१४४ वर्ष पुरानो क्लबमा ७० वर्षपछि फर्किएको खुसी

काठमाडौँ । युरोपियन फुटबलको पारखीका लागि नौलो नाम होइन, न्युक्यासल युनाइटेड । इङ्ल्यान्डका चर्चित क्लबहरूमध्ये न्युक्यासल युनाइटेड पनि एक हो । न्युक्यासल युनाइटेड आफैमा निकै लामो इतिहास बोकेको क्लब पनि हो ।
यो क्लबको स्थापन सन् १८४१ मा भएको हो । यस आधारमा न्युक्यासल युनाइटेडले एक सय ४४ वर्ष लामो इतिहास बोकेको छ । यति लामो इतिहास बोकेका क्लबहरू विश्व खेलकुदमा निकै कम हुन्छन् । तर, उपलब्धिका हिसाबले भने न्युक्यासल युनाइटेडको खासै चर्चा हुँदैन ।
समय–समयमा उत्कृष्ट प्रदर्शन गरे पनि समग्रमा यो क्लबले हासिल गरेको उपलब्धि निकै कम छ । तर, यतिबेला यो क्लब चर्चाको शिखरमा छ । न्युक्यासल युनाइटेडले भर्खरैमात्र इङ्लिस लिग कप (काराबाओ कप) को उपाधि चुमेर विश्व क्लब फुटबलमा आफूलाई चर्चाको विषय बनाएको हो ।
फाइनलमा आफूभन्दा निकै शक्तिशाली प्रतिद्वन्द्वीलाई हराएका लागि पनि यो उपाधि न्युक्यासल युनाइटेडका लागि अझ विशेष बन्न पुग्यो । न्युक्यासलले फाइनलमा लिभरपुलमाथि २–१ गोलको रोमाञ्चक जित हासिल गरेको हो ।
लन्डनस्थित वेम्बली स्टेडियममा खेल अवधिभर न्युक्यासल युनाइटेडले बलियो प्रतिद्वन्द्वी लिभरपुललाई निकै दबाबमा राखेको थियो । न्युक्यासलले खेलको दुबै हाफमा एक–एक गोल गर्यो । पहिलो हाफको अन्तिम समयमा न्युक्यासलका लागि डन बर्नले पहिलो गोल गरेका थिए ।
यसैगरी, निर्धारित समयको ५२औँ मिनेटमा एलेक्जेन्डर ईशाकले न्युक्यासलको अग्रता दोब्बर बनाएका थिए । खेल अवधिभर न्युक्यासलको दबाब झेलेको लिभरपुलले दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा एक गोल फर्काएको थियो । लिभरपुलका लागि फेड्रिको चिएसाले गोल गरेका थिए ।
न्युक्यासलले पहिलो पटक इङ्लिस लिग कप उपाधिको स्वाद चाखेको हो । यसको विपरित लिभरपुल सबैभन्दा बढी पटक यो प्रतियोगिताको उपाधि चुम्ने क्लब हो । लिरभपुलले हालसम्म १० पटक इङ्लिस लिग कपको उपाधि जितिसकेको छ ।
लिरभपुल यो प्रतियोगिताको साविक विजेता पनि हो । यसका अतिरिक्त लिभरपुल पाँचपटक यो प्रतियोगिताको उपविजेता पनि बनेको छ । त्यसैले पनि न्युक्यासलका लागि यो उपाधि यात्रा थप अविस्मरणीय बन्न पुग्यो ।
न्युक्यासले यसअघि दुईपटक उपाधिनजिक पुगेर चुकेको थियो । न्युक्यासल पहिलो पटक सन् १९७५–७६ सिजनमा इङ्लिस लिग कपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा अर्को बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले फाइनलमा न्युक्यासलाई स्तब्धः पारेको थियो ।
त्यसपछि एकैपटक सन् २०२२–२३ सिजनमा आएर न्युक्यासल यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । त्यतिबेला पनि न्युक्यासलको उपाधि चुम्ने सपना अधरै रहन पुग्यो । त्यो संस्करणको फाइनलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासलाई उपाधिबाट विमुख बनाएको थियो ।
न्युक्यासल र यो प्रतियोगिताबिच अर्को एउटा रोचक प्रसंग पनि छ । खासमा इङ्लिस लिग कप प्रतियोगिताको स्थापना न्युक्यासलको स्थापनाभन्दा निकै पछिमात्र भएको हो । इङ्लिस लिग कप सन् १९६० देखि सुरु भएको हो ।
न्युक्यासलले कुनै पनि प्रतिष्ठित प्रतियोगिताको उपाधि चुम्न ७० वर्षसम्म निरन्तर सँघर्ष गर्नु प¥यो । यसअघि, न्युक्यासलले सन् १९५५ मा अर्को प्रतिष्ठित प्रतियोगिता एफए कप जितेको थियो । सन् १९५४–५५ सिजनको फाइनलमा न्युक्यासलले म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराएको थियो ।
समयको लामो कालखण्डपछि कुनै पनि प्रतिष्ठित प्रतियोगिताको उपाधि चुमेकाले न्युक्यासका खेलाडीसँग प्रशिक्षक र पदाधिकारीहरु पनि निकै भावुक बनेका छन् । ‘७० वर्षपछि हामीले आफूलाई च्याम्पियन भनेर सम्बोधन गर्ने अवसर पाएका छौँ,’ न्युक्यासका कप्तान ब्रुनो गुइमारेजले यसो भनिरहँदा उनको आँखा आँशुले भरिएको थियो ।
खेलपछि न्युक्यासलका प्रशिक्षक एडी होवे पनि कम्ती खुसी थिएनन् । सन् २०२१ देखि न्युक्यासलको प्रमुख प्रशिक्षकको जिम्मेबारी समाल्दै आएका ४७ वर्षीय एडीले पनि पहिलो पटक क्लबलाई ठुलो सफलता दिलाएका थिए ।
उनले यो उपाधिलाई सफलताको सुरुवात भनेका छन् । ‘हाम्रा लागि यो भुल्नै नसक्ने क्षण हो । हाम्रासामु बलियो प्रतिद्वन्द्वी थियो । तर, हामीले हरेस खाएनौँ । हामीसँग बलियो आत्मविश्वास र उपाधिको चरम भोक थियो । हामी हाम्रा समर्थकहरुप्रति पनि आभारी छौँ,’ उनले भनेका छन् ।
उनले इङ्लिस लिग कपको उपाधि जित्दाको क्षण आफ्नो जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण भएको प्रतिक्रिया पनि दिए । पछिल्लो समय न्युक्यासल युनाइटेडमा साउदी अरबको लगानी भित्रिएको छ । त्यसैले सन् २०२१ पछि यो क्लब पुनः जुर्मुराउन थालेको छ ।
अहिले न्युक्यासल युनाइटेड इङ्लिस प्रिमियर लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सिधै च्याम्पियन्स लिगमा छनोट हुने दौडमा छ । जारी सिजनको प्रिमियर लिग तालिकामा यो क्लब छैटौँ स्थानमा आसिन छ । न्युक्यासलले यो सिजन २८ खेलबाट ४७ अंक बटुलेको छ ।
यो सिजनको लिगमा न्युक्यासलले १४ जित, पाँच बराबरी र नौ हारको नतिजा निकालेको छ । लिग तालिकामा २९–२९ खेल खेलिसकेका लिभरपुल (७० अंक) पहिलो, आर्सनल (५८ अंक) दोस्रो, नटिङ्घम फरेष्ट (५४ अंक) तेस्रो, चेल्सी (४९ अंक) चौथो र म्यानचेस्टर सिटी (४८ अंक) पाँचौँ स्थानमा छन् ।
लिग कपको उपाधि चुमेर न्युक्यासल युनाइटेडले यसपटक इजिप्टका प्रभावशाली स्ट्राइकर मोहम्मद सलाहलाई पनि नमिठो घाउ दियो । सन् २०१७ मा लिभरपुलमा आबद्ध भएका मोहम्मद सलाह यसपटक पनि महत्त्वपूर्ण उपाधिको स्वाद चाख्नबाट विमुख भए ।
सात दशकपछि ठुलो प्रतियोगिताको उपाधि जितेपछि ‘टुन आर्मी’ का समर्थकहरू पनि निकै उत्साही देखिए । न्युक्यासलले पछिल्लो पटक ठुलो प्रतियोगिताको उपाधि जित्दा यो क्लबका अधिकांश समर्थक त जन्मिएका पनि थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईजीपी थापा कस्ता चुनौतीको चाङमा छन् ?
-
लागत बढी तर उत्पादन कम हुँदा बढ्यो बाँझो जग्गा
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?
-
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
-
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?