स्ववियु निर्वाचनमा महेन्द्र मोरङ : झडप र झैझगडाका शृङ्खला सुरु

विराटनगर । कोशी प्रदेशमा सबैभन्दा बढी स्ववियु निर्वाचनको महत्त्व बोकेको क्याम्पस हो, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस । यही क्याम्पसको स्ववियु निर्वाचन जितेका थुप्रै नेता तथा कार्यकर्ताहरू अहिले केन्द्रीय राजनीतिमा स्थापित छन् ।
पुनः यस पटक मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । उक्त क्याम्पसको स्ववियु नेतृत्वका लागि विभिन्न संगठनहरुले आ–आफ्ना उम्मेदवारी दिएर विद्यार्थीसँग भोट मागिरहेका छन् ।
यो निर्वाचनको सम्मुखमा भने नेविसंघभित्रको विवाद छताछुल्ल भयो । काँग्रेस सभापति देउवा निकट नेविसंघ र डाक्टर शेखर कोइरालानिकट नेविसंघको विवादले दुई पक्षबिच हानाहान, तालाबन्दी र आगजनीका घटनाहरू भए । एक अर्कालाई हान्ने, मार्ने, र मर्नेसम्मका धाकधम्कीहरु अन्तिम समयसम्म आए । तर, अन्तिम समयमा निर्वाचन हुने निश्चित भएको छ ।
यसपटक अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्ज्वल विष्टलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादव (विकास)लाई उम्मेदवार बनाएको छ । यस्तै एमाले निकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् । महेन्द्र मोरङ क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् ।
- स्ववियुको इतिहास र झैझगडा
महेन्द्र मोरङ क्याम्पसमा पहिलो पटक २०३६ सालमा ध्रुवनारायण श्रेष्ठको सभापतित्वमा स्ववियु गठन भयो । २०३८ सालमा भने स्ववियु निर्वाचनका क्रममा तत्कालीन नेविसंघका नेतासमेत रहेका विजयकुमार गच्छदारको टिमले कब्जा गर्यो । त्यही वर्षको मंसिर ९ गते फणीन्द्र तिम्सिनाको हत्या भयो । त्यसपछि लामो समय स्ववियु कार्यालयमा तालाबन्दी भयो ।
त्यसपछि भएको ४० सालको स्ववियु निर्वाचनमा भरतराज पोखरेल सभापतिमा निर्वाचित भए । २०४१ सालमा रमेश भट्टराई निर्वाचित हुँदा २०४३ सालमा भूराज राई सभापति चयन भए । ०४५ देखि ०४९ फागुनसम्म महेश रेग्मी सभापति चयन भए । ४९–५१ देखि यदु विष्ट, ५१ देखि ५३ गुरुराज घिमिरे सभापतिमा चयन हुँदा ५३ सालमा ऋषिकेश पोखरेल, २०५५ सालमा उपेन्द्र गच्छदार, २०५७ र २०६० मा सागरकुमार थापा, २०६२ सालमा भीम पराजुली र २०६५ सालमा जयराम सुन्दासको नेतृत्वमा स्ववियु गठन भएको हो ।
जयराम सुन्दास निर्वाचित हुनुपूर्व पनि क्याम्पसमा भएका झडप र आक्रमणको कहाली लाग्दो शृङ्खला रहेको छ । २०६४ साल फागुन १० गते पोखरा क्याम्पसमा एमाले अखिलसँग क्रान्तिकारीको झडप भयो । त्यसैको विरोधस्वरुप नेविसंघ र अखिल मिलेर महेन्द्र मोरङ क्याम्पसमा पनि बन्द हडताल सुरु गरे । त्यसको विरोधमा अखिल क्रान्तिकारी उत्रियो । विवाद बढ्दै जाँदा झडप भयो र फागुन १३ गते क्रान्तिकारीको नेतासमेत रहेका जयराम सुन्दासलाई १३ ठाउँमा काटियो । त्यसबेला हालका एमाले नेतासमेत रहेका परशुराम बस्नेतलगायतको टोलीले सुन्दासलाई आक्रमण गरेको थियो । पछि उनै सुन्दासको नेतृत्वमा एमाले अखिलसमेत सहभागी भएर ०६५ साल जेठमा सम्पन्न निर्वाचनमा होमियो र सुन्दास सभापतिमा विजयी भए । यस्तै तीन वर्ष अगाडि २०७९ चैत ५ गते भएको स्ववियु निर्वाचनमा नेविसंघबाट जसवन्त पौडेल सभापतिमा निर्वाचित भएका हुन् ।
- मोरङको बेलबारीमा स्थगित
यसैबिच मोरङको बेलबारीस्थित बेलबारी क्याम्पसमा भने स्ववियु चुनाव नहुने भएको छ । नेविसंघको आन्तरिक विवादका कारण संगठन दर्ता नै नगरेपछि त्यहाँ चुनाव हुन नसकेको हो । अन्य संगठनहरुले निर्वाचन गराउन दबाब दिएको भए पनि निर्वाचन समितिका सबैले राजीनामा दिएपछि त्यहाँ चुनाव हुन नसकेको हो । विराटनगरको स्नातकोत्तर क्याम्पस, नर्सिङ क्याम्पस, सुन्दरहरैँचाको सुकुना बहुमुखी क्याम्पसलगायत सबै क्याम्पसमा भने स्ववियु चुनाव मंगलबार नै हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक हिंसाको टिप्पणीमा बंगलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना
-
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट
-
धार्मिक भावनामा चोट पुर्याएको आरोपमा हेमा मालिनीविरुद्ध उजुरी दर्ता
-
साफ यू–१९ पुरुष च्याम्पियनसिप : उर्जन श्रेष्ठ बने नेपाली टोलीको प्रमुख प्रशिक्षक
-
ईशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकी प्रदेशलाई हरायो
-
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा