समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौँ । चैत १५ गते समाजवादी मोर्चाले काठमाडौँमा गर्न लागिएको वृहत् विरोधसभालाई सफल बनाउन नेकपा एकीकृत समाजवादीले आन्तरिक तयारी गरेको छ । त्यसका लागि एकीकृत समाजवादीले दिउँसो २ बजे केन्द्रीय कार्यालय आलोकनगरमा काठमाडौँमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठक बोलाएको छ ।
चैत ५ गते बिहान ११ बजे सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सचिवालय सदस्यहरूको संयुक्त बैठक बोलाएको छ ।
चैत ६ गते दिउँसो १ बजे उपत्यकाका तीनै जिल्ला समितिको संयुक्त बैठक बोलाएको छ । चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा सङ्गठन, ८ गते दिउँसो ३ बजे उपत्यका प्रदेश र चैत ९ गते सम्पर्क प्रदेशको बैठक दिउँसो ३ बजे बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी गराएका छन् ।
फागुन २७ गते बसेको समाजवादी मोर्चाले प्रतिगामी राजवादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै चुनौती दिन काठमाडौँमा विरोधसभा गर्ने निर्णय गरेको थियो ।