सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेश, आर्मी क्लब र मधेस प्रदेशलाई जितका लागि सामान्य लक्ष्य

सोमबार, ०४ चैत २०८१, १२ : ३७
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार जारी तीनवटै खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले आफ्ना प्रतिद्वन्द्वीलाई सामान्य लक्ष्य दिएका छन् । सिद्धार्थनगर रंगशालामा जारी खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरुपश्चिम प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ६० रन बनाएको हो । 

पुलिस क्लबका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन बनाए । सातौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रले ४७ बलको सामना गरी पाँच चौका पनि हिर्काए । आरिफ शेखले पनि टोलीको खातामा ४० रन थपे । उनले ६४ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।

तल्लो क्रमका ब्याट्सम्यान सागर ढकालले टोलीको खातामा २२ रन थपे । दिलिप नाथले १९ र अमित श्रेष्ठले १८ रन बनाए । सुदूरपश्चिम प्रदेशका बलर सूर्य श्रेष्ठले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४३ रन खर्चिए । भोजराज भट्टले तीन विकेट हात पारे । शेर मल्लले दुई विकेट लिए । हेमन्त धामीले एक विकेट कुम्ल्याए ।

यसैगरी भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफले ४२।३ ओभरमा अलआउट हुनुअघि एक सय ४१ रन बनाएको हो ।  

एपीएफका सन्दीप जोरावाहेक अन्य कुनै ब्याट्सम्यान लामो समय क्रिजम टिक्न सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका जोराले टोलीका लागि ६५ रनको योगदान गरे । उनले ९१ बलको सामना गरी नौ चौका पनि हिर्काए । एपीएफ क्लबका अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अमर रौतेला र भुवन कार्कीले ११–११ रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान किशोर महतोले पनि ११ रन बटुले । 

एपीएफ क्लबले अतिरिक्त रुपमा पनि २५ रन पाएको थियो । आर्मी क्लबका बलर आकाश चन्दले चार विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिए । सोमपाल कामीले पनि तीन विकेट हात पारे । साहब आलमले दुई विकेट कुम्ल्याए । बसिर अहमदले एक विकेट लिए । 
यसैगरी, दाङको लमहीमा जारी खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई जितका लागि एक सय ५९ रनको लक्ष्य दियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४६ ओभरमा अलआउट हुनुअघि एक सय ५८ रन बनाएको हो । 

लुम्बिनी प्रदेशका लागि आकाश त्रिपाठीले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ७३ रनको योगदान गरे । यस क्रममा उनले एक सय २३ बलको सामना गरी एक छक्का र ६ वटा चौका पनि प्रहार गरे ।  दुबै ओपनर ब्याट्सम्यान मृनाल गुरुङ (६ रन) र मनिष थापा (५ रन) ले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सातौँ नम्बरमा क्रिज समाल्न आएका कृष्ण कार्कीले टोलीको खातामा ३३ रन थपे । उनले ५३ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए ।

लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा आठ रनमात्र पायो । मधेश प्रदेशका बलर विशाल पटेल र कमल गुप्ताले तीन–तीन विकेट लिए । हरिशंकर साह, प्रदिप पासवान र रंजित कुमारले पनि एक–एक विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?