मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विराटनगरमा गुण्डागर्दी सुरु

मध्यरातमा सम्राट् क्यासिनो बाहिर एमाले नेताको गुण्डागर्दी, घटना गुपचुप राख्न प्रहरी नै सक्रिय

एमाले मोरङका नेता किरण लामाले प्रहरीकै सामुन्ने हानेका थिए निकेश गिरीलाई मुक्का
मङ्गलबार, ०५ चैत २०८१, ०८ : ५५
मङ्गलबार, ०५ चैत २०८१

विराटनगर । विराटनगर–११ स्थित रत्ना होटलमा संचालित सम्राट् क्यासिनोमा छिर्न जाने र छिर्न नदिनेबिच आइतबार मध्यरातमा झडप भएको घटना प्रहरीकै मिलेमतोमा गुपचुप राखिएको खुलेको छ । आइतबार राती १२ बजे एमाले मोरङका जिल्ला सदस्य समेत रहेका किरण लामासहितको टोली होटलमा संचालित सम्राट् क्यासिनो जान खोजेका थिए । 

तर, उनलाई रोक्न खोजेपछि लामा पक्ष र क्यासिनोका सञ्चालक समेत रहेका गुण्डागर्दीको छवि बनाएका अभिषेश गिरी पक्षबिच मुक्कामुक्की भएको पाइएको हो । 

क्यासिनोमा नेपालीलाई खेल्न प्रतिबन्ध लगाइएको छ । तर, क्यासिनोभित्र अभिषेक गिरीलगायत करिब १०–१२ जना नेपाली क्यासिनो खेलिरहेका थिए । सोही समयमा लामा सहित ४–५ जनाको समूह मादक पदार्थ सेवन गरि क्यासिनो छिर्न खोजेका थिए । क्यासिनोमा छिर्न पाउनुपर्ने अडानसहित लामाको टोलीले हो–हल्ला गर्न थालेपछि वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक राजेश दत्तको टोली त्यहाँ पुग्यो । 

प्रहरी र सुरक्षा गार्डले पनि लामालाई भित्र छिर्न नदिएपछि लामाले अभिषेक गिरीका भान्जा पर्ने निकेश गिरीलाई मुक्का हानेका थिए । त्यसपछि अभिषेक गिरीको समूह बाहिर निस्किएर लामामाथि सामूहिक आक्रमण गरेका थिए । त्यसक्रममा लामाले फूलको गमलाले गिरीको टाउको हानेर चोट लगाएको स्रोतको दाबी छ । गिरीले टाउकोमा टाँचा लगाएको उक्त स्रोत बताउँछ ।

यसअघि पनि लामासहित विराटनगरका रेगन कँडेलको समूह रत्ना होटल भित्रको सम्राट् क्यासिनमा जाने गरेका थिए । भित्र प्रवेश गरेर क्यासिनो खेल्न आएका मान्छेहरूमाथि हातपात गरिदिन थालेपछि लामासहितको टिमलाई क्यासिनो सञ्चालक गिरीले प्रवेशमा रोक लगाएका थिए । नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरेको भएपनि उनीहरू सहित विराटनगरका केही मारवाडी सामुदाय र स्वास्थ्य क्षेत्रका व्यक्तिहरू नियमित विराटनगरको क्यासिनो जाने गरेको स्रोत दाबी गर्छ । 

‘आइतबार मध्यरातमा लामासहित कँडेल र उनका केटाहरू सम्राट् क्यासिनोमा प्रवेश गर्न खोजेपछि क्यासिनोमा काम गर्दै आएका निकेशले गेटमा रोकेका थिए । त्यसपछि लामाले एक मुक्का ठोके । लगत्तै गिरीका केटाहरू पनि प्रतिकारमा उत्रिए । लामासहित उनीहरूको केटाहरूमाथि पनि आक्रमण भयो,’ घटनास्थलमा पुगेका एक जना प्रत्यक्षदर्शीले भने, ‘वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक राजेश दत्तको टोलीले झगडा नियन्त्रण गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरिया र वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठसहित टोली नै क्यासिनोमा पुगेका थिए । त्यसबेलासम्म लामाको समूह भागिसकेको थियो ।’

झडपमा परेर लामा र गिरी दुवै जनालाई चोट लागेको बताइएको छ । क्यासिनो सञ्चालक गिरीले लामा विरुद्ध मोरङ प्रहरीमा सोमबार उजुरी दिएका छन् । लामाको श्रीमतीले पनि गिरीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । गिरीको समूहले मध्यरातमै लामाको घरमा पुगेर उनकी श्रीमतीलाई धम्की दिएको स्रोत बताउँछ ।

प्रहरीले दुवै जाहेरी र घटनाको विषयमा अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले बताए । ‘क्यासिनो बाहिर दुई समूहको झगडा भएको रहेछ । त्यसविषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । जाहेरी दुवै समूहबाट आएको छ । अहिले हामीले घटनाको सिसी टिभीलगायतका विभिन्न पाटोबाट अनुसन्धान भइरहेको छ,’ डिएसपी जोशीले भने । प्रहरीकै सामुन्ने हानाहान भएको यो घटनामा संलग्नलाई भने प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । 

रेगन कँडेल क्यासिनो भित्र र बाहिर पटक पटक झगडामा मुछिने गरेका छन् । यसअघि पनि कँडेलले तरबार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका थिए । विराटनगर– ११ बसपार्कमा राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर १२ का विजय कामतलाई तरबार प्रहार गरेर घाइते बनाए । कामतको त्यसबेला हातमा गहिरो चोट लागेको थियो । प्रहरीले राति नै कँडेललाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा म्याद थप गरेको थियो । त्यसपछि उनी अदालतबाट धरौटीमा रिहा भए । 

यसअघि पनि मध्यरातमा विराटनगर सम्राट् क्यासिनोमा जुवा खेलर बाहिरिने क्रममा झगडा हुँदा उनी घाइते भएका थिए । २०८० पुस २६ गते ‘सम्राट्’ क्यासिनोबाट निस्किने क्रममा कँडेल र विक्रम थपलियाबीच झडप भएको थियो । झडपमा परी कँडेल घाइते भएका थिए । पछि थपलियालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका थपलिया पनि अदालतबाट धरौटीमा छुटेका थिए ।

क्यासिनोमा निर्बाध नेपाली !

विराटनगरको दुई वटा क्यासिनामो नेपालीको निर्बाध रुपमा प्रवेश गरेको गरेको छ । विराटनगरमा होटल बिगमा सञ्चालित च्याम्पियन जोन प्रा.लि. (क्यासिनो)  र रत्ना होटल भित्रको सम्राट् क्यासिनो सञ्चालनमा छन् । नेपालीलाई क्यासिनो प्रवेशमा निषेध गरेपनि विराटनगरका स्वास्थ्य, मारवाडी समुदायका केही व्यक्तिहरू नियमित जस्तो क्यासिनो जाने गरेको स्रोत दाबी गर्छ । ‘प्रहरीले कडाइ नगरिदिँदा स्वास्थ्य क्षेत्रका व्यक्तिहरूदेखि मारवाडी समुदायका युवा व्यवसायी र मधेसी समुदायका व्यापारिक घरानाका युवाहरू क्यासिनोको जाने गरेका छन्,’ नियमित क्यासिनो जाने ती व्यक्तिले भने, ‘सार्वजनिक ढङ्गले क्यासिनोले डुबायो भन्न सक्ने अवस्था पनि छैन । नभन्दा पनि क्यासिनोमा गएर पैसा सकियो । व्यापार चौपट भयो ।’

मेसिनबाट खेलाउनु पर्ने क्यासिनो तास र कौडाको रुपमा हातैले खेलाउने गरेको पनि बताइन्छ । क्यासिनो नियमावलीमा अटोमेटिक मेसिनमा मात्रै खेलाउन पाइने नियम छ । उता, रत्ना होटल भित्र रहेको सम्राट् क्यासिनोका सञ्चालक अभिषेक गिरीले क्यासिनोमा नेपाली नआएको दाबी गरे । 

क्यासिनो सञ्चालन नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुरबापत १० लाख रुपैयाँ बुझाउनुपर्छ भने आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा त्यस्तो क्यासिनो कम्पनीले ५ लाख रुपैयाँसहित विभागमा निवेदन दिनुपर्छ ।

इजाजतपत्र दस्तुरका लागि भने ठुला क्यासिनोका लागि २ करोड रुपैयाँ र साना क्यासिनोका लागि एक करोड रुपैयाँ लाग्ने व्यवस्था सोही नियमावलीमा गरिएको छ । तर, क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले निर्धारित अर्थात् तोकिएको एक वर्षको रोयल्टी रकम बराबरको बैंक ग्यारेन्टी विभागमा बुझाउनुपर्छ । 

तर, स्रोतले भने क्यासिनोमा नेपालीले सहजै प्रवेश गराउन प्रहरीकै मिलेमतो रहेको दाबी गर्छ । क्यासिनोमा नेपालीहरू छिर्ने गरेको जानकारी भएपनि प्रहरीले सूचना दिएर मात्रै छापा मार्ने गरेको उक्त स्रोतको भनाइ छ । प्रहरीले क्यासिनोनामा नेपाली प्रवेश गराएवापत मासिक असुली गर्ने गरेको स्रोतको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप

छुटाउनुभयो कि ?