सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

स्ववियु निर्वाचन : आफ्नै प्रतिबद्धता बिर्सिएका विद्यार्थी संगठन, हार्ने कलेजमा तालाबन्दी

सोमबार, ०४ चैत २०८१, १२ : ३९
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । २०८१ माघ २३ गते त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनहरूलाई छलफलका लागि बोलायो । २३ वटा विद्यार्थी संघ संगठन तथा समूहहरूलाई बोलाउँदा २१ वटा संगठनका अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए ।

चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सहज रूपमा सम्पन्न गर्ने विषयमा छलफल राखिएको थियो ।

त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रेक्टर प्राडा खड्क केसी, रजिस्ट्रार प्राडा केदार रिजाल लगायतका पदाधिकारीहरूको उपस्थितिमा भएको कार्यक्रममा सहभागी विद्यार्थी संगठनहरूले एउटै दाबी थियो । सबै विद्यार्थी संगठनहरूले एकै स्वरमा भने– चैत ५ गतेको स्ववियु निर्वाचन स्वच्छ, निष्पक्ष र विनाअवरोध सम्पन्न गराउन तयार छौँ ।

विद्यार्थीहरूको प्रतिबद्धतापछि त्रिवि स्ववियु निर्वाचन गर्न हौसियो । चैत ५ गते तोकिएको मितिमै सहज रूपमा निर्वाचन सम्पन्न हुनेमा त्रिवि आशावादी रह्यो । तर, अहिले निर्वाचनको मितिकै पूर्वसन्ध्यामा आइपुग्दा तिनै प्रतिबद्धता गर्ने विद्यार्थी संगठनहरू तालाबन्दी गर्ने, तोडफोड गर्ने तथा निर्वाचन बिथोल्ने गतिविधिमा लागेका छन् ।

विद्यार्थी नेता चुन्ने निर्वाचनमा विद्यार्थीहरूबाटै अवरोध हुन थालेको छ । विद्यार्थी संगठनहरूले कहिल्यै पनि विश्वविद्यालय तथा क्याम्पसहरूमा तालाबन्दी नगर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले आफ्ना घोषणापत्रमा समेत तालाबन्दी नगर्ने प्रतिबद्धता जनाए पनि आफ्नो जनाधार कमजोर देखिएको तथा पराजित हुने अवस्था देखेका क्याम्पसहरूमा तालाबन्दी गर्दै हिँडेका छन् ।

त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये १६ वटा क्याम्पसमा विद्यार्थी संगठनहरूको तालाबन्दी छ । त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको असन्तुष्ट पक्षले नै तालाबन्दी गरेको छ ।

उपत्यकाभित्रका विभिन्न ६ वटा आंगिक क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् ।

विश्वभाषा क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस, शंकरदेव क्याम्पस,   नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा तालाबन्दी गरिएको छ । उपत्यका बाहिर महेन्द्रनगरको शिद्धनाथ बहुमुखी क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, भैरहवाको भैरहवा बहुमुखी क्याम्पस, विराटनगरको महेन्द्र मोरङ क्याम्पस, जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस लगायतका तालाबन्दी छ । जसले गर्दा ती क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।

त्रिविका आङ्गिक क्याम्पसबाहेक अन्य कतिपय क्याम्पसमा समेत तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्यार्थी संगठनहरू आफ्नै प्रतिबद्धताबाट पछि हटेर तालाबन्दीमा उत्रिएको देखेर त्रिविका अधिकारीहरू आजित भइसकेका छन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचन सहज रूपमा सम्पन्न गराउन प्रतिबद्धता जनाएको तर, अहिले आएर उनीहरू आफ्नै प्रतिबद्धताबाट पछि हटेको बताए ।

  • किन गर्दैछन् तालाबन्दी ?

त्रिवि केन्द्रीय क्याम्पसको तालाबन्दी खोल्ने विषयमा पटकपटकको छलफलले सार्थकता पाउन सकेको छैन । तालाबन्दी खोल्ने विषयमा स्ववियु निर्वाचन समिति र नेविसंघबिच छलफल गरिएको थियो तर, उनीहरूले आफ्नोतर्फका उम्मेदवार आधिकारिक नमानिएसम्म तालाबन्दी नखुल्ने चेतावनी दिए । माग सम्बोधन नगरी ताला खोल्नेको हात नै काटिदिने धम्की नेविसंघका नेताहरूले दिए ।

त्यसपछि स्वयम्भुमा रहेको होटल बज्रमा निर्वाचन समितिको बैठक बसेको थियो । उक्त बैठकले समेत कुनै निकास निकाल्न सकेन । जसले गर्दा त्रिविको केन्द्रीय क्याम्पसमै स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

नेविसंघको आन्तरिक विवादका कारण उम्मेदवारीमा देखिएको लफडा, फर्जी विद्यार्थी भर्ना गरेको आरोप, निर्वाचन समितिले निष्पक्ष रूपमा काम गर्न नसकेको आरोपजस्ता कारण देखाउँदै विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रिएका हुन् ।

नेविसंघका प्रवक्ता सुरज सेजुवाल संगठन ‘चेन अफ कमाण्ड’मा नचल्दा समस्या भएको बताउँछन् । संगठनको नियम, कानुन अनुसार नेता तथा कार्यकर्ता नचल्दा समस्या भइरहेको उनको भनाइ छ । नेविसंघमा नेताहरूको निर्देशन नमान्ने परम्परा कायम रहेको बताउँदै उनले यसमा माउ पार्टी तथा त्यसका नेताहरू जिम्मेवार रहेको बताए ।

‘नियन्त्रणमा छैन । संगठनमा अनुशासन प्रशिक्षणको अभाव छ । नेविसंघका नेता कार्यकर्ता सबैभन्दा पहिला नेविसंघप्रति नै जवाफदेही हुनुपर्छ तर, यहाँ त ठ्याक्कै माउ पार्टीका नेता समाइदिन्छन् । केन्द्रीय अध्यक्ष को हो ? मेरो त महामन्त्री छ, नेता छ भन्ने मनसाय देखिन्छ,’ उनले भने ।  

नेविसंघभित्रको विवादका कारण स्ववियु निर्वाचनमा धेरै ठाउँमा विवाद देखिएको छ । जसले गर्दा ती कलेजहरूमा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नेविसंघले आचारसंहिता बनाएको छ । आचारसंहितामा कुनै पनि कलेजमा तालाबन्दी नगर्ने भन्ने छ । तर पनि धेरैजसो कलेजहरूमा नेविसंघकै असन्तुष्ट पक्षबाट तालाबन्दी भइरहेको छ ।

त्यस्तै नेविसंघले अनुशासन समितिसमेत बनाएको छ । तर, कुनै नेता कार्यकर्ताले अनुशासन समितिको निर्देशन समेत टेर्दैनन् । तालाबन्दी खोल्ने विषयमा संगठन र पार्टीको तर्फबाट समेत पहल भइरहेको उनको भनाइ छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडाल आफ्नो संगठनबाट कुनै कलेजमा तालाबन्दी नगरिएको बताउँछन् । नवलपुरका तालाबन्दी गरिएको भनिएका कलेजहरूमा तत्काल ताला खोल्न भनिएको समेत उनले बताए ।

‘अनेरास्ववियुको तर्फबाट कुनै पनि कलेजमा तालाबन्दी छैन । तालाबन्दी गरेका नवलपुरमा मैले तुरुन्तै खोल्नुस् भनेर निर्देशन दिएको छु । अरु संगठनको तालाबन्दी भएकाले मैले केही भनेको छैन । नत्र हाम्रो संगठनको तर्फबाट भएको हो भने म आफैँ ताला तोड्न जान्छु,’ अध्यक्ष बडालले भने ।

नेविसंघको आन्तरिक झमेलाका कारण कलेजहरूमा तालाबन्दी भइरहेको बताउँदै उनले लोकतन्त्रको मसिहा भन्ने नेविसंघले आफ्नो जित सुनिश्चितता नभएका कलेजहरूमा तालाबन्दी गर्दै हिँडेको आरोप लगाए ।

नेविसंघकै नेतृत्व गरेकाहरू अहिले कांग्रेसको महामन्त्री रहेको बताउँदै तल अराजकता हुँदा टुलुटुलु हेरेर बस्ने गरेको बडालको आरोप छ ।

‘आन्तरिक कमी कमजोरीको विषयवस्तु पार्टीको आन्तरिक कारबाहीको विषय बन्ला तर, पार्टीको आन्तरिक विवादले समग्र निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नदिनु राम्रो होइन,’ अध्यक्ष बडालले भने ।  

अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले महत्त्वपूर्ण कलेजहरूमा आफ्नो संगठनको तर्फबाट तालाबन्दी नरहेको बताए । शंकरदेव कलेजबाहेक अन्यमा आफ्नोतर्फ तालाबन्दी नरहेको उनको भनाइ छ ।

‘महत्त्वपूर्ण ठाउँमा हामीले तालाबन्दी गरेका छैनौँ । निष्पक्ष निर्वाचन हुनुपर्छ भनेका छौँ । विद्यार्थीको निर्वाचन विद्यार्थीबाटै हुनुपर्छ भनेका छौँ । हार्नेजस्तो आकलन भएको ठाउँमा समेत हामी लडिरहेका छौँ । नेविसंघ र अनेरास्ववियुले हार्ने ठाउँमा तालाबन्दी गरेका छन्,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?