विद्यार्थी राजनीतिमा समयसापेक्ष सुधार आवश्यक

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते र सुदूरपश्चिम विश्वविद्यालयले चैत २७ गते स्ववियु चुनाव गर्ने घोषणा गरेसँगै दुवैका आंगिक क्याम्पसहरूमा नयाँ तरंग छाएको छ । विद्यार्थी संगठनले आ–आफ्ना एजेन्डा विद्यार्थीमाझ पुर्याइरहेका छन् भने राजनीतिक दलहरू आन्तरिक सहयोग र नेतृत्व चयनमा व्यस्त छन् ।
भारतको बनारसमा पढ्न गएका नेपाली विद्यार्थीले १९८१ सालमा ‘नेपाली छात्र संघ’को स्थापना गरेसँगै नेपाली विद्यार्थीको आन्दोलनको औपचारिक सुरुवात भएको इतिहास छ । नेपालभित्र भने १९९१ सालतिर महावीर स्कुलको स्थापनासँगै चिनियामान सिंहले विद्यार्थीको हक र अधिकारका लागि आवाज उठाएको पाइन्छ । १९९२ सालतिर गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री लगायत विद्यार्थीले नेपाल नागरिक अधिकार समितिको गठन गरेर राणाशासनविरोधी भावनाको बीजारोपण गर्ने काम गरेका थिए । त्रिचन्द्र कलेजमा विद्यार्थीमाझ राणाविरोधी भाषण गरेकै कारण गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । २००४ सालतिर तीनधारा पाठशालाका विद्यार्थीले नेपाल सरकारलाई चारबुँदे माग राखे तर मागहरू पूरा नभएपछि ‘जयन्तु संस्कृतम्’ आन्दोलनको सुरुवात गरेका थिए ।
२०१७ सालमा राजा महेन्द्रले कु गरेपछि विद्यार्थी संगठन लगायत अन्य संघसंस्थाले विरोध गर्न थालेका थिए । २०१८ सालमा राष्ट्रिय निर्देशन ऐन मातहत संघ–संस्था नियन्त्रण ऐन ल्याएर नै विद्यार्थी आन्दोलनमा प्रतिबन्ध लगाइएको थियो । पछि २०२० तिर विद्यार्थीले प्रतिबन्धका विरुद्ध आन्दोलन गरेपछि स्ववियुको उद्भव भएको थियो । सो समय कलेजहरूमा दुई धारका विद्यार्थी संगठन थिए, एउटा धार पञ्चायत समर्थकको थियो भने अर्को धार प्रजातान्त्रिकहरूको ।
२०२२ तिर नेकपा नजिकको अनेरास्ववियु र २०२७ तिर नेपाली कांग्रेस नजिक नेविसंघको स्थापना भएदेखि नेपाली विद्यार्थी राजनीतिमा भ्रातृ संगठनहरूको सक्रियता बढेको देखिन्छ । त्यसपछि २०३६, २०४६, २०६२/६३ को आन्दोलनमा समेत विद्यार्थी आन्दोलन र राजनीतिको सक्रिय भूमिका रहेको पाइन्छ ।
विद्यार्थी आन्दोलनले प्रजातन्त्रको पुनर्बहाली गर्न र गणतन्त्रको बीजारोपण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो भन्नेमा कुनै गुञ्जायस छैन, जबजब राज्य सत्ताले दमन गर्न खोज्यो या राजनीतिक अधिकारहरू कुण्ठित गर्न खोज्यो, त्यति बेला विद्यार्थी आन्दोलन बुलन्द आवाज भएर उठ्यो ।
यतिखेर विद्यार्थीहरू अवसरको खोजीमा विदेश पलायत भइरहेको अवस्था छ । यसलाई मध्यनजर गर्दै रोजगारीका अवसर सिर्जना गर्न, वैज्ञानिक तथा प्राविधिक शिक्षा प्रणालीको प्रवद्र्धन गर्न, अनुसन्धानको संस्कृति विकास गर्न, छात्रवृत्ति तथा शैक्षिक अवसरमा पहुँच वृद्धि गर्न र समावेशी तथा समतामूलक शैक्षिक वातावरण सिर्जना गर्न विद्यार्थी राजनीति केन्द्रित हुन आवश्यक छ ।
विद्यार्थी आन्दोलन अहिलेको गणतान्त्रिक व्यवस्थाको जनक पनि हो, जब राज्यले सम्पूर्ण राजनीतिक अधिकार आफ्नो हातमा लिएको थियो, त्यो बेला लोकतान्त्रिक मूल्य–मान्यताको प्रचार गर्न र आफ्ना राजनीतिक अधिकार फिर्ता माग्न स्ववियुको जन्म भएको थियो, त्यसै बेलादेखि प्रजातन्त्रको पुनर्बहाली र गणतन्त्रात्मक व्यवस्थाको बीजारोपणसम्म विद्यार्थी आन्दोलन र स्ववियुको महत्त्वपूर्ण भूमिका रहेको छ । विगतमा राज्यसत्ताले दमन गर्ने र जनताका अधिकारहरूलाई आफ्नो हातमा लिने र निरङ्कुशताको बाटोमा अग्रसर हुने भयबाट बच्न विद्यार्थी आन्दोलन महत्त्वपूर्ण थियो तर अहिले आएर बेलाबेला स्ववियु र विद्यार्थी राजनीतिमाथि प्रश्न भने उठ्ने गरेको पाइन्छ । विद्यार्थी भ्रातृ संगठनहरू राजनीतिक दलहरूको कठपुतली बन्नु र स्वार्थकेन्द्रित विद्यार्थी राजनीतिका कारण अहिले स्ववियुको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।
स्थापनाकालदेखि नै स्ववियुमा राजनीतिक दलका भ्रातृ संगठनहरूको वर्चस्व रहँदै आएको छ । त्यतिबेला विद्यार्थी राजनीतिको कार्य सत्तासँगको लडाइँ थियो र उक्त लडाइँ केवल विद्यार्थीले मात्र लड्न सक्ने अवस्था थिएन । त्यसकारण विद्यार्थीलाई राजनीतिक दलहरूको सहयोग र राजनीतिक दलहरूलाई विद्यार्थीको साथ चाहिएको थियो । अहिले अवस्था बदलिसकेको छ, अब विद्यार्थी राजनीति र स्ववियुले विद्यार्थीका लागि काम गर्नुपर्नेछ; विद्यार्थी र कलेज प्रशासन बिचको सेतु बन्नुपर्नेछ । विज्ञान र प्रविधिको तीव्र विकाससँगै विद्यार्थीको अध्ययनका क्षेत्र फराकिला बन्दै गएका छन् । विद्यार्थीलाई कसरी रोजगारीसँग जोड्ने, विद्यार्थीका समस्या कसरी समाधान गर्ने भन्नेमा अबको विद्यार्थी राजनीति केन्द्रित हुनुपर्नेछ । आर्टिफिसियल इन्टेलिजेन्सको विकासले अहिले विश्वमा एउटा नयाँ तरंग ल्याएको छ, त्यसको प्रभाव शिक्षामा समेत परेको छ । विज्ञान र प्रविधि सुहाउँदो शिक्षा प्रदान गर्ने विषयमा स्ववियु स्पष्ट हुनुपर्छ । विद्यार्थीको हक र हितका लागि नयाँ ढंगले कार्य गर्यो भने विद्यार्थी राजनीतिको सार्थकता र औचित्यता रहन्छ । यतिखेर विद्यार्थी राजनीति अराजकता र असहिष्णुताको एउटा बाटोतिर पनि गएको देखिन्छ, त्यही बाटोमा जाने हो भने विद्यार्थी राजनीतिको कुनै औचित्य रहनेछैन ।
राजनीतिक दलहरूले पनि आफ्नो स्वार्थपूर्तिका निम्ति विद्यार्थीको प्रयोग गर्ने र आफ्नो स्वार्थसिद्ध गर्ने कार्य बन्द गर्नुपर्नेछ । भ्रातृ संगठनलाई आफ्नो कठपुतली बनाउनु भन्दा पनि उनीहरूलाई आफ्नो स्वविवेकले काम गर्न दिनुपर्छ । विद्यार्थी राजनीतिबाटै भोलि देश हाँक्ने नेतृत्व निर्माण हुने हो । त्यसैले विद्यार्थी नेताले पनि राम्रो काम गरेर आफूलाई स्थापित गर्नुपर्ने चुनौती रहन्छ ।
विद्यार्थी राजनीतिले आफ्नो ऐतिहासिक विरासत बिर्सनु हुँदैन । विगतमा स्ववियुले राज्यसत्ताविरुद्ध लडेर प्रजातन्त्र र गणतन्त्रको मार्गप्रशस्त गर्यो, तर अहिलेको परिप्रेक्ष्यमा यसको भूमिकामा परिवर्तन आवश्यक छ । आजको विद्यार्थी राजनीति केवल नाराबाजी र शक्ति प्रदर्शनमा सीमित हुनु हुँदैन, विशेषतः शैक्षिक गुणस्तर र विद्यार्थीको हकहितमा लाग्नुपर्छ ।
यतिखेर विद्यार्थीहरू अवसरको खोजीमा विदेश पलायत भइरहेको अवस्था छ । यसलाई मध्यनजर गर्दै रोजगारीका अवसर सिर्जना गर्न, वैज्ञानिक तथा प्राविधिक शिक्षा प्रणालीको प्रवद्र्धन गर्न, अनुसन्धानको संस्कृति विकास गर्न, छात्रवृत्ति तथा शैक्षिक अवसरमा पहुँच वृद्धि गर्न र समावेशी तथा समतामूलक शैक्षिक वातावरण सिर्जना गर्न विद्यार्थी राजनीति केन्द्रित हुन आवश्यक छ ।
स्ववियुले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि कलेज प्रशासनदेखि राज्य संयन्त्रहरूसँगको छलफल र बहसमा मजबुत सेतुको भूमिका निर्वाह गर्नुपर्छ । विद्यार्थीलाई छात्रवृत्तिको पहुँच, पुस्तकालय, प्रयोगशाला, इन्टरनेटजस्ता शैक्षिक पूर्वाधारको विस्तारलाई प्राथमिक मुद्दा बनाउनुपर्छ । पाठ्यक्रमलाई रोजगारमूलक बनाउने, व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने विषयमा ध्यान दिनुपर्नेछ ।
स्टार्टअप, इन्टरन्सिप, फ्रिलान्सिङ तथा डिजिटल उद्यमशीलताको प्रवद्र्धनका लागि कलेज तथा विश्वविद्यालयसँग उद्योग, बैंक तथा निजी क्षेत्रलाई जोड्नेतिर स्ववियु लाग्नुपर्छ । यस्तै अनलाइन कक्षा, ई–लाइब्रेरीका लागि पनि स्ववियुले पहल गर्नुपर्छ ।
सामाजिक न्याय, वातावरणीय सचेतना, मानसिक स्वास्थ्य र मानव अधिकारको प्रवद्र्धन लगायतमा पनि स्ववियु केन्द्रित हुनुपर्छ । समाजमा व्याप्त जातीय विभेद, हिंसा, महिला हिंसा, भ्रष्टाचार आदि विरुद्ध विद्यार्थी राजनीतिले सशक्त भूमिका निर्वाह गर्नुपर्नेछ । यस्तै, विद्यार्थीमा आलोचनात्मक चेत विकास गर्ने खालका बहसमा पनि ध्यान दिनुपर्छ ।
अबको विद्यार्थी राजनीति पुरानो शैलीको नाराबाजी, दलगत वा व्यक्तिगत स्वार्थबाट मुक्त हुनुपर्छ । स्ववियु विद्यार्थीका आवाज बुलन्द बनाउने संस्था हो न कि कुनै राजनीतिक दलको भोट बटुल्ने भर्याङ । अब आउने नेतृत्वले स्ववियुको गरिमा जोगाउन सक्नुपर्छ ।
(सुदूरपश्चिम विश्वविद्यालयमा कानुन अध्ययनरत विद्यार्थी ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा
-
लाइसेन्स दिने भनिएपछि कर्मकाण्ड र ज्योतिष कक्षा लिनेको बढ्यो भीड, ६ महिनाको शुल्क १५ हजार
-
तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याए, आँखा र अनुहार ‘ड्यामेज’
-
सुरक्षाको कारण देखाउँदै अमृत साइन्समा स्ववियु चुनाव स्थगित
-
१२ बजे, १२ समाचार : शिक्षकका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुनेदेखि ओली र देउवासामु प्रचण्डले राखे मिलेर जाने प्रस्तावसम्म
-
आरआर क्याम्पसमा मध्यराती अनेरास्ववियुको तालाबन्दी