भारतको उक्साहटमा राजावादीको सक्रियता बढेको एमाले निष्कर्ष

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले भारतको उक्साहटमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनी पक्षधरले नेपालको गणतन्त्र कमजोर बनाउने उद्देश्यसहित चलखेल बढाएको निष्कर्ष निकालेको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै त्यस्तो निष्कर्ष निकालेको हो ।
‘पूर्वराजा शाह र उनी पक्षधरको पछिल्लो सक्रियता र चलखेल कसैको उक्साहट र सुनियोजित ढङ्गले गणतन्त्र कमजोर बनाउने प्रयास भइरहेको छ भन्ने एमालेको निष्कर्ष हो’, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले रातोपाटीसँग भनिन्, ‘कसैको उक्साहट नभएको भए यो बेलामा राजतन्त्र वा राजा फर्काउने भनेर गतिविधि बढ्ने थिएन ।’
गत फागुन ७ का अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति र २५ फागुनमा राजावादीहरूले गरेको प्रदर्शनपछि तरङ्गित बनेको नेपाली राजनीति स्थिर हुन सकेको छैन ।
पूर्वराजा शाह पोखराबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको बाक्लो भीड देखेका राजावादीहरू हौसँदै पुन राजसंस्था र हिन्दु राष्ट्र फर्काउन सकिने भन्दै पूर्वपञ्चहरु एकत्रित हुने प्रयास गरिरहेका छन् । त्यसका लागि उनीहरुले पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा समिति नै गठन गरेको बताएका छन् ।
यद्यपि सुवेदी नेतृत्वको समिति गठन हुँदा नहुँदै चर्को विवाद र असहमति प्रकट भइसकेको छ । राजावादीहरूले एकपछि अर्को गतिविधि बढाउन थालेपछि गणतन्त्र पक्षधर राजनीतिक दलहरूलाई नेपाली जनता भड्कन सक्ने भय बढेको छ ।
लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने राजावादी र पूर्वपञ्चहरुको प्रयास सफल हुन नसक्ने भएपनि जनतालाई राजतन्त्र र लोकतन्त्रको भिन्नताका सवालमा सूचित गराउन आवश्यक रहेको गणतन्त्रवादीको ठहर छ ।
‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरीत राजतन्त्र पटक–पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘जनताको फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा प्रस्ट छ ।’
एमालेले लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका उपलब्धिलाई अस्वीकार गर्ने, राजावादीहरूले एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने एवं त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास भइरहको ठहर गर्दै त्यस्तो प्रयास असफल पार्न सबै गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिनुको विकल्प नभएको पनि जनाएको छ ।
‘लोकतन्त्र स्थापनापछिको छोटो समयमै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल र भूकम्प लगायत अनेकौँ प्राकृतिक विपत्तिका बिचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि महत्त्वपूर्ण छन्’, एमालेले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘गर्नुपर्ने कामहरू धेरै बाँकी छन् ।’
सोही क्रममा नेकपा (एमाले)ले आम जनता र विशेष गरेर युवा पुस्तालाई सचेत गराउँदै एक्काइसौँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैमा हास्यास्पद, हानिकारक र निरर्थक विषय भएकोमा विशेष जोड दिएको छ ।
‘हाम्रो पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ’, एमालेले भनेको छ, ‘संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न हामी प्रतिबद्ध छौं । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन पनि हामी सङ्कल्पित छौं ।’
राजा र राजसंस्था इतिहास बनेको अवस्थामा राजतन्त्र फर्काउने र राजा राख्ने भनेर आएका विषयलाई एमालेले गम्भीर लिएको उपाध्यक्ष शाक्यको भनाइ छ । ‘फागुन २५ गते राजावादीको प्रदर्शनमा देखिएका तस्बिरहरूले नै पनि धेरै कुराको सङ्केत गर्छ’, शाक्यले रातोपाटीसँग भनिन्, ‘नेपालको गणतन्त्र नेपालीहरूकै लागि ल्याएको हो । अरू कसैका लागि ल्याएको होइन ।’ उनले नेपालको संविधान र चुच्चे नक्साप्रति एक पक्षको असन्तुष्टि रहेको भन्दै सोही पक्ष अहिले पनि चलखेल गर्न उद्यत रहेको बताइन् ।
यस्तो अवस्थामा व्यवस्थाका लागि लडेका राजनीतिक दलहरू नै परिवर्तनलाई सुदृढ गर्ने, नेपाललाई समृद्ध र सुदृढ बनाउनेतर्फ भन्दा पनि आन्तरिक किचलोमा रुमल्लिएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूलाई चलखेल गर्ने अवसर प्राप्त भएको एमालेको ठहर छ ।
‘गणतन्त्र पक्षधरहरूले पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै विकास र सुशासनमा जोड दिनुपर्ने मुख्य उद्देश्यलाई बिर्सेर विचलित भयो कि भन्ने देखिन्छ’, शाक्यले भनिन्, ‘सानातिना कुरामा नअल्झेर गणतन्त्र जोगाउन र देश बनाउन गणतन्त्रवादीहरू पनि एकताबद्ध हुन जरुरी छ ।’
राजावादीहरूका गतिविधिविरुद्ध संसदमार्फत नेताहरूले जनतालाई सम्झाउने,बुझाउने र सचेत गराउनेलगायतका काममा जोड दिनुपर्ने निष्कर्ष समेत निकालेको छ । ‘जनताको अधिकार खोसिन नदिन एमालेले संसददेखि टोल र वडासम्म पुगेर भएपनि सचेतना जगाउनुपर्छ भन्ने निष्कर्ष निकालेको छ’, शाक्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेलाई बूढानीलकण्ठमा र्याखर्याख्ती
-
आईजीपी थापा कस्ता चुनौतीको चाङमा छन् ?
-
लागत बढी तर उत्पादन कम हुँदा बढ्यो बाँझो जग्गा
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?
-
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी