ईशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकी प्रदेशलाई हरायो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको टोलीले दोस्रो सफलता हात पारेको छ । बागमती प्रदेशले मंगलबार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा बागमती प्रदेशको यो दोस्रो जित हो । हालसम्म पाँच खेल खेलेको बागमती प्रदेश तीन खेलमा भने पराजित भएको छ । आफ्नो पाँचौँ खेल खेलेको गण्डकी प्रदेशको यो चौथो हार हो । गण्डकी प्रदेशले हालसम्म एक खेलमात्र जितेको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशको टोलीले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ८८ रन बनाएको थियो । जवाफमा गण्डकी प्रदेशले ४४ ओभरमै अलआउट हुनुअघि दुई सय १९ रनमात्र बनाउन सक्यो ।
जारी प्रतियोगितामा कुनै पनि टोलीले दुई सय ८८ रन बनाएको यो तेस्रो पटक हो । प्रतियोगितामा बनेको यो सबैभन्दा ठुलो स्कोर पनि हो । यसअघि नेपाल पुलिस क्लबले दुईपटक दुई सय ८८ रन बनाएको थियो ।
विभागीय टोली पुलिस क्लबले सबैभन्दा पहिले कोशी प्रदेशविरुद्धको खेलमा आठ विकेट गुमाएर दुई सय ८८ रन बनाएको थियो । त्यसपछि पुलिस क्लबले नै मधेश प्रदेशविरुद्धको खेलमा पनि दुई सय ८८ रन बनाएको थियो ।
मंगलबार गण्डकी प्रदेशविरुद्धको खेलमा बागमती प्रदेशका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान ईशान पाण्डेले ६९ रन बनाए । उनले ८२ बलको सामना गरी ६ वटा चौका पनि हिर्काए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका शुभ कंसाकारले पनि टोलीका लागि ५२ रनको योगदान गरे । उनले केवल ५१ बलको सामना गरी नौवटा चौका हिर्काए । सातौँ नम्बरमा क्रिज समाल्न आएका विपिन आचार्यले पनि अविजित ६३ रन बनाए ।
आक्रामक रुपमा प्रस्तुत भएका विपिनले केवल ४२ बलको सामना गरी दुई छक्का र सातवटा चौका हिर्काए । यसका अतिरिक्त बागमती प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान विवेक मगरले पनि ३४ रन बनाए । उनले ३७ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।
रिजन ढकाल २३ रनमा अविजित रहे । उनले २४ बलमा तीन चौका हिर्काए । कप्तान पृथु बास्कोटाले १६ र ओपनर आशुतोष घिरैयाले १४ रन जोडे । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पायो ।
गण्डकी प्रदेशका बलर अर्जुन कुमालले चार विकेट लिएका थिए । उनले सात ओभरमा एक मेडन राख्दै ४० रन खर्चिए । विपिन खत्री र सुवाष भण्डारीले पनि दुई–दुई विकेट हात पारे ।
विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको गण्डकी प्रदेशका लागि वंश क्षेत्रीले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । तेस्रो नम्बरमा क्रिज समाल्न आएका वंशले ५५ रन बनाए । उनले ९० बलको सामना गरी चार चौका पनि हिर्काए ।
ओपनर समिर कँडेलले पनि २६ रन बटुले । अमृत गुरुङ २० रन जोडे । गण्डकी प्रदेशलाई लक्ष्यसम्म पुग्न नदिन बागमती प्रदेशका बलर ईशान पाण्डे एक्लैले चार विकेट लिए । उनले ६ ओभरमा केवल २७ रन खर्चिए । साकार गजुरेलले पनि दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेलाई बूढानीलकण्ठमा र्याखर्याख्ती
-
आईजीपी थापा कस्ता चुनौतीको चाङमा छन् ?
-
लागत बढी तर उत्पादन कम हुँदा बढ्यो बाँझो जग्गा
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?
-
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
-
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो