रूपान्तरणको व्यग्र पर्खाइमा स्वतन्त्र विद्यार्थी युनियन

भर्खरै त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भयो । कतिपय क्याम्पसमा पदाधिकारीहरू निर्विरोध रूपमा छनोट भइसकेका छन् भने प्रतिस्पर्धा भएका क्याम्पसका पनि धमाधम परिणाम आइरहेको छ ।
यो परिणाम सुन्दै गर्दा मेरो क्याम्पस जीवनको सम्झना आयो । म २०४१ सालमा पाटन बहुमुखी क्याम्पसमा भर्ना भएको । त्यसै वर्ष स्ववियुको निर्वाचन रहेछ । म पनि निर्वाचनमा उमेदवार भएँ । हाम्रो प्रतिस्पर्धा अत्यन्त मित्रवत् हुन्थ्यो । अखिल र नेविसंघमध्ये एक पक्षले जित्थ्यो । सौहार्दपूर्ण रूपमा निर्वाचन हुन्थ्यो, सबै बसेर मत गन्थ्यौँ र विजयीलाई अबिर माला लगाएर बधाई दिँदै छुटिन्थ्यौँ ।
यस लेखमा अहिलेको उच्च शिक्षाको अवस्था छोटो रूपमा प्रस्तुत गर्र्दै म क्याम्पस पढ्दाको स्ववियु र अहिलेको स्ववियुको बारेमा चर्चा गर्नेछु । अहिलेको स्ववियुलाई विद्यार्थीको सही प्रतिनिधि संस्था बनाउन के कसरी रूपान्तरण गर्न सकिन्छ ? त्यसबारे पनि केही छलफल गर्नेछु ।
- उच्च शिक्षाको अवस्था कस्तो छ ?
विश्वविद्यालय अनुदान आयोगको २०८०/८१ को तथ्याङ्क अनुसार, विश्वविद्यालय र चिकित्सा शिक्षा प्रतिष्ठान गरी जम्मा २४ वटा छन् । यसमध्ये १७ वटा पूर्ण विश्वविद्यालय हुन्, जसअन्तर्गत उच्च शिक्षा प्रदायक संस्था जम्मा एक हजार ४४२ छन् । तीमध्ये एक हजार ११५ क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गत पर्छन् । एक हजार ४४२ मा मात्र ५० क्याम्पसमा दुई हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् भने ५०५ क्याम्पसमा १०० भन्दा कम विद्यार्थी छन् ।
उच्च शिक्षामा हाल जम्मा ६ लाख ६१ हजार १२६ विद्यार्थी अध्ययनरत छन् । त्रिभुवन विश्वविद्यालयमा मात्र ७७.६१ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सन् २०१७ मा यो सङ्ख्या तीन लाख ७१ हजार १८४ थियो । यसले के देखाउँछ भने उच्च शिक्षामा युवाको आकर्षण बढेको छ । साथै कक्षा १२ पास गर्नेबित्तिकै सबै विद्यार्थी विदेश जान्छन् भन्ने भाष्य पनि गलत देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयको विद्यार्थी उत्तीर्ण दर ३०.१ प्रतिशत मात्र छ । नेपाल संस्कृत, पोखरा र सुदूरपश्चिम विश्वविद्यालयको उत्तीर्ण दर क्रमशः ३०.१ प्रतिशत, ४५ प्रतिशत र ४०.१ प्रतिशत छ । काठमाडौँ विश्व विद्यालयको भने ९० प्रतिशत छ । ७७.६१ प्रतिशत विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयको उत्तीर्ण दर ३०.१ प्रतिशत हुनु भनेको करिब दुई तिहाइ विद्यार्थी समयमा तह उत्र्तीण गर्न असमर्थ छन् । यसको परिणाम समय र अर्थ खेर गइरहेको छ ।
आर्थिक अवस्था कमजोर भएका आम नागरिकको पहुँच आङ्गिक र सामुदायिक क्याम्पसमा छ, जहाँ ७० प्रतिशत विद्यार्थी अध्ययन गर्छन् । बाँकी ३० प्रतिशत निजी क्याम्पसमा भर्ना भएका छन् । चार वर्षको स्नातक तह अभिभावकले आर्थिक रूपमा धान्न गाह्रो छ । विद्यार्थी कमाउँदै पढ्न खोज्ने तर रोजगारी नपाइने कारणले बिचमै पढाइ छाडेर सहर–बजार पस्ने र बिदेसिने दर बढ्दो छ ।
स्नातक उत्तीर्णहरूमा आधारभूत सीपको कमी नेपालमा मात्रै होइन अन्य देशहरूको पनि समस्या भएको छ । सामाजिक, सांस्कृतिक, पारिवारिक र समाजको मूल्य–मान्यता, नैतिकता, परिश्रम गर्ने बानी, श्रमलाई सम्मान गर्ने प्रवृत्ति, सकारात्मक सोचको विकासमा ह्रास आएको विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएका छन् ।
नेपालमा भएका २०३६, २०४६ वा २०६२/०६३ का सबै जनआन्दोलन विद्यार्थी सङ्गठन वा स्ववियुका नेताहरूले नै हाँकेका थिए । जनताको विश्वास र भरोसा विद्यार्थी नेताहरूमा थियो । अब यस्ता आन्दोलनको आवश्यकता छैन । अबको स्ववियुले विश्वविद्यालय शिक्षा सुधारका लागि शैक्षिक र प्राज्ञिक आन्दोलनको नेतृत्व गनुपर्छ त्यो पनि भद्र, शालीन र सौम्य भएर ।
- कस्तो थियो ऊबेला स्ववियु ?
चुनावी प्रतिस्पर्धामा विद्यार्थी सङ्गठनको प्रतिनिधिका रूपमा भाग लिए पनि विजयी भइसकेपछि पदाधिकारीहरू सम्पूर्ण विद्यार्थीका नेता बन्थे । विद्यार्थी भर्ना होस् वा छात्रवृत्तिमा सिफारिस गर्दा, अतिरिक्त क्रियाकलापमा भाग लिने विद्यार्थी छनोट गर्दा होस् वा स्ववियुले सञ्चालन गर्ने विभिन्न शैक्षिक तथा प्राज्ञिक कार्यक्रमहरूमा भाग लिने विषयमा होस् — सम्पूर्ण विद्यार्थीलाई समान व्यवहार गर्दथ्यो स्ववियुले । मेरो सङ्गठन वा अर्काको सङ्गठनको सदस्य भनेर पक्षपात हुँदैनथ्यो त्यसबेला ।
शैक्षिक समस्या वा आमूल परिवर्तनको मुद्दालाई लिएर राष्ट्रिय रूपमै सम्पूर्ण विद्यार्थी सङ्गठन घोषित रूपमा आन्दोलनमा उत्रिँदा क्याम्पस बन्द गरिन्थे तर अहिलेजस्तो सङ्गठनहरू बिचमा हुने सानातिना झगडामा पनि क्याम्पसमा तालाबन्दी गर्ने, क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुन्ने वा प्राध्यापक कुट्ने गरेको पटक्कै देख्न पाइँदैनथ्यो त्यसबेला ।
मलाई सम्झना छ, २०४२ सालमा सरकारको निरङ्कुशता विरुद्ध नेपाली कांग्रेसले सत्याग्रह सुरु गर्यो भने पाँच वामपन्थी दल मिलेर छुट्टै आन्दोलन थाले । त्यसबेला भारतले नेपालमा विषाक्त दुध पठायो र सरकारले स्विकार्यो । त्यसको विरुद्धमा हामी विद्यार्थी पनि आन्दोलनमा होमिएका थियौँ ।
त्यत्रो ठुलो आन्दोलनमा पनि हामीले क्याम्पस बन्द गरेनौँ र सार्वजनिक सम्पत्ति हानि–नोक्सानी पनि गरेनौँ । हामी विद्यार्थी सङ्गठनका प्रतिनिधि कक्षाहरूमा पढाउँदै गरेका प्राध्यापकसँग पाँच मिनेटको समय शालीन रूपमा माग्थ्यौँ अनि सरकारले गरेको अन्याय, अत्याचार र भारतको हेपाह प्रवृत्तिका बारेमा बोल्थ्यौँ र आन्दोलनमा भाग लिन विद्यार्थी साथीहरूलाई आह्वान गथ्र्यौं र बाहिरिन्थ्यौँ ।
कतिपय पञ्चायतका कट्टर समर्थक प्राध्यापकहरूले पनि हामीलाई समय दिनुहुन्थ्यो, हामी अनुशासित रूपमा ‘हस्’ भनेर हिँड्न खोज्थ्यौँ तर प्राध्यापकले हुन्न भन्दा भन्दै पनि कक्षाका विद्यार्थी हामी १० मिनेट उहाँको कुरा सुन्छौँ समय दिनुस् सर भन्थ्यौँ र हामी आन्दोलनका कुरा राख्थ्यौँ ।
विद्यार्थी सङ्गठनको प्रथम प्राथमिकता समग्र विद्यार्थीको पठनपाठनमा हुन्थ्यो । हामी विद्यार्थी नेताहरू पनि पढाइमा अब्बल थियौँ । त्यसैले क्याम्पस प्रशासन, प्राध्यापक सबैले नेताहरूलाई सम्मान, माया र श्रद्धा गर्थे । अत्यन्त संवेदनशील अवस्थामा बाहेक क्याम्पसमा ताला लगाएको मलाई याद छैन ।
त्यसबेला पनि स्ववियुमा उम्मेदवार हुनेहरू विभिन्न सङ्गठनका नेता नै हुन् तर उनीहरू पढाइमा अब्बल हुन्थे र नियमित विद्यार्थी हुन्थे । अपवादमा दशौँ वर्ष एकै तह र एउटै क्याम्पसमा राजनीति गरिरहनेहरू नभएका होइनन् तर ती ज्यादै न्यून थिए ।
विद्यार्थी नेताहरूको जीवनस्तर सादगी थियो । उनीहरू शालीन र सौम्य थिए । स्ववियुले कहिल्यै पनि क्याम्पसको प्रशासनिक कार्य, कर्मचारी नियुक्ति, सरुवा–बढुवामा हस्तक्षेप गर्दैनथ्यो । अझ भौतिक निर्माणका ठेक्का–पट्टा, क्याम्पसको खरिद प्रक्रिया आदिमा कहिल्यै चासो समेत राख्दैनथ्यो । स्ववियुमा भ्रष्टाचारको कुरा त सुनेकै थिएनौँ हामीले । क्याम्पसको पठनपाठनमा अवरोध गर्ने केही व्यक्ति आफ्नै सङ्गठनको भए पनि स्ववियुले कारबाही गरेका उदाहरण भेटिन्थे, त्यसबेला ।
फर्जी विद्यार्थी भन्ने त हामीले सुनेकै थिएनौँ । केही साथीहरू क्याम्पस भर्ना भएपछि लोकसेवा पास गरेर वा शिक्षकमा नियुक्ति भएर जिल्ला जाने गरेको र बिदाको समयमा क्याम्पस आउने र नियमित परीक्षा दिन भने पाइन्थ्यो । स्ववियु चुनावकै लागि भनेर भर्ना गर्ने तर पढ्न पनि नजाने र परीक्षा पनि नदिने झुन्ड त्यसबेला छँदै थिएन ।
- अहिले कस्तो छ त स्ववियु ?
अहिलेको स्ववियु वा विद्यार्थी सङ्गठन आफैँ अध्ययन गर्ने क्याम्पस महिनौँ ताला लगाउँछ । एकपछि अर्को ताला झुन्डिएको देखिन्छ क्याम्पसको मूल ढोकामा । स्ववियु र विद्यार्थी सङ्गठनको प्रतिस्पर्धा त क्याम्पस बन्द गर्नेमा छ अहिले । आफैँलाई पढाउने गुरुहरूलाई कुट्ने, कालोमोसो दल्ने, सामाजिक सञ्जालमा अनेकौँ गाली–गलौज गर्ने स्ववियु वा विद्यार्थी सङ्गठनको संवैधानिक हकजस्तो भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसको पठनपाठनको नियमितता गराउने, गुणस्तर अभिवृद्धि गर्ने, विद्यार्थीको ज्ञान–सीपको अभिवृद्धि हुने क्रियाकलापमा पटक्कै ध्यान दिँदैनन् । उनीहरूको ध्यान क्याम्पसमा नियुक्ति हुने कर्मचारी र प्राध्यापकमा भागबन्डा, जिल्ला–जिल्लामा मापदण्ड नपुगी खुलेका क्याम्पसको सम्बन्धन दिन लबिङ, क्याम्पसको शैक्षिक विकासमा गरिने भौतिक कामको ठेक्कापट्टामा भाग खोज्ने वा कमिसन लिनेतिर बढी गएको पाइन्छ ।
विडम्बनाको कुरा त अनैतिक क्रियाकलापमा संलग्न हुने, प्रहरीको कालो लिस्टमा पर्ने, गुन्डाका नाइके हुने आदि त विद्यार्थी नेताको चरित्र नै हो कि जस्तो भएको छ । विद्यार्थीको हकहितका लागि अन्य देशका विश्वविद्यालयमा पनि नाम जेसुकै भए पनि विद्यार्थीको प्रतिनिधिमूलक संस्था हुन्छ ।
२०५३ सालमा बेलायतको लिड्स विश्वविद्यालयमा म समेत नेपाली चारजना स्नातकोत्तर पढ्दै थियौँ । त्यसै वर्ष विश्वविद्यालयमा विद्यार्थी कल्याण परिषद्को (स्ववियु) निर्वाचन रहेछ । निवार्चनका लागि उम्मेदवार दिने दिन नजिकिँदै गर्दा त्यहाँ न केही हल्लाखल्ला थियो न टिकटको हानथाप, न फर्जी विद्यार्थीको पिर न त कुनै बन्द वा तालाबन्दी नै ।
उम्मेदवारी दिने समय आयो । सबैजसो विद्यार्थी भेला भयौँ, छलफल गर्यौँ र तहगत र सङ्कायगत प्रतिनिधित्व तथा लैङ्गिक र समावेशिता समेतलाई उम्मेदवार छनोटको मापदण्ड निर्धारण गर्यौँ ।
हामी चारजना नेपालीमध्ये एकजना साथीलाई उम्मेदवार बन्न सबै जसोको अनुरोध भयो । त्यहाँ हाम्रो न कुनै सङ्गठन थियो न त क्यापसमा हामीले कुनै सङ्गठनसँग निकटता कायम गरेका थियौँ ।
थियौँ त हामी पढाइमा अब्बल थियौँ । प्रत्येक सेमेस्टर उत्कृष्ट अङ्कसहित उत्तीर्ण गरेका थियौँ र विश्वविद्यालयमा नियमित उपस्थित हुन्थ्यौँ । यी सबै कुरा नजिकबाट नियालिरहेका अरु विद्यार्थी साथीले हामीलाई प्रतिनिधि बनाउन चाहे र हामीविना सङ्गठनको सदस्य, विनाटिकट स्ववियु पदाधिकारी हुन सक्षम भयौँ ।
बेलायतमा पनि त लेबर, टोरी, लिबरल डेमोक्र्याट लगायत दलहरू छन् र ती दलप्रति झुकाव राख्ने विद्यार्थी पनि छन् । तर विद्यार्थीको निर्वाचनमा न ती दलले हस्तक्षेप गरेको पाइयो न त विद्यार्थीले नै म यो दलको उम्मेदवार भनेको सुनियो ।
के हामी यस्तै किसिमको स्वतन्त्र, स्वभामानी र शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा मात्र समर्पित भई विद्यार्थी हकहितका लागि मात्र लड्ने स्वतन्त्र विद्यार्थी युनियन बनाउन सक्दैनाँै । मलाई लाग्छ यदि राजनीतिक दलले विद्यार्थी माथि राजनीति नगर्ने हो भने सकिन्छ ।
- अब रूपान्तरण हुने कसरी ?
सायद विद्यार्थी सङ्गठन र स्ववियुलाई समेत महसुुस भएर होला केही क्याम्पसमा रचनात्मक कार्यक्रमहरू हुन थालेका छन् । उदाहरणका लागि मीनभवन क्यापसमा नेविसंघले सफलतापूर्वक सम्पन्न गरेको अतिरिक्त क्रियाकलाप, नेविसंघ केन्द्रले आयोजना गरेको जय नेपाल कप क्रिकेट प्रतियोगिता, अखिलले गरेका विभिन्न शैक्षिक बहसहरू तथा अतिरिक्त क्रियाकलाप आदि कार्यक्रम प्रशंसनीय छन् तर यी मात्र पर्याप्त होइनन् ।
स्ववियुको अहिलेको प्रमुख सरोकार भनेको विश्वविद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि नै हो । शैक्षिक हकको सुनिश्चितता, प्राध्यापकको पेसागत विकास, पाठ्यक्रममा समयानुकूल सुधार, पठनपाठनमा नियमितता, पुस्तकालय प्रयोगशाला आदिको स्तरोन्नतितर्फ अहिलेका विद्यार्थी नेताको ध्यान जानु जरुरी छ । अनि मात्र विश्वमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक उत्पादन हुन्छन् हाम्रा विश्वविद्यालयबाट ।
मैले देखेको छु, उपप्राध्यापक भएकै दिनबाट राजनीतिक नियुक्ति लिने, विभिन्न संस्थाको परामर्शदाता हुने र विश्वविद्यालय टेक्दै नटेकी प्राध्यापकसम्म बढुवा भएर डिन वा रजिस्ट्रार वा उपकुलपतिको नियुक्ति लिएर विश्वविद्यालय भित्रिएका छन् केही पात्रहरू ।
हो, राजनीतिक दलले गरेका यस्ता हर्कतको जमेर विरोध गर । यस्ता पात्रहरू नियुक्ति लिएर आए भने पदको कुर्सीमा बस्न त के विश्वविद्यालयको आँगनमा पनि टेक्न नदेउ । तर हामीकहाँ फरक छ — यस्ता व्यक्ति वामपन्थी भए अखिल चुप, प्रजातन्त्रवादी भए नेविसंघ चुप ! यस्तो प्रवृत्तिलाई त्याग र निष्पक्ष बन ।
शैक्षिक प्रशासनमा अनियमितता भयो, परीक्षा समयमा भएन, परिणाम प्रकाशनमा ढिलाइ भयो भने प्रश्न गर, चिच्याउ तर कसैप्रति घृणा नफैलाउ । यति गर्दा पनि सुनेनन् भने भद्र अवज्ञा आन्दोलन गर तर क्यम्पस बन्द नगर र पढाइ नबिथोल ।
विश्वविद्यालयको आफ्नै सम्पत्ति तोडफोड नगर, शिक्षकलाई पिट्ने र कालोमोसो दल्ने काम नगर । क्याम्पसको चौरमा शालीन र सौम्य भएर अनशन बस । त्यसबेला क्याम्पस प्रशासन मात्र होइन तिमीसँग सरकार झुक्छ । सम्झ त कुनै बेला गोविन्द केसी एक्लैले सरकारलाई कतिपटक झुकाए ।
स्ववियु मातृ पार्टीहरूका लागि आन्दोलनमा लागिदिने र उनीहरूको निर्देशनमा क्याम्पसमा अवाञ्छित गतिविधि गर्ने होइन कि विद्यार्थीको हकहित र शैक्षिक सुधारमा लाग्नु जरुरी छ । अन्यथा विद्यार्थी र आमनागरिक माझ खस्किएकोे स्ववियुको साख झन्झन् गिर्ने कुरामा दुईमत छैन ।
भनिन्छ विद्या र विनयशीलता सँगसँगै आर्जन गरिन्छ । अर्थात् जसले विद्या आर्जन गरेको हुन्छ, ऊ विनयशील हुन्छ तर आजकल यो भनाइ उल्टो जस्तो लाग्न थाल्यो । सामान्य साक्षर नागरिक सौम्य र शालीन छन् तर क्याम्पस पढ्छु र नेता हुँ भन्नेहरू अराजक, अनियन्त्रित र छाडा छन् ।
महेन्द्र मोरङ, थापाथली, सुर्खेत क्याम्पस लगायत धेरै क्यापसमा कतै नेविसंघले कतै अखिलले तोडफोड र आगजनी गरे । त्यो पनि तिनै क्यापसमा पढ्ने विद्यार्थीहरू र स्ववियु पदाधिकारीको संलग्नतामा ।
अबको स्ववियु पदाधिकारीले यस्ता अवाञ्छित क्रियाकलाप किन हुन्छ, कसले गर्छ र कसरी नियन्त्रण गर्न सकिन्छ खोजी गर्ने र त्यस्ता क्रियाकलापको निराकरणमा विश्वविद्यालय, क्याम्पस प्रशासन र गृह प्रशासनसँग समन्वय र सहकार्य गर्नु जरुरी छ ।
अन्त्यमा
विद्यार्थी सङ्गठन र स्ववियु गुणस्तरीय शिक्षाका संवाहक बन्नुपर्छ । विश्वविद्यालयको नीति, योजना र कार्यक्रम बनाउन नवीनतम् सोचको उत्पादक हुनुपर्छ स्ववियु ।
नेपालमा भएका २०३६, २०४६ वा २०६२/०६३ का सबै जनआन्दोलन विद्यार्थी सङ्गठन वा स्ववियुका नेताहरूले नै हाँकेका थिए । जनताको विश्वास र भरोसा विद्यार्थी नेताहरूमा थियो । अब यस्ता आन्दोलनको आवश्यकता छैन । अबको स्ववियुले विश्वविद्यालय शिक्षा सुधारका लागि शैक्षिक र प्राज्ञिक आन्दोलनको नेतृत्व गनुपर्छ त्यो पनि भद्र, शालीन र सौम्य भएर । वास्तवमा स्ववियु समग्र विश्वविद्यालयको रूपान्तरण प्रक्रियाको सारथी बन्नु अत्यावश्यक छ । अनि मात्र विद्यार्थी सङ्गठन र स्ववियुको औचित्य आम विद्यार्थी माझ पुष्टि हुन्छ ।
आजको स्ववियुले शैक्षिक सुधार, सामाजिक रूपान्तरण र जलवायु परिवर्तनका मुद्दाहरू उठाउने र क्याम्पस भित्रका यावत् बेथितिविरुद्ध आवाज बुलुन्द पार्दै समग्र शैक्षिक र प्राज्ञिक वातावरण सङ्लो बनाउन नेतृत्वदायि भूमिका खेल्नुपर्छ ।
त्यसैले स्ववियुका नवनिर्वाचित पदाधिकारी भाइबहिनीहरू हो ! बदल विचार, दृष्टिकोण र कार्यशैली अनि सुधार तिम्रो बोली, व्यवहार र व्यक्तित्व । तिम्रै कारणले विश्वविद्यालयको समग्र गुणस्तरमा सुधार आउँछ र तिमीले अङ्गिकार गरेको नीति, योजना, कार्यक्रम र कार्यशैली भावी स्ववियु पदाधिकारीका लागि मानक बन्नेछ र तिमी उदाहरणीय विद्यार्थी नेता बन्नेछौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एएफसी एसियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं'
-
रोटरी सम्मेलन चैत ८ देखि
-
पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते
-
गाजामा युद्धविरामपछि इजरायलको सबैभन्दा ठुलो आक्रमण, कम्तीमा ३२६ जनाको मृत्यु
-
पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, प्रतिव्यक्ति ९० हजार माथि
-
१० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक