मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
राष्ट्रिय निकुञ्ज

निकुञ्जमा हात्ती हुँदैनथ्यो भने...

मङ्गलबार, ०५ चैत २०८१, १२ : ००
मङ्गलबार, ०५ चैत २०८१

धनगढी । २०५९ सालतिर भिनाजुसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जाँदा उग्रसेन रानालाई हात्ती देखेर निकै रमाइलो लाग्थ्यो । उग्रसेनको गाउँ राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ । उनका भिनाजु गैरसरकारी संस्थामा कार्यरत थिए ।

उग्रसेनले निकुञ्जमै भान्सेको काम सुरु गरे । एक वर्षसम्म रहरले काम गरेपछि उनले मासिक १ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने गरी माउतेको जागिर पाए । त्यसपछि उनले सरकारले पालेका हात्तीहरूको संरक्षणमा काम गर्ने अवसर पाए ।

सुरुमा उनले हात्तीको लिदी (दिसा–पिसाब) सफा गर्ने, घाँस काट्ने र हात्ती बाँधेर राख्ने ठाउँ सफा गर्ने काम गरे । सामान्यतया माउतेको काम यही हो । हात्तीको स्याहार गर्ने कर्मचारीलाई प्रायः माउते भनेर चिनिन्छ, तर यसभित्र पनि विभिन्न दर्जा छन् ।

हात्ती चलाउने कमाण्डरलाई ‘फणित’ भनिन्छ । उग्रसेन अहिले फणितका रूपमा कार्यरत छन् । फणितको जिम्मेवारीमा पर्यटकलाई हात्ती सफारी गराउने, निकुञ्जभित्रको अवस्था जाँच गर्न गस्ती जाने, हात्तीको स्वास्थ्य र खानपानको ध्यान राख्ने, गद्दी तथा डोरी–डण्डी मिलाउनेजस्ता काम पर्छ । साथै हात्तीले दिनभर कति हिँड्यो, के खायो, के गर्न सक्यो, के गर्न सकेन भन्ने विषय जाँच गर्ने जिम्मेवारी पनि फणितकै हुन्छ ।

फणितको मातहतमा रहने ‘पछुवा’ ले हात्ती चराउने, दाउरा चिर्ने र हात्ती चलाउने काम गर्छ । माउतेको मुख्य काम हात्तीको लिदी र बस्ने ठाउँ सफा गर्ने, खाना पकाउने, र वरिपरि सरसफाइ राख्ने हुन्छ ।

धनगढीका प्रताप रानाले पनि २०७२ सालदेखि हात्तीको स्याहार गर्ने काम गर्दै आएका छन् । उनका अनुसार यो काम गर्न शैक्षिक योग्यता आवश्यक पर्दैन तर हात्ती स्याहार गर्ने सिप भने हुनुपर्छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरिया हात्तीसारमा फणित, पछुवा र माउते गरी १७ जना कर्मचारी हात्तीको स्याहारमा खटिएका छन् । उनीहरू बिहान ४ बजे नै उठेर घाँस काट्न जङ्गल जान्छन् । पुस–माघतिर जङ्गलमा घाँस कम पाइने भएकाले त्यस्तो बेला राति २ बजे नै जङ्गल जानुपर्ने हुन्छ ।

‘बिहान उज्यालो हुनु अघिसम्म घाँस काटेर सक्नुपर्छ । डाले, पिपलजस्ता हात्तीले मन पराउने घाँस काटेर ल्याउने गर्छौँ,’ प्रतापले भने ।

उनीहरू एउटा हात्तीमा दुई जना चढेर घाँस काट्न जङ्गल जान्छन् । हात्तीले पुरानो घाँस खान रुचाउँदैन, उसलाई जङ्गलका ताजा पात मनपर्छ ।

प्रत्येक दिन एउटा हात्तीका लागि पाँच क्विन्टल घाँस काट्नुपर्छ । सरकारबाट दिइने पोषणयुक्त खाना पनि हात्तीलाई खुवाइन्छ ।

‘हात्तीको पोषण खानामा कुची (त्यान्द्रो भएको घाँसको डल्लो) बनाउनु पर्छ । दैनिक कुची तयार गर्न ३ सय क्विन्टल घाँस, १५ किलो धान, १.५ किलो गुड र २५ ग्राम नुन मिसाउनुपर्छ,’ प्रतापले भने ।

पोषण खानासँगै एउटा हात्तीले अरू थप २ सय क्विन्टल घाँस पनि खान्छ ।

हात्ती बिहान ४ बजे जङ्गल चरन गर्न जान्छन् र बेलुका ४ बजे फर्किन्छन् । फर्केपछि पनि एक–दुई हाँगा घाँस खुवाइन्छ । बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म पोषणयुक्त खाना दिइन्छ ।

हात्ती राति करिब ४ घण्टामात्र सुत्छ । जङ्गल जाँदा खोला, ताल भेटेमा आफैँ नुहाउने गर्छ । ‘खानपान राम्रो भए हात्ती ८० वर्षसम्म पनि बाँच्न सक्छ,’ प्रतापले भने ।

जङ्गल गस्ती, गैँडा र बाघ गणना, चोरी सिकारी नियन्त्रण, र विपद् व्यवस्थापनमा हात्तीको महत्त्वपूर्ण भूमिका छ । ‘हात्तीविना जङ्गल गस्ती सम्भव छैन । गैँडा, बाघको गणना गर्न पनि हात्तीकै सहारा चाहिन्छ,’ प्रतापले भने ।

कोरोना महामारीअघि यहाँ पर्यटकीय हात्ती सफारी पनि चल्ने गरेको थियो, तर अहिले भने रोकिएको छ । वर्षायाममा बाढी आएको बेला जङ्गलमा हिँड्न सकिँदैन, त्यसबेला पनि हात्ती नै प्रमुख यातायातको माध्यम बन्छ ।

केही दिनअघि मात्रै कञ्चनपुरमा मानिसमाथि आक्रमण गर्ने बाघको खोजी रातभर हात्तीको सहारामा गरिएको थियो ।

‘हात्तीले खानेमात्र होइन, सरकारको महत्त्वपूर्ण सम्पत्ति संरक्षण र आयस्रोत बढाउने काम पनि गरिरहेको छ,’ प्रतापले भने । हात्ती स्याहार गर्नेहरूलाई हात्तीसँग घुलमिल हुन कम्तीमा डेढ वर्ष लाग्छ ।

‘जति माया गर्‍यो, हात्तीले त्यहीअनुसार आदेश मान्छ,’ प्रतापले भने, ‘तर, आदेश नमाने राति दुई–चार लठ्ठी हान्नुपर्छ । आफूमाथि लठ्ठी प्रहार भए हात्ती रिसाउने, दुःख मान्ने र मौका पाए बदला लिनसक्ने उनले सुनाए ।

उग्रसेन राना जब माउते भए, शुक्लाफाँटा हात्तीसारमा ६ हात्ती थिए । २०६४ सालमा एउटा बच्चा जन्मियो— ‘नारायणप्रसाद’ । त्यसपछि हात्तीको संख्या ७ पुग्यो । बिचमा २ हात्ती मरे ।

२०७९ मा चितवन राष्ट्रिय निकुञ्जबाट आमा र बच्चा गरी २ हात्ती ल्याइए । शुक्लाफाँटामै अर्को बच्चा जन्मिएपछि अहिले यहाँ ९ हात्ती छन्– ५ भाले र ४ पोथी । पिपरिया पोस्टमा श्रुतीकली, सीमसारगत, शेषचन्द्रगज, शुक्लाकली, नारायणीकली, लवप्रसादलाई राखिएको छ । यस्तै शुक्ला पोस्टमा नारायणप्रसाद, सिद्धप्रसादलाई राखिएको छ । मालुमेला पोस्टमा रुपकलीलाई राखिएको छ ।

२०८० सालमा फेरि चितवनबाट ‘सीमसारगत’ नामको हात्ती ल्याइयो । तर, हालैका वर्षमा जङ्गली र हात्तीसारमा रहेका हात्तीहरू मानवजस्तै विभिन्न रोगबाट प्रभावित हुन थालेका छन् ।

‘लम्पीस्किन रोगको जोखिम बढेको छ, किनभने हात्तीसार नजिक छाडा पशुचौपाया आउने गर्छन्,’ स्याहार गर्नेहरू भन्छन् ।

पहिले हात्ती बिरामी भए उपचारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज लैजानुपर्थ्यो । उग्रसेन राना नारायणप्रसाद जन्मिँदा र शारदाकली बिरामी पर्दा दुई वर्ष बर्दियामै बसेका थिए ।

‘शारदाकलीलाई क्षयरोग (टीबी) लागेको थियो । अहिले भने यहाँ नै उपचारको व्यवस्था छ,’ उग्रसेनले भने । मानिसबाट हात्तीमा रोग सर्ने जोखिम छ ।

हात्तीको पाइतालामा समस्या देखियो, दिसापिसाब असामान्य भयो भने ऊ बिरामी भएको सङ्केत मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप

छुटाउनुभयो कि ?