प्रधानमन्त्री मोदीको टिप्पणीपछि चीनले भन्यो– ‘ड्र्यागन–हात्ती नृत्य’

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पोडकास्ट अन्तर्वार्तामा चीन–भारत सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सकारात्मक टिप्पणीको प्रशंसा गर्दै आपसी सफलतामा साझेदार हुनु र ‘ड्र्यागन–हात्ती नृत्य’ सहयोग प्राप्त गर्नु दुई देशका लागि एक मात्र सही विकल्प भएको बताएकी छन् ।
लेक्स फ्रिडम्यान पोडकास्टमा प्रधानमन्त्री मोदीको हालैको टिप्पणीमा मिडियालाई सम्बोधन गर्दै माओ निङले चीन भारतसँग मिलेर आफ्ना नेताहरूद्वारा हासिल गरिएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन गर्न, कूटनीतिक सम्बन्धको ७५ औँ वार्षिकोत्सवलाई विभिन्न क्षेत्र र तहहरूमा आदानप्रदान र सहकार्य अघि बढाउने अवसरका रूपमा लिन तथा चीन–भारत सम्बन्धको स्वस्थ र स्थिर विकासलाई बढावा दिन इच्छुक रहेको बताउनुभएको ग्लोबल टाइम्सले जनाएको छ ।
ग्लोबल टाइम्सका अनुसार माओले चीन–भारत अन्तरक्रियाको दुई हजार वर्षको इतिहासमा मैत्रीपूर्ण आदानप्रदान र आपसी शिक्षा मुख्यधारा रहेको र यसले विश्व सभ्यता र मानव प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याएको बताइन् ।
गत वर्ष अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसको कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए । एआई अनुसन्धानकर्ता लेक्स फ्रिडम्यानसँगको आइतबारको पोडकास्टमा प्रधानमन्त्री मोदीले एक अर्काबाट सिक्ने र बुझ्ने महत्त्वलाई जोड दिँदै चीनसँग भारतको सम्बन्धबारे आशावाद व्यक्त गरेका थिए ।
चलिरहेको सीमा विवादका बावजुद प्रधानमन्त्री मोदीले आफूहरू बीच द्वन्द्वको कुनै वास्तविक इतिहास नभएको उल्लेख गर्दै दुई राष्ट्रबिचको प्राचीन सांस्कृतिक र सभ्यताको सम्बन्धलाई स्वीकार गरेका थिए ।
उनले प्रतिस्पर्धा कहिल्यै द्वन्द्वमा परिणत नहुने कुरामा जोड दिँदै दुई देशबिच स्वस्थ प्रतिस्पर्धाका लागि पनि वकालत गरेका थिए ।
यसबाहेक प्रधानमन्त्री मोदीले सीमामा सामान्य अवस्थामा फर्कने कुरा स्वीकार गरे । दुई राष्ट्रले अब सन् २०२० भन्दा पहिलेको अवस्था पुनःस्थापित गर्न काम गरिरहेका छन् ।
‘यो सत्य हो कि हामीबिच सीमा विवादहरू चलिरहेका छन् । र सन् २०२० मा सीमामा भएका घटनाहरूले हाम्रा देशहरूबिच उल्लेखनीय तनाव सिर्जना गरेका थिए । यद्यपि चीनका राष्ट्रपति सी जिनपिङसँगको मेरो हालैको भेटवार्तापछि हामीले सीमामा सामान्यतामा फर्किएको देखेका छौँ । हामी अब सन् २०२० अघिको अवस्थामा परिस्थितिहरू पुनःस्थापित गर्न काम गरिरहेका छौँ । विस्तारै तर निश्चित रूपमा, विश्वास, उत्साह, र ऊर्जा फर्किनेछ । तर, निश्चय नै, यसले केही समय लिनेछ किनकि पाँच वर्षको अन्तराल भएको छ’, मोदीले भने ।
‘भविष्यमा हाम्रो सम्बन्ध उत्तिकै बलियो रहनुपर्छ । यो बढ्दै जानुपर्छ । अवश्य पनि भिन्नताहरू स्वाभाविक छन् । जब दुई छिमेकी देश अस्तित्वमा रहन्छन्, कहिलेकाहीँ असहमतिहरू हुनु अनिवार्य छ । परिवारभित्र पनि, सधैँ सबै कुरा ठीक हुँदैन । तर हाम्रो ध्यान यी भिन्नताहरू विवादमा परिणत नहोस् भन्ने कुरामा केन्द्रित छ’, मोदीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट
-
निर्मल क्याम्पसको स्ववियु सभापतिमा भण्डारी निर्वाचित
-
परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षीबिच भेटवार्ता
-
बालिकामाथि यौन दुर्व्यवहारमा महानगरपालिकाको मनोसामाजिक प्रतिवेदनबाट जाहेरीको दाबी पुग्ने अदालतको ठहर
-
मोरङको खदम क्याम्पसमा कन्दङ्वा विजयी
-
एसईईमा सहभागी नहुने मधेश प्रदेश सरकारकाे निर्णय