आईजीपीमा थापा : पहिले सहमति, अनि मात्र मन्त्रिपरिषद्मा एजेण्डा

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने निश्चित थियो । सोमबार नै मन्त्रिपरिषद् बैठक बस्ने र त्यसले नयाँ प्रहरी महानिरीक्षक नियुक्ति गर्ने चर्चा परिचर्चा थियो ।
तर नयाँ प्रहरी महानिरीक्षक को बन्छ भन्नेमा निश्चित थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाए । तर, बैठक निर्धारित समयभन्दा एक घण्टा ३६ मिनेट ढिलो गरी ५ बजेर ३६ मिनेट जाँदा बैठक सुरु भयो । बैठक ६ बजेर ४० मिनेट जाँदासम्म एक घण्टा चार मिनेट बस्यो ।
बैठकले प्रहरीको ३१ औँ महानिरीक्षकमा पहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई बढुवा गर्ने निर्णय गर्यो । तर, मन्त्रिपरिषद् बैठकमा महानिरीक्षक नियुक्त गर्ने एजेण्डा नियमित एजेण्डामा भने थिएन ।
‘प्रहरी महानिरीक्षक नियुक्त गर्ने एजेण्डा नियमित एजेण्डामा थिएन । अतिरिक्त एजेण्डाका रूपमा राखेर निर्णय गरिएको हो,’ एक मन्त्रीले रातोपाटीसँग भने । किन नियमित एजेण्डामा महानिरीक्षक नियुक्तिको विषय परेन त भन्ने प्रश्नमा ती मन्त्रीले भने, ‘अन्तिम समयसम्म कसलाई बढुवा गर्ने भन्ने निश्चित नभएकाले होला । विभागीय मन्त्री र प्रधानमन्त्रीज्यूको दौडधुप निकै चलेको थियो । पहिला सहमति भयो त्यसपछि मात्र अतिरिक्त एजेण्डामा राखेर निर्णय गरियो ।’
महानिरीक्षकका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरू थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धी थिए । निकटस्थ स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई बढुवा गर्न चाहन्थे । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरू पूर्वप्रधानन्यायाधीश केदार गिरीका पुत्र सुदीपलाई बनाउन पाए हुन्थ्यो भने चाहना राखेका थिए । स्रोतले कांग्रेस नेतासमेत रहेका गृहमन्त्री रमेश लेखक पनि सुदीपप्रति सहानुभूति राखिरहेको बतायो । कांग्रेसका केही नेता भने सबैलाई मिलाउन सक्ने क्षमता राख्ने भएकाले थापालाई महानिरीक्षक बनाउनु पर्ने पक्षमा थिए ।
महानिरीक्षक बनेका थापाले भने प्रधानमन्त्री ओली, कांग्रेस नेताहरू र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेताहरूसमेतलाई रिझाएका थिए । प्रहरीमा चतुर कमाण्डरको छवि बनाएका थापाले अन्तिममा प्रधानमन्त्री र कांग्रेस नेताहरूसहित गृहमन्त्री लेखकलाई रिझाएर करिब ८० हजार प्रहरीको कमाण्ड सम्हाल्ने नेतृत्व पाएको स्रोत बताउँछ ।
कसरी सहमति बनेर अतिरिक्त प्रस्तावमा पर्यो भन्ने प्रश्नमा अर्का एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यू र नेपाली कांग्रेसका सभापतिज्यूबिच सहमति बन्यो त्यही सहमतिअनुरूप गृहमन्त्रीज्यूले प्रस्ताव ल्याउनुभयो । मन्त्रिपरिषद्बाट लालमोहर लाग्यो ।’
पहिल्यै सहमति गरेर अतिरिक्त प्रस्तावमा राखिएकाले मन्त्रिपरिषद् बैठकमा भने यस विषयमा कुनै छलफल नै भएन । मुख्यसचिव एक नारायण अर्यालले प्रहरीको नयाँ महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई बढुवा गर्ने प्रस्ताव गृह मन्त्रालयबाट आएको पढेर सुनाए ।
त्यसपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई प्रस्तावको बारेमा सोधे । गृहमन्त्रीले ज्येष्ठता, कार्यसम्पादन मूल्याङ्कन, निरन्तरता र लगनशीलताको आधारमा थापाको नाम बढुवाका लागि सिफारिस गरिएको प्रष्टीकरण दिए । त्यसमा अन्य कुनै मन्त्रीले केही धारणा राखेनन् । प्रधानमन्त्रीले थापालाई नयाँ महानिरीक्षक बनाउने निर्णय भएको जानकारी दिए ।
थापालाई महानिरीक्षकमा नियुक्त गर्ने सहमति जुटाउने प्रयासमा लागेका कांग्रेसका एक नेतालाई रातोपाटीले राखेको जिज्ञासामा वरियताका आधारमा एक नम्बरमा थापा रहेकाले उनको नाममा सहमति जुटेको जानकारी दिए । ‘उहाँ वरियतामा एक नम्बरमा हुनुहुन्थ्यो । कार्यसम्पादन, कमाण्ड क्षमता, लगनशीलता र निरन्तरता थियो । त्यसैले उहाँको पक्षमा सहमति जुट्यो,’ ती नेताले भने ।
थापा वरियतामा एक नम्बरमा थिए । सरकारले वरीयताअनुसार नै उनलाई महानिरीक्षकमा बढुवा भए । उनी आज राति अवकाशमा जाने कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए ।
२०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थापा २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए । दोस्रो वरियतामा रहेका गिरी र तेस्रो वरियतामा रहेका तामाङ २०७९ चैत २४ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए ।
सरकारले आज रातिदेखि निवर्तमान हुने कुँवरलाई पनि वरियताका आधारमा नै महानिरीक्षकमा बढुवा गरेको थियो । नवनियुक्त महानिरीक्षक थापाले करिब ६ महिना प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङको खदम क्याम्पसमा कन्दङ्वा विजयी
-
एसईईमा सहभागी नहुने मधेश प्रदेश सरकारकाे निर्णय
-
लेखा समितिको बैठक निरन्तर राख्न माग, सभापति पोखरेलको भूमिकाप्रति आपत्ति
-
रुपन्देहीका ३ वटा क्याम्पसमा मात्रै निर्वाचन, आधा दर्जन क्याम्पसमा तालाबन्दी
-
थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका खड्का निर्वाचित
-
विदेश घुमाउने, होटलमा काम लगाइदिने, राम्रो खाना खुवाउने प्रलोभनमा बालयौन दुराचार