समय मिलाएर पढ्न समय मिलिहाल्छ,’ उनले भनिन् ।
अहिले उनी राष्ट्रिय वाणिज्य बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखामा सहायक म्यानेजरको रूपमा कार्यरत छिन् । उनी तीन सन्तानकी आमा हुन् । दश महिने छोरालाई काखमा च्यापेर अहिले उनी ड्युटी गर्छिन् ।
उनको सफलतामा माइती र घरका सदस्यहरू पनि खुसी छन् । अहिले पुष्पाका आमाबुवा पनि छोरी ज्वाइँलाई घरमै बोलाउने गर्छन् । घरका सदस्य शिक्षित भएमा बालबालिकालाई पनि प्रेरणा मिल्ने रहेछ भन्ने पुष्पालाई लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी नियुक्ति गरिनु संसद् विघटनभन्दा गम्भीर
-
बेशीसहरका नागरिकलाई अब बाह्रै महिना र २४ सै घण्टा शुद्ध खानेपानी - मन्त्री यादव
-
काठमाडौँमा एकदिने दक्षिण एसियाली किसान सम्मेलन हुने
-
बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु
-
मोदीसँग भेटका लागि पहल गर्दै परराष्ट्रमन्त्री राणा
-
नेपाल मधेसी निजामती कर्मचारी मञ्चको महाधिवेशन सर्यो