लाइसेन्स दिने भनिएपछि कर्मकाण्ड र ज्योतिष कक्षा लिनेको बढ्यो भीड, ६ महिनाको शुल्क १५ हजार

काठमाडौं । पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा नै लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड बढेको छ ।
प्रशिक्षण लिन चाहनेको लाम लाग्न थालेपछि चैतदेखि छ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरू समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनादेखि प्रशिक्षण दिन थालिएको हो । समितिमा आफैँ खोजी गर्दै करिब तीन दर्जन प्रशिक्षार्थी आएका समितिले जनाएको छ ।
प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गरिएको उनले जानकारी दिए । ज्योतिष प्रशिक्षण लिन जनजाति र दलित पनि आउने गरेका समितिले जनाएको छ ।
‘कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ । कर्मकाण्ड प्रशिक्षण लिने धेरै भने ब्राह्मण समुदायका हुने गरेका छन्’, ढुङ्गेलले भने । उनका अनुसार छ महिने प्रशिक्षणको १५ हजार शुल्क तोकिएको छ । यसमा थप परीक्षा शुल्क पनि लाग्ने छ ।
कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि लाइसेन्स उपयुक्त हुने भएकाले सोहीअनुसार तयारी भइरहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । उनका अनुसार पुराण वाचन गर्न चाहने पण्डितका लागि वाल्मीकि विद्यापीठले यही चैतदेखि एक वर्षे प्रशिक्षण सुरु गरेको छ ।
यो प्रशिक्षणमा भाग लिने आउनेको पनि सङ्ख्या बढेको छ । पुराण वाचन शास्त्रीय विधिअनुसार नभइरहेको गुनासो बढ्न थालेपछि विद्यापीठका प्राध्यापकहरुको सक्रियतामा यो प्रशिक्षण सुरु गरिएको वाल्मीकिका प्राचार्य अच्युतप्रसाद लामिछानेले बताए । उनका अनुसार दैनिक एक घण्टा एक वर्षसम्म प्रशिक्षण दिएपछि प्रशिक्षार्थीले शास्त्रीय विधिअनुसार पुराण वाचन गर्नसक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने निर्णय
-
ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सम्पन्न, ४० प्रतिशत मतदान
-
निजी स्वार्थ त्यागेर सामूहिक भावनाका साथ नागरिक सेवामा समर्पित हुनु जरुरी : प्रहरी महानिरीक्षक थापा
-
थापाथली क्याम्पसमा मतगणना सुरु
-
रमाइलो क्याम्पसको स्ववियु सभापतिमा कार्की विजयी
-
ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी मतदानको प्रयास, एक जना पक्राउ