मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

बागमतीले गण्डकी प्रदेशलाई दियो विशाल लक्ष्य, तेस्रो पटक बन्यो २८८ रन

मङ्गलबार, ०५ चैत २०८१, १२ : ५४
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार जारी खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि दुई सय ८९ रनको लक्ष्य दिएको छ । 

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशको टोलीले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ८८ रन बनाएको हो । 

जारी प्रतियोगितामा कुनै पनि टोलीले दुई सय ८८ रन बनाएको यो तेस्रो पटक हो । प्रतियोगितामा बनेको यो सबैभन्दा ठुलो स्कोर पनि हो । यसअघि नेपाल पुलिस क्लबले दुईपटक दुई सय ८८ रन बनाएको थियो ।

विभागीय टोली पुलिस क्लबले सबैभन्दा पहिले कोशी प्रदेशविरुद्धको खेलमा आठ विकेट गुमाएर दुई सय ८८ रन बनाएको थियो । त्यसपछि पुलिस क्लबले मधेश प्रदेशविरुद्धको खेलमा पनि दुई सय ८८ रन बनाएको थियो । 

मंगलबार जारी गण्डकी प्रदेशविरुद्धको खेलमा बागमती प्रदेशका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान ईशान पाण्डेले ६९ रन बनाए । उनले ८२ बलको सामना गरी ६ वटा चौका पनि हिर्काए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका शुभ कंसाकारले पनि टोलीका लागि ५२ रनको योगदान गरे । उनले केवल ५१ बलको सामना गरी नौवटा चौका हिर्काए । सातौँ नम्बरमा क्रिज समाल्न आएका विपिन आचार्यले पनि अविजित ६३ रन बनाए ।

आक्रामक रुपमा प्रस्तुत भएका विपिनले केवल ४२ बलको सामना गरी दुई छक्का र सातवटा चौका हिर्काए । यसका अतिरिक्त बागमती प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान विवेक मगरले पनि ३४ रन बनाए । उनले ३७ बलमा दुई छक्का र चार चौका प्रहार गरे । 

रिजन ढकाल २३ रनमा अविजित रहे । उनले २४ बलमा तीन चौका हिर्काए । कप्तान पृथु बास्कोटाले १६ र ओपनर आशुतोष घिरैयाले १४ रन जोडे । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पायो । 

गण्डकी प्रदेशका बलर अर्जुन कुमालले चार विकेट लिए । उनले सात ओभरमा एक मेडन राख्दै ४० रन खर्चिए । विपिन खत्री र सुवाष भण्डारीले पनि दुई–दुई विकेट हात पारे । 

मंगलबार नै भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई जितका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय १८ रन बनाएको हो ।

कर्णाली प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तीले उत्कृष्ट अर्धशतकीय पाली खेले । सातौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुनले अविजित ८८ रन बनाए । उनले ९५ बलको सामना गरी दुई छक्का र ११ चौका पनि हिर्काए ।

हिमांश शाहीले पनि टोलीका लागि ४६ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका हिमांशुले ७३ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काएका थिए । माथिल्लो क्रममा ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । 

निश्चल रावलले २०, प्रकाश जैसीले १८, ओपनर सुनिल धमलाले १३ र विपिन रावलले १० रन बनाएका थिए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पायो । कोशी प्रदेशका बलर विपिन महतोले तीन तथा दिपेश कँडेल र प्रकाश कार्कीले दुई–दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?