सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

९ महिनापछि फर्किन लागेका सुनिता र बुचलाई पृथ्वीमा हुन सक्छन् यस्ता समस्या

सोमबार, ०४ चैत २०८१, १५ : ५५
सोमबार, ०४ चैत २०८१

वासिङ्टन डीसी । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स २७२ दिनदेखि अन्तरिक्षमा छिन् । त्यहाँबाट नफर्किँदासम्म यो दिनगन्ती जारी रहनेछ । सुनिताको साथमा २०२४ को जुन ५ मा अर्का अमेरिकी अन्तरिक्ष यात्री ब्यारी विल्मोर पनि आठ दिनका लागि भनेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा गएका थिए ।

नौ महिनापछि दुबैलाई पृथ्वीमा फर्काइँदैछ । शनिबार बिहान दुवैलाई ल्याउन अमेरिकी निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेशएक्सको क्रु–१० यान उडेको थियो । 

आइतबार बिहान सो यान अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा डक भयो । सुनिता र ब्यारी दुवै सकेसम्म चाँडो पृथ्वीमा फर्कन सक्नेछन् । पटक पटक दुबैलाई फर्काउने मिसन पछाडि सरे पनि अन्ततः दुवै पृथ्वीमा आउने निश्चित भएको छ  । दुवैलाई लामो समयसम्म अन्तरिक्षमा अलपत्र छाडेको आरोप लागिरहँदा नासाले भने उनीहरूले ठ्याक्कै अलपत्र नछोडिएको जिकिर गर्दै आएको थियो ।

यस घटनालाई अति बढाई चढाई गरेको केही विज्ञहरूले भनेका थिए । यसैबिचमा स्वास्थ्य बिग्रँदै गएको भन्दै केही फोटो भाइरल भएपछि सुनिता आफैँले पनि यी हल्लाबारे आफ्नो धारणा राखेकी थिइन् । 

पृथ्वीमा फर्किएर पनि उनीहरूलाई केही समय निकै सकस हुनेछ । आउने बित्तिकै सामान्य जीवनमा फर्किन सक्ने छैनन् । क्याप्सुलबाट धर्तीमा अवतरण गर्ने बित्तिकै दुवैलाई स्टेचरमा हालेर मेडिकल चेकजाँचका लागि दौडाइनेछ । यसका कारण ६ हप्ता जतिको समय लाग्ने बताइएको छ । यस अवधिमा उनीहरूलाई हिँडडुल गराउन, जिउ लचिलो बनाउने र मांसपेशी बलियो बनाउनमा बढी ध्यान दिइनेछ ।

त्यसपछिको अर्को ४५ दिनमा भने कार्डियो र अन्य प्रोप्रिओसेप्टिभ व्यायाम गराइनेछ । तेस्रो र अन्तिम चरण भने लामो हुनेछ । यसमा फङ्शनल डेभलपमेन्ट तालिममार्फत शारीरिक गतिविधिलाई सामान्य बनाउन बढी जोड दिइनेछ । पृथ्वीमा एक वर्षमा सम्पर्कमा आउने विकिरणसँग अन्तरिक्षमा एक हप्तामै सम्पर्कमा आएकोले उनीहरूको अन्य चेकजाँच र स्क्रिनिङ पनि हुनसक्ने अर्का एक विज्ञले भनेका थिए । 

बच्चाको जस्तै हुनेछ छाला 

यतिका समय अन्तरिक्षमा बसेर धर्तीमा आउँदा सुनिता र बुचको छाला बच्चाको जस्तै हुनेछ । अन्तरिक्षमा रहँदा बस्दा शरीर र समग्र स्वास्थ्यमा अनेकौँ परिवर्तनहरू आएकोले पनि यस्तो हुनेछ । अन्तरिक्षको गुरुत्वाकर्षण शून्य हुने भएकोले अन्तरिक्षयात्रीले लगाएको लुगा हावामा तैरिन्छ, छालामा टाँसिन्न । यो भनेको बच्चा हुँदाको जस्तै अनुभव हो । पृथ्वीमा आएपछि शरीरको पहिरन वा लुगा स्यान्ड पेपर जस्तै महसुस हुन्छ । तर पृथ्वीमा फर्किएपछि सुनिता र ब्यारीले यो एउटा मात्रै समस्या भोग्दैनन् । उनीहरूले अरू यस्ता समस्या पनि सामना सक्नेछन् । 

हिँड्न गाह्रो हुनेछ

विज्ञहरूका अनुसार सुनिता विलियम्स र ब्यारी विल्मोरको पुनरागमन त्यति सजिलो हुने छैन । पृथ्वीको वातावरण आईएसएसको भन्दा धेरै फरक छ । अन्तरिक्षको वातावरण शून्य गुरुत्वाकर्षणको छ । यसको अर्थ यहाँ अन्तरिक्ष यात्रीहरूले एकै पाइलामा धेरै फिटको दूरी पार गर्छन् । यति मात्र होइन, कयौँ अवसरमा त उनीहरूले अन्तरिक्ष यानको भुँइमा घण्टौँसम्म पाइला राख्नु पनि पर्दैन । ठोस सतहहरूमा दबाब दिने तिनीहरूको खुट्टाको क्षमता कम हुन्छ र खुट्टामा मांसपेशीको भार कम हुन्छ ।

पृथ्वीमा गुरुत्वाकर्षण बलको उपस्थितिको कारण यहाँ आएर हिँड्ने प्रयास गर्दा ठोस सतहमा खुट्टा सार्नै तिनीहरूलाई समस्या हुनेछ । कमजोरी महसुस हुनेछ । उनीहरूले आफ्नो पाइला पनि सानो भएको महसुस हुनेछ । यस्तो अवस्थालाई ‘बेबी फिट’ भनिन्छ । यति मात्र होइन, सुनिता र ब्यारीले पृथ्वीमा केही समयको लागि चक्कर लाग्ने र वाकवाकी लाग्नेछ । 

आइएसएसको शून्य गुरुत्वाकर्षण वातावरणबाट फर्केपछि आफ्नो तौल धेरै भारी भएको महसुस गरेको अन्तरिक्ष यात्री टेरी भिट्र्सले भनेका थिए । यति मात्र होइन, उनलाई चक्कर पनि लागेको थियो र फ्लुको सङ्क्रमण पनि भइरहेको थियो । टेरीका अनुसार अन्तरिक्षबाट फर्केपछि शरीरलाई पृथ्वीको वातावरणमा घुलमिल हुन कम्तीमा एक हप्ता लाग्छ । सुनिता र ब्यारीलाई पृथ्वीको वातावरणमा पूर्ण रूपमा घुलमिल हुन अझै केही समय लाग्न सक्ने विश्वास गरिएको छ ।

मुटु कमजोर हुन्छ 

द गार्जियन अखबारका अनुसार अन्तरिक्षमा रहँदा अन्तरिक्ष यात्रीहरूको हड्डीको घनत्व घट्छ, जुन चाँडै निको हुँदैन । यसबाहेक उनीहरूको शरीरमा मासु पनि कम हुन्छ । यसले हात र खुट्टालाई कमजोर बनाउँछ । यसले मुटुलाई पनि असर गर्छ । पृथ्वीमा मुटुले रक्तप्रवाह कायम राख्न गुरुत्वाकर्षण विरुद्ध काम गर्नुपर्छ तर अन्तरिक्षमा शून्य गुरुत्वाकर्षणमा यो अतिरिक्त बल मुटुमा लागू हुँदैन । 

सुनिता लामो समयदेखि अन्तरिक्षमा रहेकी हुनाले उनको मुटु अब शून्य गुरुत्वाकर्षणमा काम गर्न अभ्यस्त भइसकेको छ । शरीरको हरेक भागमा रगत पुर्‍याउन धेरै मेहनत पनि गर्नुपर्दैन । तर अब उनी पृथ्वीमा फर्किएपछि उनको मुटुले गुरुत्वाकर्षण बलविरुद्ध रगत प्रवाह उत्पन्न गर्नुपर्नेछ । यसको अर्थ उसको कमजोर मुटुले फेरि एक पटक पृथ्वी अनुसार शक्ति देखाउनुपर्नेछ । कहिलेकाहीँ यसमा धेरै समय लाग्छ र शरीरको हरेक भागमा रगत प्रवाह समयमै हुन सक्दैन । यसले अन्तरिक्ष यात्रीहरूको शरीरमा रगत जम्ने जोखिम बढाउँछ ।

मस्तिष्कमा प्रभाव

शून्य गुरुत्वाकर्षण वातावरणबाट पृथ्वीमा आएपछि अन्तरिक्ष यात्रीहरूको शरीरमा रहेको तरल पदार्थ मस्तिष्क वरिपरि जम्मा हुन थाल्छ । यसकारण उनीहरूलाई फ्लू भएको जस्तो लाग्छ । खगोल भौतिकशास्त्री एलन डफीका अनुसार यो तरल पदार्थले अन्तरिक्ष यात्रीहरूको आँखाको नानीको आकार परिवर्तन गर्छ र उनीहरूलाई हेर्नमा कठिनाइ हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?