सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलन सम्पन्न

सोमबार, ०४ चैत २०८१, १५ : ०६
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन सम्पन्न भएको छ । 

 थाइल्यान्डको राजधानी बैंककमा आइतबार सम्पन्न सम्मेलनले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।  गैरआवासीय नेपाली नागरिकता तथा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाइ हुने थाइल्यान्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरूमा पुस्तौँदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रूपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधनको लागि सम्मेलनले अनुरोध गरेको उपाध्यक्ष रामशरण सिम्खडाले जानकारी दिए । 

सम्मेलनले पाल्पाकी ओजस्वी आचार्य तथा थाइल्यान्ड निवासी पिएनओ खुसी कार्कीलाई एनआरएनए ब्राण्ड एम्बासडरका रूपमा घोषणा निर्णय पनि गरेको उनको भनाइ छ । 

यस्तै एनआरएनएको प्रस्तावमा प्रत्येक वर्ष दुई जना नेपाली विद्यार्थीलाई एसियन इन्टरनेशनल युनिभर्सिटी उज्बेकिस्तानमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनको अवसर उपलब्ध गराइने सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ। ती दुई जना विद्यार्थीको छनोटमा पारदर्शिता अपनाउने सम्मेलनमार्फत घोषणा भएको छ । 

यस्तै हाल गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको तर यसको प्रयोगमा विभिन्न कानुनी जटिलता रहेको हुनाले यस सम्बन्धी कानुन निर्माण गर्नका लागि सहजीकरण गरिदिन पनि सरकारलाई अनुरोध सम्मेलनमार्फत गरिएको छ । 

यस्तै एनआरएनएको बृहत् एकताका लागि हदैसम्मको  लचकता अपनाउने निर्णय पनि बैठकले गरेको छ । 

सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, पूर्व मन्त्री तथा सांसद पदम गिरी, थाइल्यान्डका लागि नेपालका राजदूत धन बहादुर ओली, विभिन्न देशमा बसोबास गर्ने पीएनओ तथा युवाहरू  विषयगत विज्ञहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका तथा व्यावसायिक संघ–संस्थाका प्रतिनिधिहरू, कलाकार, सञ्चारकर्मीहरू तथा ३५ भन्दा बढी देशबाट भौतिक एवं भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत शुभकामना दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?