बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
खेलकुद

पहिलो सहभागितामै आईपीएलमा चम्कन सक्ने यी पाँच युवा खेलाडी

बुधबार, ०६ चैत २०८१, १० : ४१
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा सहभागी टोलीहरू अन्तिम तयारीमा व्यस्त छन् । 

प्रतियोगिताको उद्घाटन खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । कोलकाता र बेंगलुरुबिच कोलकातास्थित ईडेन गार्डेन्स स्टेडियममा हुनेछ । उक्त खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

दुई खेल भएको दिन भने पहिलो खेल दिउँसो १५ः४५ बजे र दोस्रो खेल राति १७ः४५ बजे सुरु हुनेछ । १८औँ संस्करण मे २५ तारिखसम्म चल्नेछ । लिग चरणको अन्तिम खेल भने मे १८ तारिखमा लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदरावादबिच खेलिने छ । 

यसपटक पनि आईपीएलमा विश्वभरका धुरन्धर खेलाडीहरुले आ–आफ्नो टोलीलाई उपाधि दिलाउन सक्दो प्रयास गर्नेछन् । तर, यसपटक केही युवा खेलाडीमाथि पनि धेरैले आँखा लगाएका छन् । खासगरी, पाँचजना युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्रिकेट विश्लेषकहरुको अनुमान छ ।

रोविन मिन्ज

robin

रोविन मिन्ज भारतको घरेलु प्रतियोगिताहरु झारखंडको टोलीबाट खेल्छन् । आईपीएलको आगामी संस्करणका लागि उनलाई मुम्बई इन्डियन्सले खरिद गरेको छ । मेगा अक्सनमा मुम्बईले उनका लागि ६५ लाख भारतीय रुपैयाँ खर्चिएको थियो । रोविन मिन्ज आक्रामक युवा ब्याट्सम्यान हुन् । 

घरेलु प्रतियोगिताहरुमा उनको प्रदर्शन उत्कृष्ट छ । उनी विकेटकिपर पनि हुन् । अघिल्लो सिजनमा उनलाई गुजरात टाइटन्सले खरिद गरेको थियो । तर, प्रतियोगिता सुरु हुनुअघि नै सडक दूर्घटनामा परेका कारण उनले आईपीएल खेल्न पाएका थिएनन् । त्यसैले आगामी आईपीएलमा उनले आफ्नो ‘डेब्यू’ खेल खेल्नेछन् । 

वैभव सूर्यवंशी 

suryabamshi

वैभव सूर्यवंशी भर्खरै १३ वर्ष पुगेका छन् । आईपीएलको आगामी संस्करणका लागि उनलाई राजस्थान रोयल्सले खरिद गरेको छ । अहिले उनी राहुल द्रविडको रेखदेखमा प्रशिक्षण गरिरहेका छन् । उनले यो सिजन आईपीएलमा ‘डेब्यू’ गर्ने सम्भावना छ ।

‘डेब्यू’ खेल खेल्ने अवसर पाए भने उनी आईपीएलको इतिहासकै सबैभन्दा कान्छा खेलाडी बन्नेछन् । उनी भारतको यू–१९ राष्ट्रिय टोलीको खेलाडी पनि हुन् । उनले अस्ट्रेलियाविरुद्धको यू–१९ खेलमा केवल ५८ बलमा शतक प्रहार गरेर तहल्का मच्चाएका थिए । त्यसअघि उनले यू–१९ एसिया कपमा पनि गजबको प्रदर्शन गरेका थिए ।

सूर्यान्श शेडगे 

suryamsha

भारतको घरेलु प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गरेपछि सूर्यान्श शेडडे आईपीएल क्लबहरुको आँखामा परेका हुन् । आगामी सिजनको आईपीएलका लागि पञ्जाब किङ्सले उनलाई आफ्नो टोलीमा आबद्ध गरेको छ । उनी अलराउन्डर युवा खेलाडी हुन् । 

सूर्यान्शले पनि पहिलो पटक आईपीएल खेल्न लागेका हुन् । उनले सैयद मुश्ताक अली ट्रफीमा २५२ को स्ट्राइक रेटमा रन बनाएर धेरैलाई चकित पारेका थिए । यसका अतिरिक्त उक्त प्रतियोगितामा उनले आठ विकेट पनि लिएका थिए । सैयद अली ट्रफीको फाइनलमा पनि उनले केवल १५ बलमा ३६ रन बनाएका थिए । यस क्रममा उनले तीन छक्का र तीन चौका प्रहार गरेका थिए ।

सी. आन्द्रे सिद्धार्थ 

andres

आईपीएलमा सी. आन्द्रे सिद्धार्थको पनि यो पहिलो सहभागिता हो । आगामी सिजनको आईपीएलका लागि उनलाई चेन्नई सुपर किङ्सले खरिद गरेको हो । तमिलनाडु प्रिमियर लिग र रणजी ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी आईपीएल क्लबको आँखामा परेका हुन् । 

भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफीमा उनले ६८ को औसतले कुल ६ सय १२ रन बनाएर धेरैको मन जितेका थिए । थुप्रै क्रिकेट विश्लेषकले आन्द्रे सिद्धार्थलाई भविष्यमा प्रभावशाली खेलाडीको सूचिमा दरिन सक्ने क्षमता भएको खेलाडीका रुपमा लिएका छन् ।

वेभन ज्याकब्स

weba

न्युजिल्यान्डका प्रतिभाशाली युवा ब्याट्सम्यान हुन्, बेभन ज्याकब्स । उनलाई आईपीएलको आगामी संस्करणका लागि मुम्बई इन्डियन्सले आफ्नो टोलीमा समावेश गरेको छ । आईपीएलमा उनको पनि यो पहिलो सहभागिता हो । 

बेभन ज्याकब्सले आफूले खेलेको सुरुवाती ६ वटा टी–२० प्रतियोगितामा १८९ को स्ट्राइक रेटमा रन बनाएर धेरैको मन जितेका थिए । उनले हालसम्म २० वटा टी–२० प्रतियोगिता खेलेका छन् । त्यसमा उनले हालसम्म १५० को स्ट्राइक रेटमा रन बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?