बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेलाई बूढानीलकण्ठमा र्‍याखर्‍याख्ती

पदाधिकारीसहितका नेताले हटाउन माग गर्दा उपसभापति खड्काको बचाऊ
मङ्गलबार, ०५ चैत २०८१, २० : ११
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर धारणा राख्ने पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई पार्टीको बैठकमा पदाधिकारीसहितका नेताले र्‍याखर्‍याख्ती पारेका छन् । मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बोलाएर जिम्मेवार पदमा बसेको व्यक्तिले कानुनले बन्देज लगाएको विषयमा धारणा राखेको भन्दै नेताहरूले झपारेका हुन् । 

बैठक सुरु भएपछि बैठकमै रहेका महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले सदनमा राखेको अभिव्यक्तिले पार्टीको बदनाम भएको बताएका थिए । उनीहरूले महिला सांसदहरूले बुधबार बस्ने प्रतिनिधिसभा बैठक घिमिरेले बोलेको अभिव्यक्ति हटाउन माग राख्दै बेल घेर्ने तयारी गरेकोसमेत जानकारी गराएका थिए । उनीहरूले त्यति भन्दाभन्दै केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, सीता गुरुङ, रामहरि खतिवडालगायत पुगेर पनि घिमिरेको अभिव्यक्तिका कारण पार्टीको बदनाम भएको बताएपछि उनलाई बैठकमा बोलाइएको थियो । 

‘पदाधिकारीसहितका नेताहरूले प्रश्न उठाएपछि सभापतिज्यूले बोलाउन निर्देशन दिनुभयो । त्यसपछि बोलाएर नेताहरूले गाली गर्दै जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिन नमिल्ने बताउनु भयो । यस्ता व्यक्तिलाई पदमा कति समय राख्ने भनेर पनि सोच्नु पर्ने नेताहरूको धारणा थियो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने । 

सबै नेताहरू घिमिरेमाथि खनिएपछि उपसभापति पूर्णबहादुर खड्काले संरक्षणको प्रयास गरे । घिमिरेलाई खड्काकै सिफारिसमा सभापति देउवाले प्रमुख सचेतक बनाएका थिए । अरू नेताहरूले घिमिरेको कार्यशैलीमाथि अहिलेमात्रै होइन पहिलेदेखि प्रश्न उठाएपछि सभापति देउवाले ‘किन यस्तो भइरहेको छ ?’ भन्दै उपसभापति खड्कालाई सोधेका थिए । त्यसपछि खड्काले घिमिरेको प्रतिरक्षा गर्दै बुधबारको संसद् बैठकमा माफी माग्न निर्देशन दिएका थिए । 

आफ्नो सिफारिसमा प्रमुख सचेतक बनेकाले हटाएमा आफ्नो सिफारिसमा पनि प्रश्न उठ्ने भएपछि उपसभापति खड्काले बुधबारको प्रतिनिधिसभा बैठकको सुरुवातमै माफी माग्ने भन्दै बचाएका थिए । ‘पार्टीको धारणा होइन, मेरो व्यक्तिगत धारणा हो । महिलाहरूको आत्मसम्मानमाथि आँच पुग्ने महसुस गरेकाले संसद्को रेकर्डबाट हटाउन आग्रह गर्दछु भन्नुहोला । र सबैसँग आत्मसम्मानमा आँच पुर्‍याउने अभिव्यक्ति दिएकोले क्षमा दिनुहोस् भन्दै माफी माग्नुहोला,’ उपसभापति खड्काले प्रमुख सचेतक घिमिरेलाई निर्देशन दिँदै भनेका थिए । 

त्यसपछि पनि नेताहरूले प्रमुख सचेतक भएर पनि सदनमा बोल्दा कहिल्यै पार्टीको धारणा नराख्ने र आफ्नो स्वार्थका अभिव्यक्ति मात्रै दिने गरेको भन्दै रोष प्रकट गरेका थिए । खड्काबाहेक अर्जुननरसिंह केसीले मात्र घिमिरेको प्रस्तावको समर्थनमा बोलेका थिए । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले व्यक्त गरेको धारणाको अहिलेमात्रै होइन, यसअघि पार्टी केन्द्रीय समितिमा पनि आलोचना भएको थियो ।

प्रमुख सचेतक घिमिरेले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने बताएका थिए । मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने उनको दाबी थियो । 

‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ । मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ । जसले यो मुलुकमा पर्यटकको सङ्ख्या बढाउनेछ,’ घिमिरेले भनेका थिए, ‘धार्मिक पर्यटकहरूले कम खर्च गर्छन् । साहसिक पर्यटक थोरै मात्र हुन्छन् । संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो । त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकमा आर्थिक विकास हुन्छ । विपक्षीले यी कुरा उठाइदिएको भए कति काइदा हुन्थ्यो !’

उनको अभिव्यक्तिको सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदद्वय दुर्गा राई र दीपक सिंहले यौन व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्दै घिमिरेले राखेको धारणाको विरोध गरेका थिए । 

सांसद राईले कांग्रेस प्रमुख सचेतक घिमिरेको धारणा रेकर्डबाट हटाउनसमेत माग गरेकी थिइन्  । उनले सांसद घिमिरेलाई चेतावनी दिँदै भनेकी थिइन्, ‘यौन व्यवसाय गर्न आफ्नो परिवारबाट अगाडि बढाउन आँट गर्न सक्नुहुन्छ ?’ 

सांसद सिंहले नेपाली समाजलाई तहसनहस बनाउने षडयन्त्र स्वरूप सत्तारुढ दलका जिम्मेवार सांसदबाट यस्ता धारणा आएको बताएका थिए । 

उनले भनेका थिए, ‘हजारौँ युवाहरूले रोजगारी र शिक्षाको लागि देश छोडिसकेका छन् । अब सीमित कलिला युवा आमा छोराछोरी मात्र बाँकी छन् । देशको आर्थिक विकासको लागि पर्यटन भित्र्याउन त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनको लागि यौन व्यवसाय, यौन पर्मिट सरकारले दिनुपर्छ भन्नुभएको छ सरकारकै एक माननीयज्यूले । यो व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिएको त आएको त होइन ? यही दिनको लागि गणतन्त्र ल्याएको हो ?’

सबै पार्टीका महिला सांसदहरूले घिमिरेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै प्रतिनिधिसभाको बेल घेर्ने तयारी गरिरहेका छन् । त्यो जानकारी दिने जिम्मा प्रतिनिधिसभामा सदस्यसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्यहरू न्यौपाने र गुरुङलाई दिइएको छ । त्यही जानकारी दिन उनीहरू पदाधिकारी बैठक बसिरहेको समयमा बुढानीलकण्ठ पुगेका थिए । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले व्यक्त गरेको धारणाको अहिलेमात्रै होइन, यसअघि पार्टी केन्द्रीय समितिमा पनि आलोचना भएको थियो । घिमिरेले गत साउन २८ गते केन्द्रीय समिति बैठकमा पार्टीको मूल आदर्शका रूपमा रहेको समाजवाद शब्दलाई हटाउनुपर्ने प्रस्ताव राखेका थिए । 

नेपाली कांग्रेसले स्थापनाकालदेखि नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । घिमिरेले कम्युनिस्ट र कांग्रेस भिन्न पार्टी रहेको देखाउन पनि ‘समाजवाद’ पार्टीको सिद्धान्तबाट हटाउनुपर्ने माग गरेका थिए । 

विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको कांग्रेसले कसरी समाजवादलाई आदर्श मान्न सक्छ भन्दै घिमिरेले व्यावसायिक क्षेत्रको मनोबल बढाउन पनि कांग्रेसलाई समाजवादलाई अघि बढाउन नहुने बताएका थिए । त्यसबेला उनको त्यो अभिव्यक्तिको केन्द्रीय समिति बैठकमै विरोध गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई
लेखकबाट थप

छुटाउनुभयो कि ?