मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

अर्जुन घर्तीको उत्कृष्ट अर्धशतकसँगै कर्णाली विजयी, कोशी प्रदेशको पाँचौँ हार

मङ्गलबार, ०५ चैत २०८१, १५ : ३८
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित हासिल गरेको छ । कर्णाली प्रदेशले मंगलबार खेलिएको खेलमा कोशी प्रदेशलाई एक सय २७ रनको फराकिलो अन्तरले हराएको हो । 

भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कोशी प्रदेशले भने ३५ ओभरमै अलआउट हुनुअघि ९१ रनमात्र बनाउन सक्यो ।

जितसँगै कर्णाली प्रदेश अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । हालसम्म पाँच खेल खेलेको कर्णाली प्रदेशले दुई जित र तीन हारको नतिजा निकालेको छ । कोशी प्रदेशको यो पाँचौँ हार हो । हालसम्म ६ खेल खेलेको कोशी प्रदेशले एक जितमात्र हात पार्न सकेको छ । 

कोशी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर ब्याट्सम्यान चिराग साहले सर्वाधिक २५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान चिरागले ५२ बलको सामना गरी चार चौका पनि हिकाए । 

अर्का ओपनर सकिब हकले १३ र कप्तान अंकित सुवेदीले १० रन बनाए । जारी प्रतियोगितामा तुलनात्मक रुपमा कमजोर देखिएको कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशी प्रदेशले अतिरिक्त रुपमा १० रन पाएको थियो । 

कर्णाली प्रदेशका बलर सुनिल धमलाले तीन विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । दीपेन्द्र रावतले पनि तीन विकेट कुम्ल्याए । उनले पाँच ओभरमा १३ रन खर्चिए । दिवान पुनले पनि दुई विकेट हात पारे । अनुज चनराले एक विकेट लिए । 

त्यसअघि, कर्णाली प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तीले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुनले अविजित ८८ रन बनाए । उनले ९५ बलको सामना गरी दुई छक्का र ११ चौका पनि हिर्काए ।

हिमांश शाहीले पनि टोलीका लागि ४६ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका हिमांशुले ७३ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काएका थिए । माथिल्लो क्रममा ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । 

निश्चल रावलले २०, प्रकाश जैसीले १८, ओपनर सुनिल धमलाले १३ र विपिन रावलले १० रन बनाएका थिए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पायो । कोशी प्रदेशका बलर विपिन महतोले तीन तथा दिपेश कँडेल र प्रकाश कार्कीले दुई–दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?