बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

राजनीतिक स्वार्थले थङथिलो बन्यो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

बल्ल गुरुयोजना निर्माण गर्दै
बुधबार, ०६ चैत २०८१, १० : ०५
बुधबार, ०६ चैत २०८१

मकवानपुर । बागमती प्रदेश सरकार मातहत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको ५ वर्ष पूरा भएको छ । बारम्बार राजनीतिक चलखेलको सिकार बन्दै आएको प्रतिष्ठानको अहिलेसम्म न आफ्नै भौतिक संरचना छ, न त अस्पताल ।

प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि हालसम्म जग्गासमेत प्राप्त भइसकेको छैन । डोरमणि पौडेल मुख्यमन्त्री हुँदा स्थापना भएको उक्त प्रतिष्ठान राजनीतिक स्वार्थको चपेटामा पर्दा अस्तव्यस्त बनेको हो । शिक्षण, अनुसन्धान र स्वास्थ्य सेवालाई स्तरीय बनाउने उद्देश्य अनुसार प्रदेशकै गौरवको आयोजना अन्तर्गत स्थापना गरिएको प्रतिष्ठान अहिलेसम्म पनि पहिचान जोगाउनै संघर्षरत देखिन्छ ।

कहिले बजेट अभावका कारण चिकित्सक तथा कर्मचारी कटौती, कहिले हेटौँडा अस्पताललाई गाभ्ने र हटाउनेजस्ता निर्णयका कारण राजनीतिक विवाद बढेर यो प्रतिष्ठानमा अड्चन देखा परे । खासगरी नेकपा एमाले नेतृत्वकै सरकारको पालामा अघि बढेको र एमालेकै नेताको नाममा नामकरण गरिएका कारण पनि प्रतिष्ठानका सम्बन्धमा अन्य राजनीतिक दलले अपनत्व लिन नसकेको हो कि भनेर आशंका गर्ने ठाउँ बेलाबखत सतहमा आएका घटनाक्रमले प्रदान गरेको हो ।

यहाँसम्म कि, प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरूले तलब, भत्ताबापतको रकम नपाएको भनेर आन्दोलन गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको थियो । राजेन्द्र पाण्डे नेतृत्वको सरकारले २०७९ वैशाखमा प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा विश्वराज जोशीलाई निलम्बनसमेत गरेको थियो । पाण्डे नेतृत्वकै सरकारले अध्यादेशमार्फत हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति एमालेले कडा आपत्ति जनाएको थियो ।

office

  • प्रतिष्ठानको विकासक्रम

प्रदेश सरकार गठनकै समयदेखि तत्कालीन मुख्यमन्त्री पौडेलले उक्त प्रतिष्ठान स्थापनाको योजना बनाएका थिए । उनकै नेतृत्वको सरकारले प्रदेश गौरवको आयोजना अन्तर्गत राखेर २०७६ मा प्रदेश सभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी गरेको थियो । स्थापनाको एक वर्षपछि प्रतिष्ठानमा पदाधिकारी नियुक्त भए । २०७७ साउन १५ मा प्रतिष्ठानको उपकुलपति र भदौ १५ गते अन्य पदाधिकारी नियुक्त भएका थिए ।

उपकुलपतिसहित ६ पदाधिकारी रहेको उक्त प्रतिष्ठानले चिकित्सा शिक्षा अध्ययन, स्वास्थ्य उपचार र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । साउन १५ र भदौ १५ मा गरी भीसी, रेक्टर, रजिस्ट्रार लगायत पदाधिकारी नियुक्त भएसँगै प्रतिष्ठानको ऐन, नियमभित्र रहेर संस्थाको स्थायित्वका लागि काम गर्नुपर्ने थियो । तर, चिकित्सा क्षेत्रमा राम्रो काम गर्ने योजना बनाएर अघि बढिरहेको प्रतिष्ठानमा हेटौँडा अस्पताललाई समावेश गरेपछि राजनीतिक उल्झन थपिएको थियो ।

राजनीतिक विवादका करिब एक वर्ष प्रतिष्ठानको योजना नै रोकिन पुग्यो । राजनीतिक अन्योलका बिचमै प्रतिष्ठानले शैक्षिक कार्यक्रम त अघि बढायो, तर आफ्नो अस्तित्व स्थापित गर्न सकेन ।

पौडेल नेतृत्वकै सरकारको पालामा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गरिएका थिए । उनीहरूले ऐन, कानुन, नियमावली र कार्यविधि तयार गर्न मात्र २ वर्ष बिताए । प्रतिष्ठानले आफ्ना कार्यक्रम सञ्चालनका लागि हेटौँडामा अनुकूल जग्गा छनोट गरेर भौतिक संरचना निर्माण गर्नुपर्नेमा त्यसतर्फ प्रतिष्ठानका पदाधिकारीको ध्यान नै गएन । जसका कारण प्रतिष्ठानका कार्यक्रम भाडाका घरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

प्रतिष्ठानले संघीय सरकारद्वारा प्रदेशलाई हस्तान्तरण गरिएका जिल्ला अस्पताललाई देखाएर हाल ४ वटा विषयको अध्यापन गरिरहेको छ भने ४ स्थानमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको रजिस्टार भीमसागर गुरागाईंले जानकारी दिए ।

rescherch_office

  • घर भाडामै सकिन्छ वार्षिक ६१ लाख

भौतिक संरचनाको अभावका कारण प्रतिष्ठानले आफ्नो शैक्षिक कार्यक्रम सञ्चालनका लागि हेटौँडा–११ मा रहेको नलेज भिलेजमा घर भाडामा लिएको छ भने हेटौँडा–६, हटियास्थित गौरीटार रंगशालामा रहेको ट्रस्टको भवनलाई मर्मत गरेर प्रयोगमा ल्याएको छ ।

प्रतिष्ठानको कार्यालय प्रयोजनका लागि हेटौँडा–१० मा रहेको तत्कालीन टिम्बर अफ कर्पोरेसन (टीसीएन)को पुरानो भवन पनि प्रयोग गर्दै आएको छ । त्यस्तै, खोज तथा अनुसन्धानका लागि हेटौँडा–८ कमानेस्थित स्थानीय लोकतान्त्रिक पार्कको भवन प्रयोग गरेको छ भने केही समय अघिमात्र प्रतिष्ठानले नयाँ कार्यक्रम अध्यापन गराउने गरी हेटौँडा–४ हुप्राचौरस्थित ६ तले घर भाडामा लिएको छ ।

प्रतिष्ठानले ती भवन प्रयोग गरेबापत वार्षिक ६१ लाख रुपैयाँ खर्चिने गरेको प्रतिष्ठानका रजिस्टार गुरागाईंले जानकारी दिए । उनका अनुसार घर भाडा बापत प्रतिष्ठानले टीसीएनको घरलाई मासिक ४३ हजार रुपैयाँ, नर्सिङ भवन हुप्रा चौरको घरलाई मासिक २ लाख ९३ हजार रुपैयाँ, शैक्षिक भवनका रूपमा प्रयोग गरिएको नलेज भिलेजलाई १ लाख २६ हजार रुपैयाँ र स्टोर भवनलाई ४० हजार रुपैयाँ खर्च गर्ने गरेको छ ।

प्रतिष्ठानले ७ कट्ठा क्षेत्रफलमा फैलिएको नलेज भिलेजको ५ वटा साना भवन प्रयोग गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ भने कार्यालय प्रयोजनका लागि प्रयोग गर्दै आएको टीसीएनको ३ कट्ठा क्षेत्रफलमा रहेको २ वटा सामान्य प्रकृतिको भवन, हेटौँडा–४ को ६ तले भवनमा नर्सिङ र ल्यावरोटरी अध्यापन गराउँदै आएको छ ।

प्रतिष्ठानले बेसिक साइन्स भवनको रूपमा प्रयोग गर्दै आएको हेटौँडा–१६ स्थित गौरीटार रंगशालामा रहेको २ वटा ट्रस्टका भवन निःशुल्क प्रयोग गर्दै आएको छ । उक्त भवन मर्मत तथा पार्टेशनका लागि प्रतिष्ठानले २ चरणमा ८० लाख रुपैयाँ खर्च गरेको थियो । अनुसन्धानका लागि प्रयोग गर्दै आएको हेटौँडा–८ कमानेस्थित लोकतान्त्रिक पार्कको भवन ३० वर्षका लागि निःशुल्क प्रयोग गर्नेगरी सम्झौता भएको छ ।

  • चिकित्साका ४ सङ्कायमा ३५९ जना विद्यार्थी अध्ययनरत

शैक्षिक कार्यक्रमतर्फ प्रतिष्ठानले ४ वटा सङ्कायमा अध्यापन गर्दै आएको छ । प्रतिष्ठानले स्नातक तहको बीएससी नर्सिङ, बी फार्मेसी, बीपीएच (पब्लिक हेल्थ) र बीएससी ल्याब मेडिसिन सङ्कायमा अध्यापन गर्दै आएको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको सिट सङ्ख्यामा प्रतिष्ठानले गत २०७८ देखि शैक्षिक कार्यक्रम अध्यापन कार्य सुरु गरेको रजिस्टार गुरागाईंले बताए । जसमा हाल स्नातक तहमा ३५९ जना अध्ययनरत छन् । यस्तै, बीएससी नर्सिङतर्फ विभिन्न सेमिस्टरमा गरी ६० जना, बीएससी ल्याब मेडिसिनमा ९१ जना, बी. फार्मेसीमा १३७ र बीपीएचमा ७१ जना विद्यार्थी अध्ययरन छन् ।

प्रतिष्ठानले शैक्षिक कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगबाट पहिलो चरणमा ३ वटा विषय अध्यापनको अनुमति पाएको थियो भने पछि थप एक सङ्कायको अनुमति पाएको छ ।

  • एमडीका ७ सङ्काय सञ्चालन हुँदै

आयोगले प्रतिष्ठानलाई हेटौँडा अस्पतालमा स्त्री तथा प्रसूति विभागको २ सहित अन्य विभिन्न विभागका ८ सिट विशेषज्ञ स्वास्थ्य शिक्षा पढाउने गरी कोटा तोकेको छ । सोही अनुसार प्रतिष्ठानले स्त्री तथा प्रसूति विभागका २ सिटमा स्नातकोत्तर तहको विशेषज्ञ स्वास्थ्य शिक्षा (पीजी) अध्ययन गराउने तयारी थालेको छ ।

प्रतिष्ठानले हेटौँडा अस्पतालमा स्त्री तथा प्रसूति विभागको २ सिट, फिजिसियन, सर्जरी विभाग, बालरोग विभाग, हाडजोर्नी तथा नशारोग विभाग, फेमिली फिजिसियन, एनेस्थियोलोजीका १/१ सिटमा अध्यापन गराउने गरी आयोगबाट अनुमति प्राप्त गरेको रजिस्टार गुरागाईंले बताए ।

पीजी कक्षा सञ्चालन गर्दा अस्पतालको स्वास्थ्य सेवाको गुणस्तर सुधार हुनका साथै विद्यार्थीहरूले नवीनतम चिकित्सा ज्ञान तथा प्रविधिको प्रयोग गरेर उपचार प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्ने उनको भनाइ छ । पीजी कक्षा सञ्चालनबाट विशेषज्ञ चिकित्सकहरूको निगरानीमा विद्यार्थीहरू रहने र सेवा थप व्यवस्थित हुने उनले प्रस्ट पारे ।

पीजी अध्यापनमार्फत बिरामीहरूको उपचारमा सुधार ल्याउनुको साथै प्रशिक्षित चिकित्सकहरूमा दक्षता र अनुभव वृद्धि हुने गुरागाईंले बताए । विद्यार्थीहरूले तिर्ने शुल्कबाट अस्पतालको आम्दानी बढ्ने र विशेषज्ञ सेवाहरू मार्फत बिरामीहरूको उपस्थिति बढ्ने भन्दै उनले विद्यार्थीहरूसँगको सहकार्यमा अस्पताललाई नयाँ विशेषज्ञ सेवा तथा विभागहरू खोल्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानको कार्यक्रम र सेवा प्रवाहका लागि प्रशासन तथा प्राज्ञिकतर्फ ९० जना कर्मचारी छन् भने सेवा क्षेत्रतर्फ हेटौँडा अस्पतालमा ४७३ जना जनशक्ति कार्यरत छन् । प्रशासन तथा प्राज्ञिक प्रशासन कार्यका लागि स्थायी ८ जना र करारका २८ कर्मचारी छन् भने स्थायी शिक्षक ७ र करारका ३१ जना छन् ।

यस्तै, स्वास्थ्य मन्त्रालयबाट प्राप्त छात्रवृत्ति करारका ११  जना शिक्षक र सवारी चालक ५ जना छन् । सेवा क्षेत्रतर्फ हेटौँडा अस्पतालमा प्रशासनिक करारका २४, प्रशासनिक स्थायी ४, प्राविधिक करारका २७३, प्राविधिक स्थायी ३०, छात्रवृत्ति करार (स्वास्थ्य मन्त्रालय) १७, सवारी चालक स्थायी १, कार्यालय सहयोगी स्थायी २, कार्यालय सहयोगी करार २४, स्वीपर ३१, सुरक्षा गार्ड १७, समिति ज्यालादारी प्राविधिक १७, समिति ज्यालादारी प्रशासन ३, ज्यालादारी स्वीपर १९ र कार्यालय सहयोगी ११ जना कार्यरत छन् ।

  • एमबीबीएससँगै रिसर्च सेन्टर विकास गर्ने योजना

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा क्षेत्रका एमबीबीएस विषय थप गर्ने तयारी गरेको छ । प्रतिष्ठानले चिकित्सा शिक्षाका एमबीबीएस थप गर्न चिकित्सा शिक्षा आयोगमा पत्र पठाएको प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार आगामी वर्ष प्रतिष्ठानले एमबीबीएस कार्यक्रम सञ्चालनको लागि प्रक्रिया अघि बढाइसकेको छ । एमबीबीएस अध्यापनका लागि प्रतिष्ठानसँग न्यूनतम २०० बेडको अस्पताल हुन अनिवार्य रहेकाले बन्दै गरेको भवनमा उपकरण व्यवस्थापनका लागि सक्रिय रूपमा लागेको उनले बताए ।

प्रतिष्ठानको विगतको विवाद र समस्याहरू हल गर्दै संरचना विकास, सेवा प्रवाह तथा रिसर्चको काम गरिरहेको उपकुलपति ज्ञवालीले जानकारी दिए । प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय पहिचान दिन विश्वविद्यालयको रूपमा विकास गर्ने र स्वायत्तता प्रदान गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

प्रतिष्ठानलाई आवश्यक भौतिक संरचना सम्पन्न गर्ने र स्वास्थ्य सेवा विस्तार गर्ने तथा औषधिजन्य उद्योग स्थापना गर्ने मोडलमा काम गर्ने गरी अघि बढ्न जरुरी रहेको ज्ञवाली बताउँछन् । अनुसन्धानलाई पनि स्रोत सङ्कलनको रूपमा विभिन्न विधा र मोडलमा अघि बढाउने गरी प्रतिष्ठानले काम गरिरहेको उनले बताए ।

education_sector

कानुनी समस्या हल गर्दै विदेशी विद्यार्थीलाई नेपालमा अध्यापन गर्न आउने वातावरण तयार गर्नुपर्नेमा उपकुलपति ज्ञवालीले जोड दिए । हाल प्रदेश सरकारको लगानीलाई उत्पादनमुखी बनाउने गरी अघि बढाउनुपर्ने उनले बताए ।

ज्ञवालीका अनुसार हेटौँडा अस्पतालको नयाँ भवनमा उपकरण व्यवस्थापन गरी विशिष्टिकृत कार्यक्रम सञ्चालन गर्ने, सुविधा सम्पन्न ल्याब र विशेषज्ञ डाक्टरको सुविधा दिने गरी योजना तयार गरिएको छ । उक्त योजना अनुुसार स्रोत सुनिश्चितता गर्ने गरी आगामी बजेटमा समावेश गर्न पहल भइरहेको उनको भनाइ छ । संघीय सरकारलाई पनि सहभागी गराउने गरी उक्त योजनामा काम भइरहेको र तत्कालका लागि प्रतिष्ठानमा १ अर्ब बजेट माग गरिएको उनले बताए ।

एमडीतर्फ क्लिनिकल फर्म्याकोलोजी, रेडियोलोजी, साइक्याट्री, एमडीएस र बीएनएस लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालनको तयारी रहेको उपकुलपति डा. ज्ञवालीले बताए । हेटौँडा अस्पतालमा आइसीयू, एसएनसीयू, डायलाइसिस, एनआइसीयू, पीआईसीयू निकट भविष्यमै सञ्चालनको तयारी भइरहेको पनि उनले प्रस्ट पारे ।

  • ५० करोडको शैक्षिक भवन र २३ करोडको अस्पताल बन्दै

कमजोर भौतिक संरचनामा सञ्चालन हुँदै आएको उक्त प्रतिष्ठानका लागि हाल आएर संघीय सरकारको विशेष अनुदानमार्फत ५० करोड लागतमा हेटौँडा–१०, भुटनदेवी चौरमा ६ तले भवन निर्माण अन्तिम चरणमा छ ।

प्रतिष्ठानको शैक्षिक भवन (बेसिक साइन्स) निर्माणका लागि प्रदेश राजधानी पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाले टेन्डर खुलाएर गत २०७८ फागुन २३ गते ठेक्का सम्झौता गरेको थियो । कार्यालयको मातहत रहेको उक्त भवनको निर्माण सम्पन्न गर्न आगामी असारसम्मको समय बाँकी छ । उक्त भवन गत २०८१ भदौ २२ गतेसम्ममा निर्माण सम्पन्न गरी सक्नुपर्ने भए पनि विभिन्न समस्याका कारण आगामी असारसम्मको म्याद थप गरिएको थियो ।

कार्यालयले उक्त भवन निर्माणका लागि कुमार आरएन सीएस जेभी गोकर्ण–११ काठमाडौँलाई भ्याटसहित ४९ करोड ९५ लाख ३ हजार रुपैयाँमा ठेक्का दिएको थियो । कार्यालयले उक्त भवन निर्माणका लागि ८१ करोड ५१ लख २४ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरेको थियो । निर्माण कम्पनीले लागत इस्टमेटभन्दा ३८.८२ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो ।

हाल बेसिक साइन्स भवनको काममा भौतिक प्रगति ५० प्रतिशत छ भने वित्तीय प्रगति ४५ प्रतिशत छ । सो भवनका लागि संघीय सरकारले प्रतिष्ठानलाई ९७ करोड विशेष अनुदान दिएको थियो ।

त्यस्तै, प्रतिष्ठानकै पहलमा हेटौँडा अस्पताल परिसरमा संघीय सरकारको विशेष अनुदानमार्फत २३ करोड रुपैयाँ लागतमा ६ तले अस्पताल निर्माणको काम अन्तिम चरणमा छ । प्रदेश सरकार मातहतको सहरी विकास तथा भवन कार्यालय हेटौँडाले उक्त अस्पताल भवन निर्माणको टेन्डर आह्वान गरेको थियो ।

कार्यालयले गत २०७८ असार १८ गते २३ करोड ६४ लाख २५ हजार रुपैयाँमा अस्पताल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । गत २०८० पुस १६ मा निर्माण सम्पन्न गर्ने गरी विकोई नव सिर्जनशील जेभीले ठेक्का लिएको तर समयमा काम सम्पन्न नभएपछि आगामी वैशाखसम्म म्याद थप गरिएको थियो ।

हाल अस्पतालसँगै रहेको २०० बेड भवनको ७० प्रतिशत भौतिक प्रगति छ भने ५५ प्रतिशत वित्तीय प्रगति छ । सो भवनमा प्रतिष्ठानले २ सय बेडको अस्पताल सञ्चालन गर्ने योजना तयार पारेको थियो । सो भवनका लागि संघीय सरकारले ३२ करोड रुपैयाँ विशेष अनुदानमार्फत दिएको थियो ।

रजिस्टार गुरागाईंका अनुसार हाल प्रतिष्ठानको भौतिक संरचनाको विकासका लागि प्रदेश सरकार र संघीय सरकारसँग ३ वटा प्रोजेक्टको तयारी भइरहेको छ । हेटौँडा उपमहानगरपालिकाले उपलब्ध गराएको २ बिघा क्षेत्रफलको जग्गामा प्रतिष्ठानको कार्यालय भवन निर्माणका लागि बजेट व्यवस्थापनको काम भइरहेको छ भने बेसिक साइन्स भवन रहेको क्षेत्रको ८ बिघा क्षेत्रफलमा नयाँ शैक्षिक भवन निर्माणको योजना तयार गरिएको गुरागाईंले बताए । अनुसन्धानका लागि भवन निर्माण गर्नेगरी योजना तयार गरी बजेट व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

गुरागाईंका अनुसार प्रतिष्ठानको दीर्घकालीन व्यवस्थापन गर्ने गरी ४ वर्ष र २५ वर्षको गुरुयोजना निर्माणको चरणमा छ । उक्त योजना तयार गरी संघ, प्रदेश र स्थानीय तहसँगै दातृ संस्थाहरूसँगको सहकार्यमा स्रोत व्यवस्थापन गर्नेगरी प्रतिष्ठान अघि बढेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप

छुटाउनुभयो कि ?