पाठ्यक्रममा एआई राख्ने त्रिवि, स्ववियु निर्वाचन भने परम्परागत शैलीबाट गराउँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम संसारका चर्चित विश्वविद्यालयको तुलनामा कम्तीको छैन । सूचना र प्रविधिको तीव्र विकाससँगै विश्वविद्यालयका पाठ्यक्रम समेत सोही अनुसार परिमार्जन हुँदै आएका छन् । त्रिविले समेत पछिल्लो पुस्ताको सबैभन्दा नयाँ एआई (आर्टिफिसियल इन्टेलिजेन्सी) को पाठ्यक्रम पठनपाठन गराउँदै आएको छ ।
त्रिविले संसारमा नयाँ नयाँ आविष्कार तथा खोज हुने बित्तिकै आफ्नो पाठ्यक्रममा समावेश गर्दै आएको छ र विद्यार्थीहरूलाई सोही अनुसारको शिक्षा प्रदान गर्दै आएको छ । पाठ्यक्रममा एआईको पठनपाठन गराउने त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भने पुरानै शैलीमा गर्दै आएको छ ।
यतिसम्मको परम्परागत भयो कि कति वटा कलेजमा स्ववियु निर्वाचन हुँदैछ त्यो समेत अपडेट हुँदैन । क्याम्पस तथा निर्वाचन समितिले निर्वाचनबारे पत्राचार गरेपछि मात्रै त्रिवि केन्द्रलाई थाहा हुन्छ ।
त्रिविसँग सेन्ट्रल डाटा सिस्टम नहुँदा कतिमा निर्वाचन हुँदैछ ? कतिमा स्थगित भयो भनेर जान्नका लागि सम्बन्धित कलेजमा फोन गरेर मात्रै बुझ्न सकिने अवस्था छ ।
त्रिविले निर्वाचनका लागि अटोमेसन सिस्टम राखेको छ । तर, कलेज तथा निर्वाचन समितिहरूले न त्यसमा आफ्नो कामको जानकारी अपडेट गराउँछन्, अपडेट गराए पनि स्थायी हुँदैन । उनीहरू आफैँले गरेको कामको आफैँले इडिट गर्न सकिने व्यवस्था हुँदा के भयो भन्ने यकिन जानकारी हुँदैन ।
त्रिवि स्ववियु निर्वाचन हरेक २/२ वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था छ । तर पनि त्रिविले हरेक निर्वाचन परम्परागत शैलीमा नै गर्दै आएको छ ।
सूचना र प्रविधिको प्रयोग गरेर स्ववियु निर्वाचन गराउने विषय न विद्यार्थी संगठनहरूका एजेन्डा बन्छन् । न त त्रिविको प्राथमिकतामा नै पर्छ ।
नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवाल प्रविधिमैत्री निर्वाचन गराउनुपर्ने आवाज खासै नउठेको बताउँछन् । उनले विद्यार्थी संगठनहरूमा एजेण्डामा समावेश हुने गरेको तर, प्राथमिकतामा नपर्ने गरेको बताए ।
अनेस्ववियु उपाध्यक्ष नारायण घर्तीले प्रविधियुक्त स्ववियु निर्वाचन गराउनुपर्ने आवाज आफूहरूले उठाउँदै आएको बताए । तर पनि त्रिविले यसलाई बेवास्ता गर्दै आएको बताए ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले भोटिङ मेसिन नहुँदा सीमित कलेजहरूमा मात्रै प्रयोग गर्न लागिएको बताए ।
यो पटकको स्ववियु निर्वाचनमा विभिन्न ४ वटा आंगिक कलेजहरूमा भोटिङ मेसिनमार्फत मतदान हुनेछ । त्यो बाहेक अन्य कलेजहरूमा भने परम्परागत शैलीमा निर्वाचन हुँदैछ ।
‘सबै ठाउँमा एकै पटक भोटिङ मेसिनको प्रयोग गर्न साधन पाउँदैन रहेछ । रामलक्ष्मण इनोभेसनको सीमित मेसिन रहेछन् । उनीहरूले कति ठाउँमा गर्न भ्याउँछन्,’ अधिकारीले भने, ‘उनीहरू बाहेक अरूसँग छैन । राज्यले समेत प्रयोग गरेको भए हामीले पनि गर्न मिल्थ्यो होला । भएसम्म हामीले प्रयोग गरेका छौँ ।’
विश्वविद्यालयबाटै प्रत्यक्ष रूपमा निर्वाचनका लागि भूमिका खेल्दैन । यसका लागि सम्बन्धित क्याम्पस प्रमुख र निर्वाचन समितिलाई जिम्मेवार बनाइएको हुन्छ । उनीहरूलाई आफू अनुकूल निर्वाचन गराउने छुट दिइएको हुन्छ । जसले गर्दा केन्द्रसँग न निर्वाचनको रेकर्ड हुन्छ । न त केन्द्रको निर्देशनको पालना हुन्छ ।
‘विश्वविद्यालयले केन्द्रबाट गाइडलाइन बनाउने हो । सम्बन्धित क्याम्पसहरूले निर्वाचन गर्छन् । सम्पन्न भएपछिको रेकर्ड आउँछ । हामीसँग २ जना मात्रै कर्मचारी छ । उनीहरूले अन्य काममै व्यस्त छन् । छुट्टै बजेटको व्यवस्था गरेर छुट्टै कर्मचारी राखेर काम गरिएको छैन,’ अधिकारीले भने ।
केन्द्रले अटोमेशन सिस्टममा निर्वाचन सम्बन्धितका गतिविधि अपडेट गर्न निर्देशन जारी भए पनि कलेजहरूले नगर्ने उनको भनाइ छ ।
राम लक्ष्मण इनोभेसनका सञ्चालक रामलक्ष्मण रिमालले चार वटा कलेजमा स्ववियु निर्वाचन गराउन लागिएको बताए । पाटन, पुल्चोक इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज र त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिनबाट मतदान गराउने गरी सम्झौता गरेको रिमालको भनाइ छ ।
‘मेनपावरको कमीले गर्दा सबै ठाउँमा एकै पटक निर्वाचन गराउन सक्ने अवस्था छैन । विद्यार्थीहरूको चुनाव निकै संवेदनशील हुन्छ । त्यसैले धेरै गर्न सकिँदैन । सरकारले नै प्रयोग गर्ने हो भने सबै ठाउँमा प्रयोग गर्न सकिन्थ्यो,’ रिमालले भने ।
उनलाई विद्युतीय मेसिनबाट भोटिङ गराउन १०० भन्दा बढी कलेजहरूबाट फोन आएको उनको भनाइ छ । तर, एकै दिन सबै ठाउँमा निर्वाचन गराउन नसकिने जानकारी गराएको बताए ।
प्राविधिक विषय भएकाले यसमा एकदमै संवेदनशील भएर काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
‘बदर शून्य हुन्छ । भोट गर्न सजिलो हुन्छ, गणना गर्न पनि सजिलो छ । धाँधली हुने सम्भावना जिरो छ । नतिजा आधि घण्टाभित्र आउँछ । मेसिनको संख्याको आधारमा नतिजा आउँछ । बढी मेसिन भयो भने बढी समय लाग्छ, नत्र तुरुन्तै नतिजा आउँछ । तर, प्राविधिक विषय भएकाले अनेकन् प्रश्न आउँछन्,’ उनले भने ।
त्रिविले आफैँले मेसिन किनेर राखेको खण्डमा निर्वाचन गराउन सहन हुने उनको भनाइ छ ।
त्रिविले स्ववियु निर्वाचनलाई प्राथमिकतामा राख्दैन । किनभने उसले न त्यसका लागि थप बजेटको व्यवस्था गरेको हुन्छ । न त योजना नै अघि सारेको हुन्छ । जसले गर्दा यसलाई नियमित प्रक्रिया जस्तै अघि बढाउने गरेको छ ।
निर्देशक प्राध्यापक अधिकारीले निर्देशनालयका सीमित कर्मचारीले नियमित कार्य गर्दै आएको बताए । थप कर्मचारी तथा बजेटको व्यवस्था नगरिएकाले स्ववियु निर्वाचनलाई प्रविधिमैत्री बनाउन नसकिएको उनको स्वीकार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक हिंसाको टिप्पणीमा बंगलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना
-
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट
-
धार्मिक भावनामा चोट पुर्याएको आरोपमा हेमा मालिनीविरुद्ध उजुरी दर्ता
-
साफ यू–१९ पुरुष च्याम्पियनसिप : उर्जन श्रेष्ठ बने नेपाली टोलीको प्रमुख प्रशिक्षक
-
ईशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकी प्रदेशलाई हरायो
-
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा