एसईई परीक्षामा सहभागी छोरालाई बुवाको पत्र

प्यारो छोरा अभि !
शुभ आशिष
म यहाँ सञ्चै छु । घरमा तिमीहरू सबैको आराम कुशलताको कामना गर्दछु । यसपालिको होली खुब रमाइलो भयो, म घरमै थिएँ । हामी सबै खुसी थियौँ । तर तिम्रो मन अलि मलिन थियो, एसईई परीक्षाले होला । तिमीले परीक्षाभरि मलाई घरमै बस्न भन्यौ । मैले त्यतिखेर पनि आफ्नो समस्या बताएँ । घरबाट निस्किँदा म आफैँ सन्तुष्ट थिइनँ । मेरो मन अझै पनि तिमीमै अड्किएको छ । तिम्रो चिन्ता–सुर्ताले गर्दा यो चिठी लेख्न बाध्य भएँ । सायद जिम्मेवारीले बाँधिएको बुवाको यो चिठी पढेर तिम्रो मन हलुको हुनेछ ।
बाबु ! इच्छा त मेरो पनि थियो तिमीसँगै बस्ने । तर इच्छा मात्रै भएर कहाँ हुन्छ ! घरको अवस्था तिमीलाई थाहै छ । काम नगरी तिम्रो र खुसीको पढाइ अगाडि बढाउन, घर चलाउन, अनि मेरै नियमित औषधी खर्च जुटाउन गाह्रो छ । त्यसैले फागुको उल्लासलाई त्यहीँ छाडी भारी मन लिएर म काठमान्डु फर्कें ।
घरमा हुँदा तिम्रो कोमल मस्तिष्कले महसुस गरेको बेथितिले मलाई निकै घोचेको छ । कक्षा १० मा तिमीहरू पन्चानब्बे जना विद्यार्थीमा एकजना मात्र माध्यमिक शिक्षक थिए रे । प्राथमिक र निम्न माध्यमिक तहकै शिक्षकबाट एउटै कक्षामा दुई–चार घण्टी पढाइन्थ्यो । अनिवार्य गणित, ऐच्छिक गणित, विज्ञान र नेपालीको आधा पनि पढाइ भएन । कम्प्युटर विषयमा त मोनिटर र किबोर्ड हेर्नसम्म पाइएन । तिमीहरूको समस्याबारे सरोकारवाला कसलाई थाहा छैन र ? तर तिमीजस्ता भविष्यका कर्णधारप्रति सोच्ने फुर्सद कसलाई छ र ? परीक्षाको समयमा टोलीमाथि टोली सक्रिय हुने र चेकजाँचको नाममा त्रास उत्पन्न गरी तिमीजस्ता होनहार बाल–मस्तिष्कमा असर पार्नेबाहेक केही होइन ।
विद्यालय व्यवस्थापन समितिहरूले पनि क्षमतावान् शिक्षक चयन गर्नुको साटो आफ्नै नातागोतालाई नियुक्ति गरेको समाचारहरू हेर्ने गरेको छु । तिमीले भने अनुसार बाल विकास र राहत कोटामा नियुक्त गरिएका शिक्षक पालिका पदाधिकारीकै नातागोताको हो, विद्यालयको नामसम्म शुद्ध लेख्न आउँदैन रे । त्यसमा पनि पटक–पटक फरक–फरक दल र समूहको तालाबन्दीले विद्यालयको पठनपाठन प्रभावित रहँदै आएको कुराहरू तिमीबाटै जानकारी भयो । छोरा ! हामीले पढेको बेला जिल्ला शिक्षा अधिकारी हुन्थ्यो ।
कहिलेकाहीँ सेतो गाडी छड्के अनुगमनमा आउँथ्यो । अहिले त त्यो संरचना भत्काएर तहस–नहस पारिएको छ । पालिकाका प्रमुखहरू प्रायः आफ्नै स्वार्थपूर्ति गर्नमै व्यस्त हुन्छन् । शिक्षकहरू पनि कुनै न कुनै दल आबद्ध शिक्षक सङ्गठनमा हुनुहुन्छ । शिक्षक कम र नेता बढी । को कति पानीमा हुनुहुन्छ भन्ने कुराको पुष्टि त विद्यार्थीको स्तरबाटै थाहा हुन्छ । कसलाई के भन्ने ? तलदेखि माथिसम्म यस्तै हालत छ । छोरा, देशमा इमानदारिताको खडेरी नै परेको मेरो बुझाइ छ ।
तिमीहरूलाई काठमान्डुमै राखेर पढाउने इच्छा थियो तर अधिकृत छैटौँको जागिरले काठमान्डुमा पनि धान्न सक्ने अवस्था छैन । त्यसैले यता ल्याउन सकिनँ । यहाँ पनि राम्रो सरकारी विद्यालयमा सर्वसाधारणका छोराछोरीलाई प्रवेश पाउनै गाह्रो छ भने निजी विद्यालयको शुल्क तिर्न क्षमताले भ्याउने अवस्था छैन । छोरा, व्यवस्था त परिवर्तन भयो तर अवस्थामा खासै परिवर्तन भएको छैन । अझै शिक्षामा सर्वसाधारणका छोराछोरीको समान पहुँच हुन सकेको छैन ।
छोरा, एउटा कुरा तिमीलाई थाहा होला । त्यतिबेलाको एसएलसीमा मेरो पनि परीक्षा बिग्रेको थियो । परीक्षादेखि मलाई पनि डर लाग्थ्यो । आंशिक परीक्षा दिएर पास भएँ । त्यसपछि त मैले गरेको मेहनत र सङ्घर्षबारे अलिअलि तिमीलाई थाहै छ । त्यतिबेला हिम्मत हारिदिएको भए नेपाल सरकारमा अधिकृतको जागिर पाउने थिइनँ ।
कुनै बेला शिक्षामा अगाडि रहेको मधेसमा अहिले शिक्षाको अँध्यारो छ । गणित र विज्ञानका शिक्षक देशका अधिकांश जिल्लामा हुन्थे । अहिले देशका सातै प्रदेशको साक्षरता फड्को मार्दै गएको छ भने मधेशको साक्षरता पुछारमा पुगेको छ । शिक्षातर्फ सरकारहरूको खासै चासो छैन । बरु करोडौँ–अर्बौंको लगानी स्वागतद्वार, सहिद गेट, सालिक, स्तम्भ, मठ–मन्दिर, मदर्सा, ढलान, सामुदायिक भवन इत्यादिको नाममा खन्याइन्छ । तर शिक्षा, स्वास्थ्य तथा उत्पादनमूलक, सीपमूलक योजनाहरूमा बजेट प्रायः न्यून हुन्छन् । ती काम गर्न पनि आर्थिक वर्षको अन्त्यतिर हतारो र चटारो हुन्छ । पर्दा पछाडि थुप्रै कारण छन् । जनप्रतिनिधि जिम्मेवार छन् नै, कर्मचारीतन्त्र पनि कम दोषी छैनन् । यस्तै प्रवृत्तिहरूले गर्दा देश खोक्रो हुँदै गएको छ । अर्थात् धमिराले खाएको काठजस्तै भइसकेको छ । बाहिरबाट हेर्दा राम्रै देखिन्छ ।
राम्राभन्दा हाम्रा खोज्ने प्रवृत्ति बढ्दो छ । बरु काम गर्ने हुटहुटी भएका इमानदार देशभक्तहरूलाई पछि पारिन्छ । क्षमता प्रदर्शन गर्न अवसर नै दिइँदैन । कानुनलाई धज्जी उडाउँदै ‘आफ्नै हात जय जगन्नाथ’ भनेझैँ जाति समुदायको नाममा पछिल्लो सचिव बढुवासम्बन्धी निर्णयले पुष्टि गरेको छ । पार्टीका बिल्लाधारी हुनैपर्छ । त्यही भएर त वैज्ञानिक डा. महावीर पुनजस्ता देशभक्त सडकमा भौँतारिन बाध्य छन् । किताब बेचेरै भए पनि हाम्रै वीरगन्जको कृषि औजार कारखाना उनले सञ्चालनमा ल्याउन सफल भएका छन् । केही युवा सीप विदेश पलायन हुनबाट जोगिएको छ । यो देशमा सिर्जनशील स्वाभिमानी मस्तिष्कहरूको कदर भइरहेको छैन ।
छोरा अभि ! तिमीलाई थाहै छ गाउँका पुरुषहरू आफ्नै देशमा रोजगारी नपाएर वैदेशिक रोजगारीका लागि पलायन भएका छन् । गाउँहरू बिना हराएका कस्तुरीझैँ भएका छन् । गाउँमा प्रायः वृद्ध र महिलाहरू मात्रै छन् । कृषि कर्म पनि प्रभावित भएको छ । गाउँका स्कुलहरूमा विद्यार्थी संख्या घट्दो क्रममा छ ।
अब, तिमी युवावस्थामा प्रवेश गर्दै छौ । एसईई परीक्षाको परिणाम आएपछि राम्रो अङ्क ल्याउने केही तिम्रा साथी उच्च शिक्षा अध्ययन गर्न सहरतिर लाग्नेछन् । निम्नवर्गीय परिवारका तिम्रा साथीहरू नजिकैको प्लस टु विद्यालय वा कलेजहरूमा भर्ना हुनेछन् । केही त कक्षा ११ मा भर्ना पनि हुन पाउँदैन । सङ्गतले गर्दा केही लागुऔषध तथा दुव्र्यसनको सिकार बन्न बाध्य हुन्छन् । कतै केही नलागेपछि बाध्य भएर वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य हुनेछन् । हाम्रो परिवेश नै यस्तो बनिसकेको छ छोरा ।
बुबाले कति दुःख गरेर सरकारी सेवा प्रवेश गरेको हो ? तिमीलाई थाहै छ । तिमीजस्ता छोराछोरीले उचित माहोल र संरक्षण नपाउनु अत्यन्तै दुःखद् हो । तिमीहरू त भविष्यका कर्णधार हौ । तिमीहरूकै भविष्य गन्तव्यहीन हुनु भनेको देशको भविष्य बर्बाद हुनु हो ।
थरीथरीका चुनौतीका बिच तिमी यसपालि एसईई परीक्षामा सम्मिलित हुँदै छौ । एसएलसी त उहिले हट्यो तर हाम्रो मानसिकता बदलिएको छैन । जुन हिसाबले हौवा फैलाइएको छ । तिमीजस्ता विद्यार्थीलाई सामान्य डर लाग्नु स्वाभाविकै हो । तर डराउनुपर्ने अवस्था केही छैन । तिमीले अहिलेसम्म जे पढ्यौ, तिमीसँग जे ज्ञान छ, त्यसको परीक्षण मात्र हो । परीक्षा केन्द्रमा खटिने सुरक्षाकर्मीले तिमीहरूलाई केही गर्दैन, सुरक्षा दिन आएको हो । गेटमा जिउ छामछुम गरेर चेकजाँच गर्ने व्यक्ति पनि विद्यालयकै शिक्षक वा कर्मचारी होलान् । आरामले चेक गर्न दिएर भित्र जाने हो । आफ्नो सिम्बोल नम्बर भएको कोठामा प्रवेश गरी बस्ने । प्रवेशपत्र निकालेर अगाडि राख्ने । परीक्षा हलमा रहेका शिक्षक (गार्ड)बाट उत्तरपुस्तिका पाएपछि यसअघि दिएका परीक्षाजस्तै सिम्बोल नम्बर, विषय इत्यादि लेख्ने ।
प्रश्नपत्र पाएपछि राम्ररी पढ्ने, अनि सबभन्दा सहज प्रश्नको उत्तरबाट लेख्न सुरु गर्ने । समयको ख्याल गर्दै प्रश्नहरू उत्तर लेख्दै जाने अनि अन्त्यमा दिमागले भ्याएसम्म बाँकी प्रश्नहरूको उत्तर लेख्ने, थप उत्तरपुस्तिका लिएको भए आफ्नो सिम्बोल नम्बर अनिवार्य रूपमा लेख्ने अनि उपस्थिति हाजिरी गर्न नबिर्सने । समय बाँकी रहेमा उत्तरपुस्तिकामा लेख्न केही छुट्यो कि भनी चेक गर्नुपर्छ । अनि कपी बुझाएर आरामले घर आई अर्को दिनको तयारीमा जुट्नुपर्छ । यसरी सामान्य रूपमा लिएर परीक्षा दिन तिमीसहित भाइबहिनीहरूलाई मेरो सुझाव छ । अँ, यथासम्भव कुनै पनि अमर्यादित क्रियाकलाप नगर्न समेत मेरो आग्रह छ ।
एसईई सकिएपछि तयारी कक्षा, अङ्ग्रेजी कक्षा, कम्प्युटर कक्षा इत्यादिमा आफूलाई संलग्न गराएर समयको सदुपयोग गर्नु ठिक होला । मेरो परीक्षा बिग्रियो, मेरो रिजल्ट राम्रो आउँदैन भनी दिमागमा निराशा ल्याउनु हुँदैन । जे लेखेको छु, आफ्नो क्षमताले भ्याएसम्म राम्रो लेखेको छु । एसईईमा धेरै नम्बर ल्याएपछि मात्रै राम्रो विद्यार्थी भइन्छ भन्ने छैन । कमै नम्बर आए पनि केही फरक पर्दैन । बरु आगामी दिनमा मेहनत गरेर उदाहरणीय बन्न सकिन्छ । भविष्यमा तिमी के बन्ने हो ? यसलाई प्रारम्भिक सुनौलो अवसरको बाटो पहिल्याउने महत्त्वपूर्ण अवसरको रूपमा बुझ्नुपर्छ छोरा ।
बाबु अभि, यसकारण यी कुराहरू मैले पत्रमार्फत लेख्दै छु कि तिमीजस्तै छोराछोरीहरू एसईईमा सहभागी हुँदै छ । कतिपयचाहिँ डराएका हुन्छन् । मेरो परीक्षा बिग्रियो, मेरो नम्बर कम आयो, राम्रो कलेजमा भर्ना हुन पाउँदिनँ । यो सब केही होइन, आत्मबल मजबुत राख्नुपर्छ । दुनियाँमा कुनै कुरा असम्भव छैन । तिमीहरू असम्भवलाई सम्भव बनाउन सक्छौँ । तिमीहरू हिम्मतिलो हुनुपर्छ । तिमीलाई थाहै छ, देशको अवस्था । आफू सक्षम बनेर देशको भविष्य पनि तिमीहरूले कोर्नु छ । त्यसैले हिम्मतका साथ अगाडि बढ्नुपर्छ ।
छोरा, एउटा कुरा तिमीलाई थाहा होला । त्यतिबेलाको एसएलसीमा मेरो पनि परीक्षा बिग्रेको थियो । परीक्षादेखि मलाई पनि डर लाग्थ्यो । आंशिक परीक्षा दिएर पास भएँ । त्यसपछि त मैले गरेको मेहनत र सङ्घर्षबारे अलिअलि तिमीलाई थाहै छ । त्यतिबेला हिम्मत हारिदिएको भए नेपाल सरकारमा अधिकृतको जागिर पाउने थिइनँ । मेहनत नगरेको भए अहिले तिम्रो बुबा विदेशमा मजदुरी गर्न बाध्य हुन्थ्यो । त्यही भएर तिमीले कुनै पनि कुलत वा गलत गतिविधिहरूमा लाग्नुहुँदैन । सामाजिक कुरीति एवं कुसंस्कारहरूमा विश्वास गर्नुहुँदैन । शिक्षा नै शक्तिशाली अस्त्र हो । यो अस्त्रलाई जसरी भए पनि हासिल गर्नैपर्छ ।
छोरा, काठमान्डु फिर्ती हुने बेलामा तिमीसँग भेट हुन सकेन । धेरै कुरा भन्न पनि पाइनँ । त्यसैले गाउँकै काकामार्फत यो चिठी लेखेर पठाउँदै छु । एकपटक राम्रोसँग पढ्नु । उच्च आत्मबलका साथ परीक्षा दिनु । परीणामको पछाडि नलाग्नु । मजस्ता बाआमाका तिमीजस्ता लाखौँ छोराछोरीहरू एसईई परीक्षा दिँदै छौँ । यसलाई सहज रूपमा लिँदै अब यसपछि मैले आफ्नो भविष्य आफैँ बनाउँछु भनी सोचेर अगाडि बढ ।
मेरो ज्ञानी छोरा, तिमीहरू आत्मबलका साथ अगाडि बढ्न चाहन्छौ भने हामीजस्ता मातापिताहरू जस्तोसुकै दुःख गरेर भए पनि पढाइ खर्च जुटाउन पछि पर्दैन । अँ, एउटा कुरा भन्नै बिर्सें, प्रवेशपत्र र कम्तीमा दुईवटा राम्रो लेख्ने डटपेनका साथ आधा घण्टा अगाडि परीक्षा केन्द्र पुग्न नबिर्सनु । इच्छा त थियो एसईई अवधिभरि गाउँबाट सात किलोमिटर टाढा सहरमा रहेको परीक्षा केन्द्रसम्म तिमीलाई पुर्याइदिने । तर लामो बिदा नमिलेका कारण तिमीसँग बस्न सकिनँ । तर, छोरा मजस्ता मातापिताहरूको मन मुटु तिमीहरूकै साथमा छ ।
हामीहरूको भविष्य अनि बुढेसकालको सहारा पनि तिमीहरू नै हौ नि । संसारको अनमोल हिराको भण्डार पनि तिमीहरूको अगाडि फिक्का छ । मेरो हृदयको टुक्रा अभि, पत्र पनि धेरै लामो भयो । तिमी र एसईई दिने सबै छोराछोरीलाई हृदयदेखि शुभकामना र आशीर्वाद छ । तिमीहरूको एसईई राम्रो होस् । शुभ होस् ।
तिम्रो बुवा
सुरेश कुमार
काठमाडौँ, सातदोबाटो
मिति : २०८१ चैत्र ६ गते, बुधबार ।
(लेखक यादव आमसञ्चार प्राधिकरण मधेश प्रदेशका संस्थापक अध्यक्ष हुन् । उनी पत्रकारिता र साहित्य लेखनमा सक्रिय छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुला भनिएका दलका नेताबाट देशको समस्या समाधान हुँदैन: बाबुराम भट्टराई
-
२५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?
-
नेसपा नयाँ शक्तिद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रदर्शन, तस्बिरहरू
-
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
-
पानीमै किन उतारियो सुनिता चढेर आएको अन्तरिक्ष यान ?
-
‘गणतन्त्र दान होइन, सार्वभौम जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता गर्दैनन्’