मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

आरती मण्डल : रेडियो टू ‘राजागञ्ज’

मङ्गलबार, ०५ चैत २०८१, १० : ३७
मङ्गलबार, ०५ चैत २०८१
  • सरोज यादव

जनकपुर । जनकपुरधामकी आरती मण्डलले वर्षौंदेखि अरूका कथाहरू रेडियो तरङ्गमार्फत स्रोतासम्म पुर्‍याउँदै आएकी थिइन् । यतिबेला उनी आफैँ एउटा प्रेरणादायी कथा बनेकी छन् ।

रेडियो पत्रकारिताबाट अभिनयमा प्रवेश गरेकी आरतीले नेपाली फिल्म ‘राजागञ्ज’ मार्फत ठुलो पर्दामा ‘डेब्यु’ गरेकी छन् ।

शुक्रबारदेखि प्रदर्शनमा आएको राजागञ्ज मधेसको यथार्थमा आधारित फिल्म हो, जसले दुई बालक अपहरणपछि उनीहरूको खोजीमा लागेको प्रहरीको संघर्षलाई देखाउँछ ।

मधेसको समाज, संस्कार र परिवेशलाई उजागर गर्ने यस फिल्ममा आरतीको अभिनयले दर्शकहरूको ध्यान तानेको छ ।

रेडियो स्टुडियोकै संसारमा रमाइरहेकी आरती अभिनय यात्रामा आउनु संयोगमात्रै भएको बताउँछिन् । ‘जनकपुरमा फिल्म छायाङ्कन हुँदै थियो । मधेसी पात्रका लागि कलाकारको खोजी भइरहेको थियो । अडिसन दिने मौका पाएँ । अभिनय मेरो लागि नयाँ भए पनि निर्देशकको टिमले मलाई छनोट गर्‍यो,’ उनले भनिन् ।

rajagung

यसअघि नाटक लेखन र डबिङमा संलग्न रहेकी उनले पहिलो पटक क्यामेराको अगाडि अभिनय गरेकी हुन् । ‘अभिनयको पहिलो अनुभव निकै रोचक रह्यो । अडिसन दिँदा पत्रकारको भूमिका पाउँछु कि भन्ने लागेको थियो तर मेरो अभिनय हेरेर फरक भूमिका दिइयो,’ उनले भनिन् ।

‘राजागञ्ज’ नेपाली फिल्म उद्योगमा महिलाप्रधान कथासँगै सामाजिक यथार्थको ऐना बनेको छ । सामान्यतया नेपाली फिल्म उद्योग पुरुष केन्द्रित हुने गर्छ तर निर्देशक दीपक रौनियारले सात जना महिला पात्रमार्फत फिल्मलाई अगाडि बढाएका छन् ।

यस फिल्ममा आरतीसँगै आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, निकिता चन्डक, पुष्पा यादव र पशुपति राईजस्ता कलाकारहरूको प्रमुख भूमिका छ । महिला प्रधान फिल्म व्यावसायिक रूपमा सफल हुँदैनन् भन्ने धारणालाई चुनौती दिँदै ‘राजागञ्ज’ले फरक प्रयोग गरेको छ ।

फिल्ममा दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठजस्ता कलाकार सहायक भूमिकामा छन् ।

आरती पत्रकारितालाई निरन्तर अघि बढाउने सोचमा छिन्, तर अभिनयलाई पनि अवसरका रूपमा लिइरहेकी छन् । ‘राम्रो प्रस्ताव आए अभिनय गर्नेछु, तर पत्रकारितालाई कहिल्यै छोड्ने छैन,’ आरतीले भनिन् ।

आरती मण्डलको रेडियो पत्रकारिताबाट नेपाली फिल्म उद्योगसम्मको यात्रा धेरैका लागि प्रेरणादायी बन्न सक्छ । ‘राजागञ्ज’ले न केवल मधेसको कथा सुनाउँछ, नेपाली फिल्म उद्योगमा महिलाहरूको सशक्त भूमिकालाई पनि नयाँ उचाइमा पुर्‍याउने सम्भावना राख्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?