बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
संसद् बैठक

२५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग

बुधबार, ०६ चैत २०८१, ११ : ३१
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । नेकपा माओवादीका सांसद माधव सापकोटाले मङ्गलवार चीनको केरुङतर्फ लैजान लागेको २५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग गरेका छन् । 

बुधवारको प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले उक्त रकमबारे छानबिनका लागि विशेष प्रकारको छानबिन समिति गठनको माग गरेका हुन् । उनले नेपालको इतिहासमै सबैभन्दा ठुलो अवैध रकम बरामद भएको घटनाले सिङ्गो देश तरङ्गित भएको भन्दै यो घटनाले सङ्गठित अपराध र तस्करको जालो कसरी फैलिएको छ भन्ने पुष्टि गरेको बताए । 

उनले यति ठुलो मात्राको तस्करी माथिल्लो तहको संलग्नताविना सम्भव नहुने भन्दै घटनाको गम्भीरतापूर्वक छानबिन गर्न माग गरे ।  ‘यस्ता प्रकृतिका घटनामा ड्राइभर र भरिया मात्र पक्राउ गर्ने र ढिसमिस हुने गरेको छ । त्यसैले यो घटनामा विशेष प्रकारको छानबिन समिति गठन गरियोस्’, सापकोटाको भनाइ छ । मङ्गलवार प्रहरीले टोखास्थित झोर केरुङतर्फ लैजान लागेको २५ करोड अवैध रकम बरामद गरेको थियो । 

त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि यस्ता घटनामा ड्राइभरलाई पक्राउ गर्ने तर तस्करसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै अहिले पनि भरिया र ड्राइभर नसमात्ने हो भने सरकारले आँखामा छारो हालेजस्तो हुने भन्दै सरकार त्यो तहसम्म पुग्नुपर्ने बताए । राप्रपा सांसद रोशन कार्कीले पनि उक्त घटनाबाट मुलुकमा तस्करी कति बढेको छ भन्ने देखिएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?