बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

उत्साहित देखिए विद्यार्थी, पार्टीभन्दा सबैको साझा बन्न नेतृत्वलाई सुझाव

नेतागिरी गर्दै हिँड्ने स्ववियु खारेज हुनुपर्ने कतिपयको माग
मङ्गलबार, ०५ चैत २०८१, १८ : १७
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । देशभर आज (मंगलाबार) त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भयो । देशभर त्रिविका ६२ वटामध्ये ४५ वटा र सम्बन्धनप्राप्त कलेजहरूमा मतदान भएको छ । 

काठमाडौँ उपत्यकाका २२ मध्ये ८ वटामा क्याम्पसमा निर्वाचन हुन सकेन भने केहीमा अर्को मिति तय भएको छ । स्ववियु निर्वाचनमा आफ्ना नेता छान्न विद्यार्थीहरू उत्साहित देखिए । अधिकांश विद्यार्थीले यसअघि २०७९ सालको निर्वाचनमा समेत मतदान गरेका थिए । केहीले भने पहिलो पटक मतदान गरे । कतिपयले भने जीवनकै पहिलो मतदान गरे । 

रातोपार्टीकर्मी काठमाडौँका विभिन्न कलेजमा पुग्दा विद्यार्थीहरू निकै उत्साहित देखिएको पाइयो । बिहानैदेखि उनीहरू लाइन लागेर प्रतिनिधि छान्न व्यस्त देखिन्थे । पुल्चोक इन्जिनियरिङ कलेजमा साढे ८ बजेतिर पहिलो मतदान गरेका सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत मदन रिमालले स्ववियुलाई कुनै पार्टीभन्दा पनि सबैको साझा थलो बनाउनुपर्ने सुझाव दिए । यसअघि ०७९ सालमा समेत उनले पहिलो मतदान गरेका थिए । 

madan

यसअघि निर्वाचितहरूका कमजोरी सच्याउँदै उनले अबको नेतृत्वलाई अघि बढ्न सुझाव पनि दिए । फुटबल खेलाडीसमेत रहेका रिमालले विगतमा कलेजमा खेलकुदका त्यस्ता कार्यक्रम नभए पनि पछिल्लो दुई वर्ष खेलकुदमा राम्रै काम भएको बताए । 

उनले रिसर्चको तहबाट खासै काम हुन नसकेको बताए । कलेज प्रशासनसँग पनि समन्वय नभएकाले अब आउने स्ववियुले यस्तो काम गर्नुपर्ने बताए । विद्यार्थीका हकहितका काम अझै सशक्त बनाएर लैजानुपर्ने उनको भनाइ छ । आर्किटेक्ट चौथो वर्षका निश्चल चन्दले भने दुई वर्षमा स्ववियुले खासै प्रभावकारी काम गर्न नसकेको बताए । अबको नेतृत्व सक्षम र काम गर्न सक्ने आओस् भन्ने उनको चाहना छ । 

बीई तेस्रो वर्षमा अध्ययनरत मालविन क्षेत्रीले विद्यार्थीका समस्या सुन्ने खालको नेतृत्व हुनुपर्ने र नेतागिरी गर्दै हिँड्ने स्ववियु खारेज हुनुपर्ने बताए । भोट हाले पनि यसको औचित्य नभएको उनको तर्क थियो । 

पाटन बहुमुखी क्याम्पसमा आज बिहान एकछिन मतदान भयो । फर्जी मतदाताको विषयमा विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया रोकियो । एक सय जना विद्यार्थीले मतदान गरिसकेपछि मतदान रोकिएको हो । विद्यार्थीहरू बिहानैदेखि मतदान गर्न लाइनमा थिए । तर एकाएक नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच झडप भएपछि विद्यार्थीहरू तितरबितर भएका थिए । 

नाम उल्लेख गर्न नचाहने एक विद्यार्थीले स्ववियु कुनै दलको नभई विद्यार्थीको साझा हुनुपर्ने बताए । ‘मेरो भोट विद्यार्थी संगठनको झोले हुनका लागि होइन । विद्यार्थीको वास्तविक समस्या सुन्न सक्ने र समाधान गर्नतिर लाग्ने होस् भनेर हो,’ ती विद्यार्थीले भने । विद्यार्थीका तमाम समस्या क्याम्पस प्रशासनसँग निर्धक्क राख्न सक्ने खालको स्ववियु नेतृत्व चाहिएको उनको भनाइ थियो । 

थापाथली र पुल्चोक इन्जिनिरिङ कलेजमा भने सहज रूपमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो । थापाथली क्याम्पसमा मतदान गर्ने विद्यार्थीबाहेक कसैलाई पनि भित्र प्रवेश दिइएको थिएन । १४ वर्षपछि इन्जिनिरिङ पढ्न आएका आशीष केसीले विद्यार्थीको हकहितमा काम गर्न सकोस् भनेर भोट हालेको बताए । ‘शैक्षिक सुधार गर्न सकोस्, क्याम्पस प्रशासनसँग राम्रो समन्वय गर्न सकोस् भन्ने मेरो चाहना हो,’ केसीले भने । 

यसअघिको स्ववियु केही कुरामा चुकेकाले अब आउनेले कमजोरी गर्न नहुने उनको भनाइ थियो । उनले त्यही कलेजबाट १४ वर्ष अगाडि डिप्लोपा गरेका थिए । हाल उनी त्यही कलेजमा इन्डस्ट्रियल इन्जिनियरिङ दोस्रो वर्षमा छन् । सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत केशव खतिवडाले दुई वर्षअघिको निर्वाचन धेरै वर्षपछि भएकाले धेरै काम गर्न नसकेको तर्क गरे । अब आउने नेतृत्वले विद्यार्थीका हकहितमा धेरै काम गर्नुपर्ने उनको सुझाव छ । 

keshab

उनले थापाथली क्याम्पस बाहिर राम्रो देखिए पनि भित्र भने जीर्ण अवस्था रहेको बताए । त्यसका लागि कलेजभित्रको पूर्वाधारमा स्ववियुले काम गर्नुपर्नेमा उनले जोड दिए । 
इन्डस्ट्रिलय इनर्जी दोस्रो वर्षमा अध्ययनरत एजिला घिमिरेले भने विद्यार्थी भएपछि विद्यार्थीकै समस्या बुझ्ने र समाधान गर्न सक्ने स्ववियु हुनुपर्ने बताइन् । चुनाव सकिएपछि पार्टीगतभन्दा पनि सबै विद्यार्थीको हकहितका लागि काम गर्ने खालको स्ववियु चाहिएको उनको भनाइ छ । 

अघिल्लो दुई वर्षे कार्यकालमा स्ववियुहरू पार्टीगत रूपमा मात्र अगाडि बढेका उनीहरूको भनाइ थियो । त्यसैले मतदान गरेका सबै विद्यार्थीले अबको स्ववियु सबैको साझा बन्नुपर्नेमा जोड दिए । 
swabiu-elecation-(8)_458wC3vqBA

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?