रोकियो प्लाइउड निर्यात, कस्तो पहल गरिरहेको छ वाणिज्य मन्त्रालय ?

काठमाडौँ । पछिल्लो समय भारतमा नेपाली प्लाइउड निर्यात रोकिएको छ । भारतको गुणस्तर मान्यता प्राप्त प्रमाणपत्र ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस) लिनुपर्ने भएपछि प्लाइउड निर्यात रोकिएको हो ।
यतिबेला नेपालबाट भारततर्फ निर्यात भएको प्लाइउड बोकेका ३४ वटा ट्रक रोकिएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताए । उनका अनुसार काँकडभिट्टा, भैरहवा, कृष्णनगर र नेपालगञ्ज र विराटनगर नाकाबाट प्लाइउडको निर्यात रोकिएको छ ।
भारतले स्वदेशी मझौला तथा साना उद्योगमा पहिलो पटक २०२३ अक्टोबरबाट बीआईएस लागू गरेको थियो । सन् २०२३ को अक्टोबर २३ मा सूचना जारी गर्दै भारतमा उत्पादित स्यानिटरी प्याड र डाइपरमा बीआईएस लागू गरेको थियो । सोही सूचनामा २०२४ मार्च २४ देखि आयातित र भारतमै उत्पादित वस्तुमा बीआईएस लागू गर्ने घोषणा गरेको थियो ।
भारतले बीआइएस लागू गर्ने सूचना निकालेपछि स्वदेशी उत्पादनकर्ता र विदेशी निर्यातकर्ताले विरोध जनाएका थिए । यससँगै भारत सरकारले २०२४ सेप्टेम्बर ३० सम्मका लागि बीआईएस नचाहिने र त्यसपछि लागू गर्ने घोषणा गर्यो । सोहिअनुसार नेपाली उद्योगीले २०२४ फेब्रुअरीमा बीआईएस प्राप्तिका लागि आवेदन दिएका थिए ।
पछि फेरी भारतले २८ अगस्ट २०२५ देखि लागू हुने भनी सूचना प्रकाशित गरेको थियो । तर, गत मार्च ६(फागुन २२ गते बिहीबार कोलकातास्थित कमिस्नर अफ कस्टम्स कार्यालयले आयातका लागि नभई उद्योगलाई बीआईएस लिन समय थपेको भनेपछि पानीटंकी भन्सारले जाँचपास रोकेको थियो । फेरि जोगबनी, सुनौली, बढनी र रुपैडिया भन्सारले भने फेब्रुअरी २८ अर्थात् फागुन १६ देखि नै प्लाइउडको जाँचपास रोकेका छन् ।
२८ अगस्ट २०२५ देखि लागू हुने भनी अहिलेदेखिनै बीआईएस प्राप्त नगरेका उद्योगको माल वस्तु निर्यातमा रोक लगाएको अध्यक्ष घिमिरेको भनाइ छ ।
‘समय चाहिँ छ अगस्टसम्म निर्यात गर्न पाउने तर भारतीय पक्षले बीआईएसको कारण देखाएर निर्यात रोकेको छ । मार्च १२ देखि बंगाल बोर्डरबाट रोकिरहेको छ । अहिले हाम्रो ३४ वटा गाडी बोर्डरमा पेण्डिङ छन्,’ अध्यक्ष घिमिरे भन्छन्, ‘बीआईएस प्राप्तिका उनीहरूले भनेको मापदण्डअनुसार तयारी पनि छौँ । आवश्यक रकम पनि भुक्तानी गरिसकेका छौँ । तर उनीहरूको तर्फबाट दुईवटा उद्योगको मात्र काम सकिएको छ बाँकी ४३ वटा उद्योगको पेण्डिङ राखिदिएका छन् । हाम्रो कारणले भन्दा पनि उनीहरु निरीक्षण गर्न नआएका कारणले नै बीआईएस पाएका छैनौँ ।’
बीआईएस प्राप्तिका लागि भारतले आफ्नै मापदण्ड बनाएको छ । उक्त मापदण्डभित्र रहेर उत्पादन गर्ने उद्योगलाई निरीक्षण गरेर मात्र बीआईएस प्रदान गर्दछ । तर उद्योगीले मापदण्ड पुरा गरेपनि निरीक्षणमा नआएको कारण बीआईएस प्राप्तिमा ढिला भएको उद्योगीहरूको गुनासो छ ।
‘ढिला गर्नुको कारण कुनै सूचना दिएको छैन । यो व्यक्ति आउँछ भनेर खटाएको छ । उसलाई टेलिफोन सम्पर्क गर्दा जनशक्ति कम छ, अहिले आउन सक्दिनँ भन्छ,’ उनले भने, ‘अदृश्य रूपमा दुई देशबिचको कूटनीतिक सम्बन्धका कारण पनि बीआईएसको काम अघि बढ्न नसकेको हुनसक्छ । कूटनीतिक विषय यो क्षेत्रमा नहुनु पर्ने हो तर अदृश्य रूपमा भएको हुनसक्छ । तर यही कारण भन्ने चाहिँ पत्तो पाउन सकिएन ।’
४५ उद्योगले भारतमा निर्यात गर्छन् प्लाइउड
अध्यक्ष घिमिरेका अनुसार नेपालमा कुल ८० वटा उद्योगले प्लाइउड उत्पादन गर्छन् । यसमध्ये ४५ वटा उद्योगले भारततर्फ निर्यात गर्दै आएका छन् । ४५ वटै उद्योगले एक वर्ष अघि नै भारतको गुणस्तर चिन्ह (बीआईएस) प्राप्तिका लागि भारतमा आवेदन दिएका थिए । उद्योगमध्ये मोरङका ग्रीन प्लाइ र सेन्चुरी प्लाइले मात्र बीआईएस पाएका छन् । ती उद्योगलाई निर्यातमा अवरोध छैन । बाँकी ४३ उद्योगले समयमा बीआईएस प्राप्त गर्न नसक्दा प्लाइउड निर्यात रोकिएको छ ।
‘निर्यात नरोकिदिएको भए चालु वर्षमा १० अर्ब बराबरको प्लाइउड निर्यात हुने अनुमान थियो,’ उनले भने, ‘तर अब यसरी रोकेपछि लक्ष्यअनुसार निर्यात हुन सक्दैन ।’
आर्थिक वर्ष ७८/७९ मा ३५ करोड रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको थियो । सोही आर्थिक वर्षको अन्त्यदेखि भारतबाट प्लाइउडको माग बढ्न थालेको उद्योगीहरूको भनाइ छ । यसपछि आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ७० करोड बराबरको प्लाइउड निर्यात भयो । साथै आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ४३ करोड बराबरको प्लाइउड निर्यात भएको थियो ।
द्विपक्षीय व्यापार सन्धिमा उल्लेख भारतका भन्सार कार्यालयले नेपाली प्लाइउड रोक्न नमिल्ने हो तर भारतले सन्धि विपरीत कार्य गरेकोसमेत बताए ।
अवरोध हटाउन कस्तो पहल गरिरहेको छ वाणिज्य मन्त्रालय?
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तर्कराज भट्टले भारतले प्लाइउड निर्यातमा गरेको अवरोध हटाउन पहल भइरहेको बताए ।
‘अवरोध आएपछि प्लाइउड उत्पादक संघले हामीलाई पत्राचार गरेको थियो । वाणिज्य मन्त्रालयले भारतीय दूतावास र समस्या समाधान गरिदिन आग्रह गरेका छौँ । दूतावासमार्फत बीआईएसको कुरा चाँडो टुङ्ग्याउन भारतीय वाणिज्य मन्त्रालयलाई पत्राचार गरिसकेका छौँ । अब केही दिनमै अवरोध हटी निर्यात खुल्छ । ’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी भएअनुसार भारततर्फ मालवस्तु निर्यात गर्ने नेपाली साना मझौला उद्योगलाई भारतीय साना मझौला उद्योग सरह सेवा सुविधा दिनका बीआइए लागू गर्न लागेको हो । यसअघि २८ अगस्ट २०२५ देखि लागू हुने भनिएको थियो । तर भारत सरकारले बजेट प्रकाशित गर्दा २८ फेब्रुअरी २०२५ देखि अनिवार्य लागू हुने भन्ने सूचना लागू गरेको थियो । त्यही सूचना आधार मानेर भन्सारले प्लाइउड रोकेको सहसचिव भट्टको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्यकाका आङ्गिक क्याम्पसको मतपरिमाण सार्वजनिक, कहाँ को विजयी ?
-
आयुर्वेद क्याम्पसमा नेविसंघ प्यानल नै विजयी, तीन दलीय गठबन्धन पराजित
-
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
राजावादीको विरोधाभास : आपसमा बेमेल तर ज्ञानेन्द्रको नजिक बन्ने होडबाजी
-
उद्योगमा सुरु हुँदै लोडसेडिङ ! के छ प्राधिकरणको तयारी ?