सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कृषि

तरकारीमा विषादी बढ्यो : परीक्षण सामग्री र जनशक्ति अभाव

सोमबार, ०४ चैत २०८१, १५ : ३३
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । बाली बिरुवाहरूमा लाग्ने विनासकारी प्राणीहरूमा कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शंकेकीरा, मुसा, चरा, अवान्छित झारहरू तथा रोग लगाउने सूक्ष्म जीवाणुहरू जस्तैः ढुसी, ब्याक्टेरिया, भाइरस, आदि मार्न विषादी प्रयोग गरिन्छ । 

यी प्राणीहरूलाई नास गर्न प्रयोग गरिने रासायनिक वा जैविक पदार्थलाई प्राणीनासक विषादी भन्ने गरिन्छ । बाली बिरुवालाई हानि नोक्सानी पुर्‍याउने विनाशकारी प्राणीहरूलाई यथोचित व्यवस्थापन गर्न विषादीहरू तयार गरिएका हुन् । तर तिनीहरूको प्रयोगमा सावधानी नअपनाएमा वा उचित रूपमा उपयोग नगरिए यसले उपयोगकर्ता, अरू मानिस, घरपालुवा पशुहरू, वन्यजन्तुहरू र लाभकारी कीराहरूलाई समेत हानि गर्छ । साथै वातावरणलाई समेत नोक्सान गर्छ । यी विषादी सुरक्षित तरिकाले प्रयोग हुन नसके हाम्रो भान्सामै पुग्छन् । 

सरकारले कृषिबालीमा प्रयोगका लागि १ सय ६४ वटा प्रकारका विषादी प्रयोग अनुमति दिएको छ । तर यसमध्ये कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी मात्रै जाँच हुने गरेका छन् । यो समूहमा १२ वटा विषादी पर्ने केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ । 

देशभरका खेतबारीमा प्रयोग भइरहेका १ सय ६४ प्रकारका विषादीमध्ये १ सय ५२ प्रकारका विषादीको जाँच नै हुन सकेको अवस्था छैन । नेपालमा प्रयोग गरिने विषादी दर्ता त धेरै छन्, तर परीक्षण भने केही मात्र हुँदा आफैँले सुरक्षित मापदण्ड अपनाउनुपर्ने बाध्यकारी अवस्था छ । 

Shutterstock_270811022

विषादीको प्रयोग फलफूल तथा तरकारीमा धेरै हुने गर्छ । 

विषादी जाँच हुन नसक्नुमा विषादी परीक्षणका सामग्री महँगो हुनुका साथै जनशक्ति अभावका मुख्य कारण रहेको केन्द्रीय कृषि प्रयोगशालाकी वरिष्ठ बाली विकास अधिकृत तथा सूचना अधिकारी मञ्जुश्री अर्याल भट्टराई बताउँछिन् । ‘नेपालमा विषादीको परीक्षणका लागि ल्याबका सामाग्री महँगो पर्छ,’ उनले भनिन्, ‘अब हामी विषादी परीक्षणको दायरा बढाउने प्रक्रियामा छौँ ।’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका अनुसार यो महिना चैत्र ३ गतेसम्म मात्रै घिरौला, परवल, काँक्रामा विषादी फेला परेको छ । कार्बामेट र आगानोफस्फेट नामक विषादी फेला परेको हो । यी विषादी भारतबाट ल्याएका परवल, धादिङको घिरौला र चितवनको काँक्रामा देखापरेको हो । 

यस्तै गत महिना फागुनमा धादिङको काउली, काँक्रामा विषादी फेला परेका थिए । यस्तै, भक्तपुरको काउलीमा पनि ती विषादी फेला परेका थिए । यस्तै, भारतको फर्सीमा, सर्लाहीको भण्टामा विषादी फेला परेको थियो । 

यस्तै, अघिल्लो महिना सागजन्य तरकारीमा समेत विषादी पाइएको थियो ।  भाजीको साग, रायो साग, पाकुचा साग, पालुङ्गो साग र गोलभेडामा ती विषादी देखा परेका थिए । ती तरकारी भारत, नवलपरासी, धादिङ, भक्तपुर, सर्लाहीका थिए ।  

केन्द्रीय कृषि प्रयोगशालाकी सूचना अधिकारी भट्टराईका अनुसार कालमाटीमा विषादी परीक्षण हुनेजस्ता प्रयोगशाला नेपालमा १२ वटा छन् । काठमाडौँको कालिमाटी, झापाको बिर्तामोड, सर्लाही, कास्की, बुटवल, नेपालगञ्ज, कैलाली, सुर्खेत, नवलपुर, सुनसरी, धरान, सिन्धुलीमा तरकारीको विषादी परीक्षण हुने गरेको छ । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार २०७१ असार ४ बाट यस्तो परीक्षण हुँदै आएको छ । 

  • विषादी आयात बढ्दा करोडौँ रुपैयाँ बाहिरियो 

महालेखा परीक्षक कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले नेपालमा पाँच वर्षमा विषादी आयात र पञ्जीकरण बढेको देखाएको छ । पछिल्लो पाँच वर्षमा विषादी पञ्जीकरणको संख्या ८६ दशमलव ८३ र आयातको परिमाण ४६ दशमलव ३ प्रतिशतले बढेको छ । 

यसरी विषादी आयात र पञ्जीकरणमा वृद्धि हुनु भनेको विषादीको प्रयोग बढ्नु हो । महालेखा परीक्षक कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा नेपालमा विषादीको आयात ४६.३ प्रतिशतले बढेको छ । 

आर्थिक वर्ष २०७५/७६ मा ८ लाख ९ हजार ९३ केजी विषादी आयातका नाममा ९५ करोड ६१ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ । ०७६/७७ मा ६ लाख ८१ हजार ६ सय २७ केजीको विषादी आयात गर्दा ७९ करोड ३८ लाख ३ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ७ लाख ८३ हजार ३ सय ४३ केजी विषादी आयात गर्दा १ अर्ब ६ करोड १८ लाख २३ हजार रुपैयाँ बाहिरिएको सरकारी तथ्यांक छ । 

यस्तै ०७८/७९ मा ११ लाख ३५ हजार ५ सय ४ केजी विषादी आयात भएकोमा १ अर्ब ६२ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै ०७९/८० मा ११ लाख ८३ हजार ७ सय ४१ केजी विषादी आयात गर्दा १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार रुपैयाँ देशबाट बाहिरिएको छ । 

पछिल्लो समय व्यावसायिक तरकारी खेती बढ्नु, मौसम परिवर्तनका कारण रोगकीरा बढ्नुलगायत कारणले विषादी प्रयोग बढेको छ । साथै अवैध रूपमा विषादी भित्रिनुले पनि प्रयोग बढेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी प्रकाश पौडेल बताउँछन् ।  

सरकारले अनुमति दिएका १६२ मध्ये २ समूहका मात्रै विषादी परीक्षण हुँदा सातामा एक दुई वटा तरकारी तथा फलफूलमा विषादी फेला पर्छन् । के राज्यले अनुमति दिएको सबै प्रकार विषादी परीक्षण हुने हो भने तरकारी तथा फलफूल उपभोग योग्य होलान् ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?