मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

नवराज सुवेदी नेतृत्वमा हुने 'जनआन्दोलन'लाई राप्रपा नेपालको समर्थन तर कमल थापाको सट्टामा तारानाथले प्रतिनिधित्व गर्ने

मङ्गलबार, ०५ चैत २०८१, १८ : १४
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । राप्रपा नेपालले नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएकोप्रति खुसी व्यक्त गर्दै सो जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको  राजाराम बर्तौलाले जानकारी दिएका हुन् ।

बैठकको निर्णयमा भनिएको छ, ‘राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसका अवसरमा गत २०८१ साल फागुन ७ गते राष्ट्रको नाममा भएको सम्बोधनको भावनालाई आत्मसात् गर्दै सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचारको अन्त्य जस्ता मुख्य एजेण्डा बोकेर श्री नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएकोप्रति खुसी व्यक्त गर्दै सो जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने बैठक निर्णय गर्दछ ।'

नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा राप्रपा नेपालको तर्फबाट उपाध्यक्ष तारानाथ लुइँटेलले प्रतिनिधित्व गर्नेछन् ।  उक्त समितिले निकट भविष्यमा आयोजना गर्ने आन्दोलनका सबै कार्यक्रमहरूमा तन मन र धनले सहभागी हुन राप्रपा नेपालका सबै तहका निकाय र भातृसंगठनहरूलाई राप्रपा नेपालले आह्वान समेत गरेको छ । ।  

  • यस्ता छन् बैठकका निर्णय

(क) हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन, सनातन हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न, संघीयता खारेज गर्न तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न समान विचारधारा भएका सबै राजनीतक दल र समूहका बिच एकता र सहकार्य कायम गरी संयुक्त जनआन्दोलनमा जानुपर्छ भन्ने राप्रपा नेपालको दृढ धारणा रहँदै आएको सर्वविदित छ । कुनै एक राजनीतिक दल वा समूहको प्रयासबाट मात्र यो लक्ष्य प्राप्त हुन सक्दैन भन्ने बारे हामी सचेत छौँ । विगत दुई वर्षदेखि त्यस्तो एकता र सहकार्यको वातावरण तयार गर्न राप्रपा नेपालले निरन्तर प्रयास गर्दै आएको छ ।

(ख) राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसका अवसरमा गत २०८१ साल फागुन ७ गते राष्ट्रको नाममा भएको सम्बोधनको भावनालाई आत्मसात् गर्दै सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचारको अन्त्य जस्ता मुख्य एजेण्डा बोकेर श्री नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएकोप्रति खुसी व्यक्त गर्दै सो जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने बैठक निर्णय गर्दछ ।

(ग) श्री नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा राप्रपा नेपालको तर्फबाट उपाध्यक्ष तारानाथ लुइँटेलले प्रतिनिधित्व गर्नु हुनेछ ।

(घ) उक्त समितिले निकट भविष्यमा आयोजना गर्ने आन्दोलनका सबै कार्यक्रमहरूमा तन मन र धनले सहभागी हुन राप्रपा नेपालका सबै तहका निकाय र भातृसंगठनहरूलाई राप्रपा नेपाल आह्वान गर्दछ ।  

(ङ) वर्तमान राज्य प्रणालीको विगत दुई दशकको राजनीतिक अभ्यास, देशको वर्तमान अवस्था र जनताको भावनालाई दृष्टिगत गरी विद्यमान राजनीतिक प्रणालीमा आमुल सुधार गर्ने बारे गंभीर भएर सोच्न सबै राजनीतिक दल र सम्बद्ध सबैमा समेत राप्रपा नेपाल अनुरोध गर्दछ । ‘राजासहितको प्रजातन्त्र’ निरंकुशता वा विगतको व्यवस्थातर्फको प्रतिगमन होईन नेपालको भूराजनीतिक अवस्था र धार्मिक, सांस्कृतिक, सामाजिक परिवेशमा अहिलेको भन्दा धेरै गुणा बढी उन्नत र अग्रगामी प्रजातन्त्र हो भन्ने राप्रपा नेपालको मान्यता रहेको छ। 

  राष्ट्रिय सहमति हुने हो भने वर्तमान संविधान कै परिधि भित्रबाट नै सनातन हिन्दु अधिराज्यको मान्यतामा आधारित राज्य व्यवस्था कायम गर्न सकिने छ । यो समयको माग र देशको आवश्यकता हो ।

(च) हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना तथा सबल र समृद्ध नेपाल निर्माणको आन्दोलनमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा समेत राप्रपा नेपाल अपिल गर्दछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?