बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
राजावादी

राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?

मङ्गलबार, ०५ चैत २०८१, १९ : ३०
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । जननिर्वाचित संविधानसभाबाट कायम व्यवस्था उल्टाउँदै ‘राजसंस्था पुनर्स्थापना’का लागि पूर्वपञ्च तथा राप्रपाका ८७ बर्षीय नेता नवराज सुवेदीको नेतृत्वमा सोमबार 'जनआन्दोलन' समिति गठन गरेसँगै राजावादी समूहभित्र नै असन्तुष्टि देखिएको छ ।

राजधानीको भोजनगृहमा भएको राजावादीको भेलाबाट सुवेदीको संयोजकत्वमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेताहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वमन्त्री केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत, अस्मिता भण्डारी, रमा सिंह सदस्य रहेको 'जनआन्दोलन' समिति गठन भएको सार्वजनिक गरियो । समितिमा मिश्र सदस्यसचिव छन् ।

राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र, दुर्गा प्रसाईं, अस्मिता भण्डारी र रमा सिंह बाहेक सबै पंचायती व्यवस्थामा नै पटक पटक मन्त्री भएका व्यक्ति समितिमा समेटिएका छन् l  

यस्तै निर्देशक समिति अन्तर्गत गठन हुने आन्दोलन परिचालन समितिको संयोजकमा राप्रपाका महामन्त्री धवलशमशेर राणा छन् । भविष्यमा जोडिने पक्षहरू पनि आन्दोलन परिचालन समितिमा जोडिने उल्लेख छ । यस समितिको प्रमुख सल्लाहकारमा वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङ छन् । सल्लाहकारहरूमा बुद्धिराज बज्राचार्य र डा. शास्त्रदत्त पन्त छन् ।

संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दुराज्यको पुनर्स्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई 'जनआन्दोलन' समितिले मुख्य एजेण्डा बनाएको छ । भेलाले ५ पृष्ठको प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेको छ तर प्रतिबद्धतापत्रमा कसैको पनि हस्ताक्षर छैन ।

समिति गठनप्रति राप्रपाका दुवै घटक पूर्ण सन्तुष्ट देखिएका छैनन् । समितिमा अनुमतिबिना नाम राखिएको भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा असन्तुष्ट देखिएका हुन् । आफूलाई जानकारी नै नदिइ समितिमा राखिएकोप्रति केशरबहादुर विष्ट र मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराजले विरोध जनाएका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको भिडियो सन्देशबाट हौसिएका राजावादीहरू राजसंस्था पुनर्स्थापनाको जस लिने होडमा अघि बढ्दा पार्टीमै विग्रह आउने र विघटनतर्फ जाने खतरा देखिएको छ । दुर्गा प्रसाईंले त राप्रपाले राजसंस्था पुनर्स्थापना नै गर्न नसक्ने प्रतिक्रिया दिँदै आएका छन् ।

समितिमा रहेका व्यक्तिहरूको पृष्ठभूमि फरक–फरक छन् ।

  • नवराज सुवेदी

संयोजक सुवेदी २०१७ सालमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनको पहिलो अध्यक्ष निर्वाचित भएर सक्रिय राजनीतिमा लागेका थिए । उनी पार्टीविहीन पञ्चायती व्यवस्थामा स्थापनादेखि नै सक्रिय व्यक्ति हुन् ।

पञ्चायती कालभरी नै रामेछाप जिल्लाबाट निरन्तर राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित सुवेदी राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष समेत हुन् ।

२०३८ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पञ्चायत, स्थानीय विकास तथा स्वास्थ्यमन्त्री भएका सुवेदीले शुभराज्याभिषेक पदक १९७९, गौरवमय सुविख्यात त्रिशक्ति पट्ट प्रथम १९८६, सुप्रसिद्ध प्रबल गोरखा दक्षिणह बाहु प्रथम १९९०, वीरेन्द्र ऐश्वर्य सेवा पदक २००२ लगायत थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।

  • कमल थापा

कमल थापा पूर्वगृहमन्त्री हुन् । २०६१ सालमा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी गृहमन्त्री थिए । नेपाली राजनीतिका चतुर खेलाडी उनलाई पूर्वपञ्चहरूले नै कुनै बेला ‘मुसा प्रवृत्ति’ भनेर टिप्पणी गर्दथे ।

थापा कुशल टेनिस खेलाडी, नेपाली फुटबल टिमका पूर्वकप्तान, अखिल नेपाल फुटबल संघको पूर्वअध्यक्ष हुन् । २०४४ सालमा दशरथ रंगशाला काण्डपछि उनले अखिल नेपाल फुटबल संघको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । राजतन्त्र र गणतन्त्र दुवै व्यवस्थामा सबैभन्दा बढी फाइदा लिने अहिलेका सीमित नेतामा उनी अग्रपङ्क्तिमा पर्दछन् ।

२०४३ सालमा मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा वन तथा भूसंरक्षणमन्त्री भएका थापा बहुदल स्थापना भएपछि २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानुन तथा संसदीय मामिलामन्त्री भए । २०५३ सालमा लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा आवास तथा भौतिक योजना तथा परराष्ट्रमन्त्री भएका उनी २०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा परराष्ट्र र कृषिमन्त्री भए ।

तात्कालीन राजा ज्ञानेन्द्र नै अध्यक्ष तथा तुलसी गिरि र कीर्तिनिधि बिष्ट उपाध्यक्ष रहेको सरकारमा उनी मन्त्ती भएका थिए ।

२०४६ को राजनीतिक परिवर्तनपछि स्थापना भएको बहुदलीय व्यवस्थामा फाइदैफाइदा लिएका थापाले गणतन्त्र स्थापनापछि फाइदा उठाउँदै आएका छन् ।

२०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भए । २०७३ मा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएका थापा २०७४ मा पनि देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएका थिए । हाल उनले राप्रपा नेपालको नेतृत्व गर्दै आएका छन् ।

  • केशरबहादुर विष्ट

राष्ट्रवादी छवि बनाएका केशरबहादुर विष्ट चर्चित मानवशास्त्री डोरबहादुर विष्टका छोरा हुन् । २०४४ सालमा हावाहुरी आउँदा रंगशालामा भागदौड हुँदा ९३ जनाको ज्यान गएको थियो । मरिचमानसिंह श्रेष्ठ सरकारका शिक्षामन्त्री रहेका उनले सो काण्डको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए । २०४६ को राजनीतिक परिवर्तनपछि केही समय उनी कांग्रेसमा सामेल भए । २०६३ को राजनीतिक परिवर्तनपछि फेरि राप्रपामा फर्किएका उनी २०७६ सालमा अलग भए ।

उनले वामपन्थी, राजावादी, राष्ट्रवादी तथा हिन्दुवादी सबैलाई समेटेर राष्ट्रिय शक्ति नेपाल गठन गरेका थिए । उनी २०३८ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा शिक्षा तथा संस्कृति सहायकमन्त्री थिए । राजसंस्था पुनर्स्थापनाको पक्षमा उनी निकै सक्रिय छन् ।

  • दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं लामो समय माओवादीमा सक्रिय रहेका व्यक्ति हुन् । २०७४ सालमा तत्कालीन एमाले र माओवादीलाई मिलाउन प्रसाईंले पनि भूमिका खेलेका थिए ।

२०७८ कात्तिकमा एमाले प्रवेश गरेका उनी सो पार्टीमा धेरै समय टिकेनन् । २०७९ फागुनमा एमालेले उनलाई केन्द्रीय सदस्य तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्‍यो । २०८० साल फागुन १ गते झापामा एक भव्य कार्यक्रम गरी पूर्वराजा ज्ञानेन्द्र शाहलाई सँगै राखेर सनातन हिन्दु धर्म तथा नागरिक बचाउ अभियान सुरु गरेका उनी पछिल्लो समय गणतन्त्र फालेर राजसंस्था पुनर्स्थापना गर्ने अभियानमा सक्रिय छन् ।

  • पशुपति शमशेर जबरा

राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेरका नाति पशुपति शमशेर जबरा राप्रपाका पूर्वअध्यक्ष हुन् । २०६३ सालमा राजसंस्था पतन भएपछि राप्रपा तीन समूहमा विभाजन हुँदा उनी एउटा समूहको अध्यक्ष थिए । पञ्चायतकालमै पर्यटन तथा यातायातमन्त्री भएका राणा २०५२ सालमा देउवा नेतृत्वको सरकारमा जलस्रोतमन्त्री थिए ।

उनी अर्थ, सञ्चार तथा परराष्ट्रमन्त्री समेत भए । उनी अहिले राप्रपामा छन् ।

  • डा. प्रकाशचन्द्र लोहनी

राप्रपाका बौद्धिक नेता डा. प्रकाशचन्द्र लोहनी पञ्चायतकाल र बहुदल स्थापनापछि पटकपटक अवसर पाउने नेतामध्येका एक हुन् । अर्थविद्समेत रहेका उनले अर्थ मन्त्रालयको नेतृत्वसमेत सम्हालिसकेका छन् ।

राप्रपा छिन्नभिन्न रहेको बेलामा पार्टी संस्थापन पक्षमै रहेका लोहनीले २०७४ सालको निर्वाचनअघि पार्टीबाट अलग रहेर छुट्टै पार्टी गठन गरेका थिए । अहिले उनी राप्रपामै छन् ।

  • राजेन्द्र लिङ्देन

२०७८ साल मंसिरमा भएको राप्रपाको राष्ट्रिय महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए । २०३८ सालदेखि नै पञ्चायती राजनीतिमा सक्रिय उनी राप्रपाको महामन्त्री, संगठन विभाग प्रमुख हुँदै अध्यक्ष बन्न सफल भए ।

लिङ्देन अध्यक्ष विजयी भएपछि असन्तुष्ट रहेका पूर्वअध्यक्ष कमल थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र नै लागेको आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए । २०७४ र २०७९ को निर्वाचनमा झापा–३ बाट निर्वाचित भएका लिङ्देन राप्रपालाई १४ सिटमा जिताउन सफल भए । लिङ्देन २०७९ मा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री भएका थिए । पछिल्लो समय उनको नेतृत्व क्षमतालाई लिएर पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ ।

  • रविन्द्र मिश्र

कुनै समय बीबीसी नेपाली सेवाका चर्चित पत्रकार रविन्द्र मिश्र २०७४ सालमा राजनीतिमा प्रवेश गरेका हुन् । सुरुमा आफ्नै नेतृत्वमा साझा पार्टी गठन गरेका उनले पछि उज्ज्वल थापा नेतृत्वको विवेकशील पार्टीसँग एकता गरी विवेकशील साझा पार्टीको संयोजक बने ।

थापाको निधनपछि मिलन पाण्डेसँग मतभेद बढ्दै गएपछि पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका मिश्रमाथि अवसरवादी चरित्र देखाएको आरोप लाग्ने गरेको छ । अहिले राप्रपामा रहेका उनी राजतन्त्रको पक्षमा चर्को रुपमा लागेका छन् ।

  • रमा सिंह

रमा सिंहले समाचार वाचिकाका रूपमा एक समय लोकप्रियता हासिल गरेकी थिइन् । करिब २५ वर्ष नेपाल टेलिभिजनमा उनले समाचार वाचन गरेकी थिइन् । राजतन्त्रको पक्षमा लागेपछि ज्यान मार्ने धम्की आएको भन्दै उनी अमेरिका पलायन भएकी थिइन् । उनी नेपाली महिला फुटबलको पूर्वकप्तान समेत हुन् । झण्डै एकदशक लामो अमेरिका बसाईपछि उनी नेपाल फर्किएकी थिएन् । उनले राजतन्त्र पुनर्स्थापनाको पक्षमा चर्को बहस गर्दै आएकी छन् ।

  • अस्मिता भण्डारी

विश्व हिन्दु महासंघकी अध्यक्ष रहेकी भण्डारी पचासको दशकपछि लेखनमा सक्रिय रहँदै आएकी छन् । लेखनबाहेक उनी अभिनय, गीत, कविता लेखन तथा पत्रकारितामा सक्रिय छिन् ।

  • हरिबहादुर बस्नेत

राजनीतिज्ञ हरिबहादुर बस्नेत पञ्चायतकालका मन्त्री हुन् । उनी २०४३ सालमा मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा परराष्ट्र तथा जलास्रोतमन्त्री थिए । उनी सुरुदेखि नै पञ्चायत तथा राजसंस्थाको हिमायती हुन् ।

  • धवलशमशेर राणा

धवलशमशेर राणा राप्रपाले गठन गरेको जनआन्दोलन परिचालन समितिका संयोजक हुन् । सुवेदी नेतृत्वको निर्देशक समिति अन्तर्गत गठित आन्दोलन परिचालन समितिको संयोजकसमेत राणालाई नै बनाइएको छ । २०७८ सालमा पार्टी महामन्त्री निर्वाचित भएका उनी सनातन हिन्दूराष्ट्र तथा राजसंस्थाको पक्षमा चर्को बहस गर्दै आएका छन् । पछिल्लो समय राप्रपाभित्र अध्यक्ष लिङ्देनसँग मतभेद बढ्दै गएको छ ।

  • डा. जगमान गुरुङ

धबल शमशेर नेतृत्वको निर्देशन समितिका प्रमुख सल्लाहकार रहेका डा. जगमान गुरुङ वरिष्ठ संस्कृतिविद् हुन् । नेपालको इतिहासबारे उनको राम्रो दखल छ । २००४ सालमा कास्कीमा जन्मेका गुरुङले २०३६ सालमा एमए प्रथम श्रेणीमा पास गरेका थिए ।

नेपाल एकीकरणमा गुरुङहरूको भूमिकासम्बन्धी उनको शोधपत्र निकै चर्चित छ । २०६६ साल माघ २१ गते उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा मानोनयन गरिएको थियो । २०७५ पुसमा केपी ओली सरकारले उनलाई प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको थियो । गुरुङ राजसंस्था पुनर्स्थापनाको पक्षमा खुलेर लागेका छन् । 

  • बुद्धिराज बज्राचार्य

२०६१ सालमा ज्ञानेन्द्र शाहको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बज्राचार्य राजसंस्थाको कट्टर हिमायती हुन् । 

  • डा. शास्त्रदत्त पन्त

पन्त विद्वान लेखक हुन् । उनी १९९७ साल वैशाख १९ गते बाग्लुङमा जन्मिएका थिए । हाल सामाखुसी निवासी उनी राष्ट्रवादी अभियानमा सक्रिय छन् । शास्त्रदत्तले स्थानीय स्वायत्त शासनमा विद्यावारिधी गरेका छन् ।

अहिले राष्ट्रको धर्म, संस्कार, संस्कृति, गौरव जोगाउने, राष्ट्रको स्वाधीनता र स्वतन्त्रता बचाउने तथा समुन्नत नेपाल कसरी बनाउने भन्ने विषयमा उनी निरन्तर सक्रिय छन् ।

  • डा.राजेश झा (अहिराज)

कुनै बेला पत्रकारितामा रहेका डा. राजेश झा (अहिराज) अधिवक्तासमेत हुन् । एक दशकअघि अहिराज मधेस मिडिया हाउसको सञ्चालक थिए । उनलाई केपी ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते मधेस प्रदेश प्रमुख नियुक्त गरेको थियो । २०७८ साउन ३२ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई सो पदबाट हटाएको थियो । प्रदेश प्रमुख हुँदा उनले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको पूर्णकदको फोटो राखेर चर्चामा आएका उनले कानुनमा स्नातक र मधेस मामिलामा विद्यावारिधि गरेका छन् ।

  • खेमराज सेढाईं

खेमराज सेढाईं कांग्रेस पृष्ठभूमिका पुराना  नेता हुन् । २०६२/०६३ मा कांग्रेस नेतृत्व राजतन्त्रलाई छाडेर गणतन्त्रको पक्षमा उभिएपछि उनले पार्टी परित्याग गरेका थिए । प्रखर वक्ता रहेका उनी राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय छन् l 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?