बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

निजी स्वार्थ त्यागेर सामूहिक भावनाका साथ नागरिक सेवामा समर्पित हुनु जरुरी : प्रहरी महानिरीक्षक थापा

मङ्गलबार, ०५ चैत २०८१, १७ : ५८
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी नागरिकले आस्था र विश्वास राखेको मुलुकको महत्त्वपूर्ण संगठन भएको चर्चा गर्दै  निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनु जरुरी रहेको बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहबिच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक थापाले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताएका हुन् ।

नेपाल प्रहरी देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य एवं निर्विकल्प संगठन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले भने, ‘नेपाल प्रहरीको कुनै अर्को विकल्प हुनै सक्दैन । यसको विकल्प सुदृढ एवं जनउत्तरदायी नेपाल प्रहरी नै हो । यसका लागि नेतृत्व तह मात्र होइन, हर जवान सम्म यो भावनाले युक्त हुनु पर्दछ । तब मात्र राष्ट्र र नागरिकले परिकल्पना गरेको प्रहरी संगठनको स्वरूप हुनेछ ।’ सबै प्रहरी कर्मचारीहरू संगठनको संस्थागत सुधार र श्रीवृद्धिमा केन्द्रीत हुनुपर्ने बताउँदै सामूहिक भावना, भ्रातृत्व र आपसी एकताले मात्र संगठनको सुदृढीकरण र उन्नतिको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गरे ।   

देशव्यापी सञ्जाल संरचना भएको नेपाल प्रहरी फौजदारी न्याय प्रणालीको महत्त्वपूर्ण अङ्ग, नागरिकको शान्ति सुरक्षाको पहरेदार, न्यायको धरोहर, विपद् एवम् सुख दु:खमा राज्यको पहिलो प्रतिनिधि, न्यून साधनश्रोतमा पनि उच्च प्रतिफल दिन सक्ने संगठन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले राष्ट्र र आम नागरिकमा नेपाल प्रहरी प्रतिको विश्वास र भरोसामा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने कुरामा पूर्ण विश्वस्त रहेको बताए । 

विभिन्न सामाजिक सञ्जालका माध्यमहरूमा केही व्यक्ति तथा समूहहरूले विभिन्न जातजाति, वर्ग, धर्म र संस्कृतिका विरुद्ध गलत सूचना प्रवाह गर्ने, दुष्प्रचार तथा मानहानि गर्ने प्रवृत्ति बढ्दो रहेको र त्यसबाट उत्पन्न हुन सक्ने सामाजिक विचलन र कानुनी जटिलतालाई सम्बोधन गरी कार्यसम्पादन गर्नुपर्ने र चुनौतीको रूपमा रहेको साइबर अपराध, लागूऔषध ओसार-पसार, मानव तस्करी, आर्थिक अपराध लगायतका अपराधहरूको अनुसन्धानका लागि थप क्रियाशील हुनु पर्ने उनले बताए । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?