स्थायी शिक्षक छाडेर प्रहरी प्रवेश गरेका आईजीपी
_W5IMghpHxK.jpg)
काठमाडौं । दीपक थापा भक्तपुरका स्थानीय हुन् । मन्त्रिपरिषद्ले उनलाई प्रहरीको सर्वोच्च कमान्डर प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।
थापा २०५२ भदौ १९ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका हुन् । प्रहरीसम्बन्धी कानुनी व्यवस्था परिवर्तन नभए थापाले करिब ६ महिना ८९ हजार फौजको कमान्ड गर्नेछन् ।उनी प्रहरीमा आउनुअघि स्थायी शिक्षक थिए । २०४८ सालमा स्थायी शिक्षकमा नाम निकालेका थापा भक्तपुरको कन्या माविमा पढाउँथे ।
प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उनले भक्तपुरकै ओम सेकेन्डरी बोर्डिङ स्कुलमा पनि अध्यापन गरे । बोर्डिङमा पढाउँदै गर्दा स्थायी शिक्षकमा विज्ञापन खुलेपछि थापाले भक्तपुरका आफ्ना सहपाठीसँगै जाँच दिएका हुन् । उनी भन्छन्, ‘स्नातक तह तेस्रो वर्षमा पढ्दै गर्दा निमावि तहको शिक्षकको परीक्षामा दुई नम्बरमा नाम निकालेको थिएँ ।’
पढाइमा अब्बल थापा निमावि शिक्षक भए पनि माविका विद्यार्थीलाई पनि पढाउँथे । २०४३ सालमा एसएलसी पास गरेका उनले २०४६ सालमा प्रवीणता प्रमाणपत्र तह पूरा गर्दा भक्तपुर क्याम्पस टप गरेका थिए । २०४९ मा स्नातक तह पूरा गर्दा पनि उनले क्याम्पस टप गरे । थापासँगै पढेर दोस्रा भएका सहपाठी अहिले भक्तपुर क्याम्पस प्रमुख छन् ।
कन्या माविमा पढाउँदै गर्दा प्रहरी इन्स्पेक्टरमा भर्ना खुल्यो । २०५० मंसिर १० मा प्रकाशित विज्ञापनअनुसार थापा इन्स्पेक्टर पदबाट प्रहरी सेवामा प्रवेश गरे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको पढाइ चल्दै थियो । सिपाडोल क्षेत्रका धेरै मानिस आर्मीमा थिए । सिपाडोल घर भएका शम्भु थापा प्रहरीको उच्च पदमा पुगिसकेका थिए । शैलेश थापा, प्रद्युम्न कार्की र सहकुल थापाहरूले लगाएको युनिफर्मको ‘चार्म’ले दीपक लोभिए ।
सीताराम हाछेथु र गोविन्द कार्की असई भइसकेका थिए । थापा भन्छन्, ‘उँहाहरूलाई देखेर मलाई पनि प्रहरीमा भर्ना हुने रहर जागेको थियो ।’
पूर्वआईजीपी शैलेश थापासँगै इन्स्पेक्टरको परीक्षा दिएर अनुत्तीर्ण भएका एक सिनियरले थापालाई भने, ‘भाइ यसपाला म पनि दिन्छु, मसँगै तपाईं पनि जाँच दिनुस् ।’ अनि, थापाले प्रहरी निरीक्षकको फारम भरे ।
५५ औँ नम्बरको इन्स्पेक्टर
इन्स्पेक्टरको आइक्यू र जीके परीक्षामा दीपक पास भइसकेका थिए । लिखित परीक्षा २०५० फागुन २१ देखि २३ सम्म हुने सूचना प्रकाशित भइसकेको थियो । त्यसैवेला थापा विवाह बन्धनमा बाँधिने भए । फागुन २२ मा विवाहको टुंगो लागेपछि उनले इन्स्पेक्टरको जाँच छाड्ने निर्णय लिए । थापा भन्छन्, ‘लगन सार्न खोज्दा एक वर्षपछि मात्रै अर्को लगन जुर्ने अवस्था आएपछि मैले जाँच छाडेर विवाह गर्ने निर्णय गरेँ ।’
सूर्यविनायक चोकको लक्ष्मी मिठाई भण्डार उनको ‘चिया जक्सन’ थियो । अहिलेको जस्तो मोबाइलको पहुँच नभएकाले उनलाई प्रहरीमा जान प्रेरित गर्नेमध्ये नमस कार्कीले सूर्यविनायकमा भेटेर भने, ‘भाइ इन्स्पेक्टरको जाँच पछि सरेको छ ।’
पर्सबाट झिकेर कार्कीले गोरखापत्रको सूचना देखाएपछि थापा ‘कन्भिन्स’ भए । सूचनामा लेखिएको थियो, ‘विशेष कारणवश प्रहरी निरीक्षकको परीक्षा चैत ३ देखि ५ सम्म सञ्चालन हुनेछ ।’ संयोगले परीक्षा सरेपछि थापाले जाँचको तयारी गरे । भन्छन्, ‘त्यो परीक्षा मेरै लागि सरेजस्तो भयो ।’ २०५० चैतमा परीक्षा दिए । २०५१ चैत ५ मा उनले ५५ औँ नम्बरमा नाम निकाल्न सफल भए ।
समूहमा १ सय जना उत्तीर्ण भएका थिए । प्रहरी प्रधान कार्यालयले पहिलो समूहमा ६० जना र दोस्रोमा ४० जनालाई राखेर वर्गीकरण गरेको थियो । मध्यावधि चुनाव भयो, अल्पमतको सरकार बन्यो । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री थिए ।
५० औँ नम्बर समूहकाले नियुक्ति पाए । इन्स्पेक्टरमध्ये ८ जनाको नियुक्ति तत्काल भएन । परीक्षा पास भए पनि थापासहित ८ जनाले ६ महिना ढिलो नियुक्ति पाए । ढिला नियुक्ति पाउनेमा सुदीप गिरी, दीपक थापा, भीम ढकाल, टेकबहादुर तामाङ, राजकुमार बैदवार, विनोद खड्का र कृष्णकुमार महत थिए । पछिल्लो समूहका ४० जना रिट लिएर अदालतमा गए । थापा भन्छन्, ‘पर्खिंदा पर्खिंदा २०५२ भदौ १९ मा हामी ८ जनाले नियुक्ति पाएका थियौँ ।’
सँगै नियुक्ति पाएकामध्ये सुदीप गिरी र टेकबहादुर तामाङ थापासँगै आईजीपी हुने प्रतिस्पर्धामा थिए । चन्द्रकुवेर खापुङसहित ४० जनाले दायर गरेको मुद्दा पछि फिर्ता भयो । त्यसपछि उनीहरूले पनि नियुक्ति पाए । थापाले १८ महिना इन्स्पेक्टरको तालिम गरे ।
आफ्नै दरबन्दीमा ‘लियन’
इन्स्पेक्टरको सिटरोल फारम भर्नुअघि अन्यत्र जागिर भएकाहरूले छाडेर आउन प्रहरी हेडक्वार्टरले भनेको थियो । २०५१ माघ २ मा सिटरोल फर्म भर्नुअघि उनले स्थायी शिक्षकको राजीनामा स्वीकृत गराए । आईजीपीको प्रतिस्पर्धामा रहेका टेकबहादुर तामाङ ओभरसियरको जागिर छाडेर गए ।
थापा स्कुलबाट बिदा भइसकेका थिए । तर, इन्स्पेक्टरमा नाम निस्किए पनि लामो समय नियुक्ति पाएनन् । ती दिन सम्झँदै थापा भन्छन्, ‘फेरि सूर्यविनायकतिर टहलिने अवस्था पो आयो ।’
कन्या माविका प्रअसँग उनका बुवाले प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरको नियुक्ति पत्र नदिएको कुरा बताएछन् । २०५२ वैशाखामा प्रअले भेटेर थापालाई भने, ‘तपाईंको ठाउँ अहिले पनि खाली छ, पढाउन आउनुस् ।’ अनि, आफैंले राजीनामा दिएको आफ्नै कोटामा उनले फेरि पढाए । उनी सम्झन्छन्, ‘मैले छाडेको रिक्त पदमा शिक्षा कार्यालयले मलाई नै लियनमा नियुक्त गरेर पत्र दियो, अनि म फेरि त्यहीँ पढाउन थालेँ ।’
स्थायी शिक्षकबाट आफैंले राजीनामा दिएको पदमा फेरि अस्थायी भएर पढाएका थापा अहिले आईजीपी नियुक्त भएका छन् । थापा भन्छन्, ‘त्यो अवस्थाबाट अहिले म यहाँ आइपुगेको छु ।’
सेवानिवृत भएका आईजीपी कुँवरभन्दा थापाले ५ महिना १४ दिन ढिला नियुक्ति पाएका हुन् ।
भिडन्तमा झण्डै ‘सुट आउट’
थापाका बुवाले सेनामा छोटो समय काम गरेका थिए । परिवारमा अरू कोही फौजमा थिएनन् । इन्स्पेक्टरमा भर्ना भएको ६ महिनापछि माओवादी विद्रोह सुरु भयो ।
पहिलो पोस्टिङ सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय महेन्द्रनगरमा भयो । २०५४ को स्थानीय निर्वाचनमा बैतडी जिल्लामा र त्यसपछि थापाले प्रहरी स्कुल डोटीमा कमान्डेन्ट भएर काम गरे । युद्धकालमा रुकुमको मैकोटमा १ वर्ष ‘स्ट्राइकिङ’ टोलीमा बसेर उनले काम गरेका थिए ।
युद्धको समयमा काभ्रेको कात्तिके देउराली र रौतहटमा ३ वर्ष काम गरे । रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा बस्दा थापा ३ पटक दोहोरो भिडन्तमा परे । भिडन्त सम्झिँदै थापा भन्छन्, ‘एकपटक म झण्डै सुटआउट भएको थिएँ ।’
युद्ध उत्कर्षमा पुगेको बेला किलोसेरा टु र रोमिया अपरेसनमा थापाले कमान्डर भएर काम गरे । भन्छन्, ‘युद्धकालीन सयममा हरेक दिन चुनौतीपूर्ण थियो, अहिले दोस्रो जिन्दगी हो भन्ने लाग्छ ।’
रुकुम बस्दा आफ्नो टोली दुई पटक एम्बुसमा परेको थापा बताउँछन् । शान्ति शम्झौता भएपछि थापा खोटाङमा जिल्ला इन्चार्जका रूपमा खटिए । उनी सम्झन्छन्, ‘त्यहाँ मैले २०६४ को चुनाव गराएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एएफसी एसियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं'
-
रोटरी सम्मेलन चैत ८ देखि
-
पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते
-
गाजामा युद्धविरामपछि इजरायलको सबैभन्दा ठुलो आक्रमण, कम्तीमा ३२६ जनाको मृत्यु
-
पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, प्रतिव्यक्ति ९० हजार माथि
-
१० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक