सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाजवादी मोर्चा

चैत १५ को विरोध प्रदर्शनका लागि मोर्चा आबद्ध दलहरूको के–के छ तयारी ?

सडकमा एक लाख मानिस उतार्ने दाबी
सोमबार, ०४ चैत २०८१, १६ : ३०
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा गर्न लागेको विरोध सभामा बागमती प्रदेशका १३ जिल्लाबाट मानिस उतार्ने भएका छन् ।

फागुन २७ गते बसेको मोर्चाको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिगामीहरू सलबलाउन थालेको निष्कर्ष निकालेको थियो । केपी ओली नेतृत्वको गठबन्धन सरकारको नालायकी, देशी–विदेशी हिन्दु कट्टरपन्थी तथा प्रतिक्रियावादी शक्तिको उक्साहटमा राजावादीहरूले व्यवस्थाविरुद्ध षड्यन्त्र गरेको ठहरसहित मोर्चाले त्यसविरुद्ध सशक्त प्रतिरोध गर्ने निर्णय गरेको थियो ।

बागमती प्रदेशबाट व्यापक जनसहभागिता जनाउन मोर्चा आबद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्ष दल तथा नेकपा (माओवादी केन्द्र)ले विरोध प्रदर्शनलाई सशक्त बनाउन नियमित रूपमा बैठक राख्दै आएको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले रातोपाटीलाई बताए ।

‘विरोधसभालाई सशक्त र बृहत् बनाउन पार्टीको जवस/मोर्चा, बागमती प्रदेश, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशको बैठक दिनहुँ बसिराखेको छ’, उनले भने, ‘हजारौँको बलिदान र संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन देशी–विदेशी प्रतिक्रियावादी शक्तिको आडमा प्रतिगामी राजावादीहरूले सडकबाट टाउको उठाउने कोसिस गरिरहेका छन् । त्यसको सशक्त प्रतिरोधको तयारी भइरहेको छ ।’

सापकोटाले विरोधसभामा बागमती प्रदेशका सबै जिल्लाबाट स्वतःस्फूर्त रूपमा सहभागी हुने दाबी गर्दै अन्य जिल्लाबाट पनि प्रतिनिधिका रूपमा आउन सक्ने बताए । विरोधसभामा कुन पार्टीले कति नेता तथा कार्यकर्ता काठमाडौँमा उतार्ने भन्नेबारे छलफल नभएको जिकिर गरेका उनले ठुलो संख्यामा सहभागी हुने अनुमान गरे ।

नेकपा (एकीकृत समाजवादी)ले विरोध प्रदर्शनमा बृहत् जनसहभागिता जनाउनका लागि पार्टी, जवस/मोर्चा, केन्द्रीय विभाग तथा प्रदेश समिति बैठक बोलाएको छ ।

चैत १५ गते काठमाडौँमा गर्न लागिएको बृहत् विरोधसभालाई सफल बनाउन नेकपा एकीकृत समाजवादीले आन्तरिक तयारी गरेको छ । त्यसका लागि एकीकृत समाजवादीले सोमबार दिउँसो २ बजे केन्द्रीय कार्यालय आलोकनगरमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठक बोलाएको छ । पार्टीको तर्फबाट सम्पूर्ण शक्ति प्रयोग गर्ने गरी तयारी थालिएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

‘मोर्चाको विरोधसभालाई मध्यनजर गरी हामी आन्तरिक छलफलमा जुटेका छौँ । आजै पार्टीको स्थायी समिति बैठक बोलाइएको छ । विशाल प्रदर्शन गर्ने गरी आन्तरिक तथा अन्तरपार्टीबिच छलफल भइरहेको छ’, उनले भने ।

ज्वालाका अनुसार चैत ५ गते बिहान ११ बजे सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सचिवालय सदस्यहरूको संयुक्त बैठक बोलाइएको छ ।

चैत ६ गते दिउँसो १ बजे उपत्यकाका तीनै जिल्ला समितिको संयुक्त बैठक बोलाइएको ज्वालाको भनाइ छ । यस्तै, चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा संगठन, ८ गते दिउँसो ३ बजे उपत्यका प्रदेश र चैत ९ गते सम्पर्क प्रदेशको बैठक बस्ने उनले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि विरोधसभामा हजारौँ जनसहभागी हुने दाबी गरेको छ । विरोध प्रदर्शनमा सहभागी हुन बागमती प्रदेश, उपत्यका प्रदेश लगायत व्यापक सहभागिता गराउन आन्तरिक बैठक चलिरहेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

सोमबार बसेको सचिवालय बैठकमा विरोधसभालाई प्रभावकारी बनाउन सम्पूर्ण शक्ति परिचालन गरिने निर्णय भएको उनले जानकारी दिए ।

‘अहिले जसरी प्रतिगामी कदम, जुन हर्कतहरू बढिराखेका छन्, त्यसलाई असफल गर्ने गरी चैत १५ गतेको कार्यक्रमलाई सम्पन्न गर्ने निष्कर्षका साथ आन्तरिक तयारीमा छौँ’, उनले भने, ‘अहिले भर्खर सचिवालय बैठकले विरोधसभालाई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय भएको छ । राष्ट्रियता, स्वाधीनता, गणतन्त्र रक्षाको विषय भएकाले संसदभित्र र बाहिर रहेका राजनीतिक दलहरूसँग छलफल गरेर बृहत् बनाउने तयारीमा छौँ । विरोध प्रदर्शनमा एक लाखभन्दा बढी जनसहभागी हुने सुनिश्चित गर्छौं ।’

विश्वकर्माले विरोधसभामा कसले कति मानिस ल्याउने भन्नेबारे आन्तरिक छलफल भए पनि कुन पार्टीको भागमा कति जिम्मा परेकोबारे खुलाउन चाहेनन् । यद्यपि विरोधसभामा एक लाखभन्दा बढी मानिस आउने उनले दाबी गरे ।

विरोधसभा भृकुटीमण्डपमा हुन सक्ने विश्वकर्माले बताए ।

महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रतिगामी शक्तिको सशक्त प्रतिरोध गर्ने निर्णय गरिसकेको छ । आइतबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको सम्पूर्ण शक्तिलाई सशक्त प्रतिरोधमा उत्रिन निर्देशन दिँदै प्रतिक्रियादीहरूको षड्यन्त्रलाई विफल पार्न आह्वान गरेको सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए ।

‘प्रतिगामी शक्तिको विरोधमा सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छौँ । विरोधसभालाई सफल बनाउन बागमती प्रदेशका विभिन्न जिल्लाबाट हजारौँ कार्यकर्ता सहभागी गराउँछौँ’, उनले भने ।

यसअघि माघको दोस्रो साता बसेको मोर्चाको बैठकले जनआन्दोलन सुरु भएको अवसर पारेर चैत २४ गते बृहत् विरोधसभा गर्ने निर्णय गरेको थियो । तर सडकमा राजावादीहरूले सक्रियता बढाएपछि त्यस अघि नै अर्थात् १५ गतेका लागि विरोध कार्यक्रम राखिएको मोर्चा सम्बद्ध दलहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?