बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

बागमतीको स्वास्थ्य क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : विगत र आगामी बाटो

बुधबार, ०६ चैत २०८१, ०९ : ५२
बुधबार, ०६ चैत २०८१

संविधानले प्रदेशलाई विश्वविद्यालय स्थापना गर्न सक्ने अधिकार दिएपछि जनताको पक्षमा काम गर्न उत्साहित प्रदेशहरूले फटाफट विश्वविद्यालय स्थापना गर्न थाले । यसै क्रममा बागमती प्रदेश सरकारले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गरेको हो ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको तत्कालीन सरकारले प्रदेश सरकार सञ्चालनका आधारभूत तथा प्रारम्भिक प्रशासनिक काम, कर्तव्य तीव्र गतिमा सम्पन्न गरी करिब डेढ वर्षभित्रै ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गर्ने कानुन २०७६ असोज २ गते प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

प्रदेश गौरव योजनाका रूपमा प्रस्तावित प्रतिष्ठानको कार्यालय स्थापना भई प्रारम्भिक काम भइरहँदा कोभिड–१९ महामारीका कारण २०७६ चैत ११ देखि देशव्यापी लकडाउन सुरु भयो । परिणामस्वरुप सबै काम ठप्प भयो ।

बागमती प्रदेश सरकार अरू सबै कामलाई थाँती राखी जनताको जीवन रक्षार्थ कोभिड–१९ को नियन्त्रणमा संघीय सरकारको नेतृत्व/निर्देशनमा पूर्ण क्षमतामा परिचालित भयो । कोभिड–१९ नियन्त्रणमा आएर प्रदेश सरकार नियमित काममा फर्कँदै गर्दा प्रतिष्ठानले बिस्तारै गति लिन थाल्यो । २०७७ असोज १८ गते प्रतिष्ठानको संस्थापक उपकुलपतिको रूपमा प्रा.डा. विश्वराज जोशी नियुक्त हुनका साथै संरचनागत विकास तथा काम प्रक्रियागत रूपमा अघि बढ्यो ।

प्रतिष्ठानले नेतृत्व पाएसँगै शैक्षिक कार्यक्रमका लागि आवश्यक पाठ्यक्रम, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन लगायतका काम अगाडि बढ्यो । प्रारम्भिक तयारीको छोटो समयमै २०७७ चैत २२ गते चिकित्सा शिक्षा आयोगले गरेको अनुगमनले आधारभूत तयारी पूरा भएको निष्कर्षसहित ३ वटा कार्यक्रमहरू बी.फार्मेसीमा ३० जना, ल्याबोरेटोरी सङ्कायमा ३० जना र जनस्वास्थ्य सङ्कायमा २० जना सिट क्षमतामा अध्यापन गराउन अनुमति दियो । तर, कोभिड–१९ को लकडाउन लगायतका कारणले विद्यार्थीको अध्ययन अध्यापनमा केही कठिनाइ भयो । सो वर्ष चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पर्याप्त विद्यार्थी उत्तीर्ण हुन नसक्दा यस प्रतिष्ठानले आफ्नो क्षमता अनुसारको विद्यार्थी भने प्राप्त गर्न सकेन । २०७८ मंसिर १९ गतेबाट पहिलो ब्याचको कक्षा सुरुवात गर्दा विद्यार्थी सङ्ख्या निम्नानुसार रह्यो ः

सुरुवाती कार्यक्रम स्वीकृत विद्यार्थी सङ्ख्या भर्ना भएका विद्यार्थी सङ्ख्या

1

शैक्षिक कार्यक्रम सुरुवात गरेको पहिलो वर्षमै ३ विषयको स्नातक कार्यक्रम सञ्चालन गर्नु यस प्रतिष्ठानको प्रारम्भिक सफलता हो । विडम्बनास्वरुप कोभिड–१९ सँगको लडाइँमा सफलता प्राप्त गरे लगत्तै भएको देशको राजनीतिक अस्थिरताले बागमती प्रदेशलाई पनि लपेट्यो र त्यसको प्रत्यक्ष असर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोग्नुपर्‍यो । यद्यपि शैक्षिक क्रियाकलापमा भने कुनै सम्झौता नगरी निरन्तर गुणस्तरीय शैक्षिक क्रियाकलाप अगाडि बढाइरह्यो । फलतः आज प्रतिष्ठानले २९३ स्नातक विद्यार्थीहरूलाई दक्ष जनशक्ति निर्माणको मार्गमा हिँडाइरहेको छ ।

बिस्तारै अनुकूल वातावरण बन्दै जाँदा प्रतिष्ठानले कामको रफ्तार बढायो र प्रतिष्ठानको ऐन २०७६ को दफा १५ को उपदफा (२) को कानुनी व्यवस्था अनुसार ५० शय्याको हेटौँडा अस्पताल हस्तान्तरण भई सञ्चालनमा आएकोमा क्रमगत रूपमा ३०० शय्यामा स्तरोन्नति भयो । यसमा २०० शय्या थप गरी ५०० शय्यामा विस्तार गर्ने काम अन्तिम चरणमा पुग्दैछ । सेवा प्रवाहलाई गुणस्तरीय र सहज बनाउँदै हेटौँडा अस्पताललाई सुविधा सम्पन्न तथा प्रदेशको ठुलो अस्पतालको रूपमा विकास गर्न प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्रतिष्ठानले सेवा क्षेत्रको विस्तार गर्ने क्रमलाई तीव्र बनाउँदै गएको छ ।

यसैबिच यस अस्पताललाई बहुविशेषज्ञ स्वास्थ्य सेवा केन्द्रको रूपमा विकास गर्ने योजना अनुरूप २०८१ फागुन २७ गते प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी विशेषज्ञ मुटुरोग सेवासमेत शुभारम्भ गरिएको छ । यसअघि नै अस्पतालमा डायलासिस सेवा, आई.सी.यू., एच.डी.यु. लगायतका सघन उपचार सेवा, सी.टी., एम.आर.आई. लगायतका अत्याधुनिक उपकरणबाट प्रयोगशाला चिकित्सा लगायतका विशिष्टीकृत सेवाहरू सञ्चालन गरिसकेको छ ।

  • आगामी बाटो

यस प्रतिष्ठानले हाल चिकित्सा शिक्षा आयोगले निर्धारण गरेका कार्यक्रम मात्र सञ्चालन गरिरहेको छ । यही शैक्षिक सत्रमा ७ वटा विशिष्टीकृत विषयमा ८ जना एमडी तहको अध्यापन अनुमति पाएको छ भने अर्को शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम गर्ने तयारी छ । यी सबै कार्यक्रममा चिकित्सा शिक्षा आयोगको ऐनको व्यवस्था बमोजिम ७५ प्रतिशत छात्रवृत्तिमा अध्यापन गराउनु पर्ने र चिकित्सा शिक्षा आफैँ महँगो शिक्षा भएकाले यी कार्यक्रम सञ्चालनार्थ ठुलो आर्थिक स्रोत आवश्यक पर्दछ ।

हाल सम्पूर्ण रूपमा सरकारसँग निर्भर रहेकोमा यस प्रतिष्ठानलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन देशका लागिसमेत अत्यन्तै आवश्यक स्वास्थ्यसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने अन्य विविध विषय– जस्तै स्वास्थ्य तथा अस्पताल व्यवस्थापन, बायोमेडिकल इन्जिनियरिङ, ह्युमन जेनेटिक्स लगायतका विषयमा अध्यापनको थालनी गर्नुपर्दछ । यसले विद्यमान सामर्थ्य र संरचनाबाट दक्ष जनशक्ति उत्पादनमा विविधीकरण ल्याउनेछ भने प्रतिष्ठानको आर्थिक स्रोत विस्तार गर्नेछ ।

साथै, प्रतिष्ठान अन्तर्गतको हेटौँडा उपमहानगरपालिका – ८ कमानेमा रहेको अनुसन्धान केन्द्रलाई थप सशक्त र क्रियाशील बनाइ अनुसन्धान कार्यबाट प्रतिष्ठानमा भौतिक तथा आर्थिक स्रोत भित्र्याउनु सक्नु पर्छ । यसअघि नै वैज्ञानिक अनुसन्धान कृतिहरूको जर्नल ‘नेपाल जर्नल अफ हेल्थ साइन्स’ वर्षको २ पटक प्रकाशन गरिरहेको यस प्रतिष्ठानले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अन्तर्गत आफ्नै इन्टिच्युश्नल रिभ्यु कमिटी पाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका विविध अनुसन्धान कोष प्राप्त गरी प्रतिष्ठानको आर्थिक तथा अनुसन्धान क्षमता अभिवृद्धि गर्नु पर्दछ । अनुसन्धान केन्द्रको प्रयोगशालामा आधुनिक यन्त्रहरूको जडान तथा प्रतिष्ठित अनुसन्धानकर्ताको अनुबन्ध यसको निम्ति पहिलो पाइला हो ।

मेडिकल शिक्षाको महत्त्वपूर्ण अङ्ग र सिकाइ केन्द्र अस्पताल हुने भएकाले हेटौँडा अस्पताललाई विनाअवरोध प्रतिष्ठानको प्रत्यक्ष निर्देशन र निगरानीमा राखिनुपर्छ र बागमती प्रदेश सरकारको नियन्त्रण यहाँबाट हट्नुपर्छ । यसो भनिरहँदा प्रदेश सरकारले हरेक जिल्लामा स्वास्थ्य सेवाका अनेक आयाममा काम गर्नुपर्ने भएकाले मकवानपुर जिल्लामा समेत प्रदेशको अस्पताल आवश्यक छ ।

जिल्लाको उपयुक्त स्थानमा प्रदेशको जिल्ला अस्पताल यथाशीघ्र स्थापना गर्नुपर्दछ र प्रतिष्ठानको ऐन २०७६ को दफा १५ को उपदफा (२) को कानुनी व्यवस्था अनुसार त्यहाँ कार्यरत चिकित्सक तथा अन्य कर्मचारीलाई प्रतिष्ठान वा मन्त्रालयमध्ये एक सेवा रोज्न अवसर दिएर प्रतिष्ठान र अस्पतालका बिच समय–समयमा देखिँदै आइरहेको असमञ्जसतालाई स्थायी निरूपण गरिनुपर्दछ ।

स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र स्वास्थ्यको अनुसन्धान मानक विश्वविद्यालयका रूपमा स्थापित तथा विकसित यस प्रतिष्ठानले स्नातक अध्यापनको एउटा चक्र पूरा गर्नै लाग्दा चिकित्सा शिक्षा आयोगबाट स्नातकोत्तर तह (एमडी) अध्यापनको अनुमतिसमेत पाइसकेको छ । यस प्रतिष्ठानका प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको नाम संशोधन गरी ‘मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालय’ बनाउन वाञ्छनीय देखिन्छ । कुनै आर्थिक, प्रशासनिक र संरचनागत भारविना नै ऐन संशोधनको सामान्य प्रक्रियाबाट सम्भव हुनाले यो काम बृहत्तर हितमा देखिन्छ ।

(लेखक प्रदेश नीति तथा योजना आयोगका सदस्य हुन् । उनलाई आयोगले स्वास्थ्य क्षेत्र हेर्नेगरी जिम्मेवारी तोकेको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र श्रेष्ठ
दीपेन्द्र श्रेष्ठ
लेखकबाट थप

छुटाउनुभयो कि ?