बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीको पीडाः ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

मङ्गलबार, ०५ चैत २०८१, २१ : ४०
मङ्गलबार, ०५ चैत २०८१

नवलपरासी । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ हसौरामा धनमाया सार्कीको घरमा शोकमग्न भीड जम्मा भइसकेको थियो । घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो । परदेशी भूमिमा श्रम बेच्न गएकी धनमायाकी छोरी तिलमाया अब कहिल्यै नफर्किने गरि आफन्तकाबीचमा बाकसभित्र आइपुगेकी थिइन् ।

घरको आँगनमा उभिएकी छ वर्षीय नातिनी सोध्छिन्, 'हजुरआमा, ममी कहिले आउनुहुन्छ' तर, ७० वर्षीय हजुरआमा धनमाया केही भन्न सक्दिनन् । उनी चुपचाप आँसु पुछ्दै बन्द बाकसतिर हेरिरहन्छिन्, जहाँ उनकी २६ वर्षीय छोरी तिलमाया सार्की चीरनिद्रामा सुतिरहेकी छिन् । घरको माहोल शोकमग्न छ, छिमेकीहरू मौन छन्  तर, कसैले भन्न सक्दैन-'नानी तिम्री ममी अब कहिल्यै फर्किन्नन् ।' 

श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि छोरीका लागि आमाबुबा दुवैको भूमिका निर्वाह गर्नु तिलमायाको बाध्यता बन्यो । गाउँमा रोजगारी थिएन, उधारोले घर चल्न सकेन र उनले रोजिन् वैदेशिक रोजगारीका लागि मलेसयिा । 'केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु', भन्दै उनले ६ वर्षीय छोरीलाई वृद्ध आमाको जिम्मा लगाएर मलेसियातर्फ लागिन् । तर, परदेशी भूमिले तिलमायालाई चाँडै नै गुमाइदियो । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट तिलमायाले गरेको फोन नै अन्तिम फोन थियो ।

त्यसको केही दिनपछि अचानक फोन आयो, 'तिलमायाको हत्या भयो ।' यो खबरले परिवारलाई छियाछिया बनायो । पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न नै केही हप्ता लाग्यो । अन्ततः सरकारी प्रक्रिया पूरा गरी हत्या भएको ११ महिनापछि तिलमायाको शव बाकसमा घर आइपुग्यो । 

तिलमायालाई अन्तिम श्रद्धाञ्जलि दिन गाउँका सबै जम्मा भए । धार्मिक परम्पराअनुसार गर्नुपर्ने विधि पूरा गरी तिलमायाको अन्तिम संस्कार गरियो । मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घरसम्म आइपुगेको हो । हत्या गरिएको बीभत्स शव नेपाल ल्याउन परिवारले ११ महिनासम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनुपरेको थियो ।   

आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरूको प्रयासलाई बल पुग्ने गरी समाचार आएपछि शव नेपाल ल्याउन सम्भव भएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना)की परामर्शदाता रञ्जना लम्सालले बताइन् । 

'सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि सुनुवाइ हुनसकेको थिएन', उनले भनिन्, 'शव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको र अबको १५/२० दिनमा राहत पनि आइसक्ने छ ।' वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसलापछि मात्र हत्या गर्ने व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने भएको छ । 

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको अहिलेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये २० जनाको मृत्यु भएको छ ।

मृतकमध्ये अझै दुई जनाको शव नेपाल ल्याउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?