पाथिभरा मन्दिर जाने ‘सिजन’ सुरु

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ ।
तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथिभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो । चिसो मौसममा भक्तजनको सङ्ख्या न्यून रहने गरे पनि बडादसैँ र रामनवमीको समयमा दैनिक हजारौँ भक्तजन पाथिभरा पुग्ने गर्छन् ।
यस वर्ष पाथिभरामा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवादका कारण फागुन महिनामा अघिल्लो वर्षको तुलनामा भक्तजनको सङ्ख्या घटेको छ । पाथिभरा क्षेत्र विकास समितिका अनुसार गत वर्ष फागुनमा १७ हजार ९१२ भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष सोही अवधिमा करिब सात हजार ४२८ मात्रै यहाँ आएका छन् । समग्रमा अघिल्लो वर्षको तुलनामा यस वर्ष झन्डै दुई हजारभन्दा बढी भक्तजन पाथीभरा आएका छन् ।
केबलकारको विरोधमा केही दिन भएको बन्द तथा यसबाट उत्पन्न परिस्थितिका कारण भक्तजनको सङ्ख्यामा कमी आएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनले हाल पाथिभरा जान आउन कुनै समस्या नभए पनि कतिपय भक्तजनमा अन्योलता कायमै रहेकाले निर्धक्क भएर आउन आग्रह गरे ।
पाथिभरालाई साक्षात् देवीको रूपमा लिइने भएकाले यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । यही आस्थाका कारण स्वदेशी मात्र नभई भारतलगायत विभिन्न देशका भक्तजनसमेत यहाँ आउने गर्छन् । पाथिभरा क्षेत्र विकास समितिका अनुसार वार्षिक करिब तीन लाख भक्तजन यहाँ पुग्ने गरेका छन् ।
पाथिभरा जाने सुकेटार काफ्लेपाटी सडकखण्ड स्तरोन्नति, तमोर करिडोर निर्माण हुनुका साथै पछिल्लो समय प्रचारप्रसारसमेत बढेकाले विगतका वर्षको तुलनामा भक्तजनको सङ्ख्या भने बढ्दै गएको समितिले जनाएको छ । हिजोआज इटहरी, धरान हुँदै तमोर करिडोर र झापाको विर्तामोड, ईलाम हुँदै पाथिभरा जान सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचन: ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सम्पन्न , ४० प्रतिशत मतदान
-
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
-
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने