रोमाञ्चक विभागीय भिडन्तमा आर्मीले एपीएफलाई हरायो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार पाँचौँ जित हात पारेको छ । आर्मी क्लबले सोमबार खेलिएको रोमाञ्चक खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई सात विकेटले हराएको हो ।
भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले ४२.३ ओभरमा अलआउट हुनुअघि एक सय ४१ रन बनाएको हो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मीले ४२.५ ओभरमा सात विकेट गुमाएर एक सय ४५ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
जारी प्रतियोगितामा हालसम्म पाँच खेल खेलेको आर्मी क्लबको यो लगातार पाँचौँ जित हो । जारी प्रतियोगितामा आर्मी क्लबका अतिरिक्त नेपाल पुलिस क्लबले मात्र आफूले खेलेको पाँचवटै खेलमा जित हात पारेको छ । पाँच खेल खेलेको एपीएफ क्लबले भने तीन जित र दुई हारको नतिजा निकालेको छ ।
कुनै समय आर्मी क्लब हारको नजिक पुगिसकेको थियो । आर्मी क्लबले केवल ८७ रनको कुल स्कोरमा सात प्रभावशाली विकेट गुमाएको थियो । त्यसपछि आठौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल र नवौँ नम्बरका ब्याट्सम्यान सोमपाल कामीले आर्मीलाई जितसम्म डोर्याएका थिए ।
सामान्य विजय लक्ष्य पछ्याए पनि आर्मी क्लबका माथिल्लो क्रममा कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर ब्याट्सम्यानद्वय तृतराज दास र सन्तोष कार्कीले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
अप्ठ्यारो स्थितिमा क्रिज समाल्न आएका कुशल मल्लले टोलीका लागि अविजित ३१ रनको योगदान गरे । उनले ५९ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए । सोमपालले पनि उनलाई गतिलो साथ दिएका थिए । सोमपालले ५१ बलमा एक चौकाको मद्दतले अविजित २२ रन बनाए ।
सातौँ नम्बरका ब्याट्सम्यान विवेक यादवले पनि टोलीका लागि २६ रनको योगदान गरे । उनले २९ बलमा चार चौका पनि प्रहार गरे । बसिर अहमदले १३ र इमरान शेखले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
आर्मी क्लबले अतिरिक्त रुपमा पनि २४ रन पायो । एपीएफ क्लबका बलर कमल ऐरी, अमर रौतेला र रोहित पौडेलले दुई–दुई विकेट लिए । किशोर महतोले पनि एक विकेट हात पारे ।
त्यसअघि, पहिलो ब्याटिङ गरेको एपीएफ क्लबका सन्दीप जोरावाहेक अन्य कुनै ब्याट्सम्यान लामो समय क्रिजम टिक्न सकेका थिएनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीप जोराले टोलीका लागि ६५ रनको योगदान गरेका थिए । उनले ९१ बलको सामना गरी नौ चौका पनि हिर्काए ।
एपीएफ क्लबका अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अमर रौतेला र भुवन कार्कीले ११–११ रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान किशोर महतोले पनि ११ रन बटुले ।
एपीएफ क्लबले अतिरिक्त रुपमा पनि २५ रन पाएको थियो । आर्मी क्लबका बलर आकाश चन्दले चार विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिए । सोमपाल कामीले पनि तीन विकेट हात पारे । साहब आलमले दुई विकेट कुम्ल्याए । बसिर अहमदले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईजीपीमा थापा : पहिले सहमति, अनि मात्र मन्त्रिपरिषद्मा एजेण्डा
-
पाठ्यक्रममा एआई राख्ने त्रिवि, स्ववियु निर्वाचन भने परम्परागत शैलीबाट गराउँदै
-
चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका
-
नेपाली र अमेरिकी सेनाको आयोजनामा संयुक्त अभ्यास सुरु
-
आधार क्षेत्रमा नेविसंघलाई सघाउँदै अनेरास्ववियु, विरासत भत्काउने दाउमा क्रान्तिकारी
-
स्ववियु निर्वाचनमा महेन्द्र मोरङ : झडप र झैझगडाका शृङ्खला सुरु