सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेको धारणाप्रति सांसदहरूको आपत्ति

सोमबार, ०४ चैत २०८१, १२ : ०९
सोमबार, ०४ चैत २०८१

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको धारणाको विरोध भएको छ । आइतबारको बैठकमा घिमिरेले ‘नेपालमा पनि यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने धारणा राखेकामा सोमबारको बैठकमा सांसदहरूले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । 

सत्तापक्षकै महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सांसदले मुलुकको सामाजिक संरचना बिथोल्न खोजेको उनीहरूको आरोप थियो । बैठकको शून्य समयमा सांसदद्वय दुर्गा राई र दीपक सिंहले यौन व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्दै घिमिरेले राखेको धारणाको विरोध गरे । 

सांसद राईले कांग्रेस प्रमुख सचेतक घिमिरेको धारणा रेकर्डबाट हटाउन माग गरिन् । उनले सांसद घिमिरेलाई चेतावनी दिँदै भनिन्, ‘यौन व्यवसाय गर्न आफ्नो परिवारबाट अगाडि बढाउन आँट गर्न सक्नुहुन्छ ?’ 

सांसद सिंहले नेपाली समाजलाई तहसनहस बनाउने षडयन्त्र स्वरूप सत्तारुढ दलका जिम्मेवार सांसदबाट यस्ता धारणा आएको बताए ।  उनले नेपाल देश देवी पूजनको भूमि भएको भन्दै यस्ता उच्छृङ्खल अभिव्यक्ति नदिन समेत आग्रह गरे ।

उनले भने, ‘हजारौँ युवाहरूले रोजगारी र शिक्षाको लागि देश छोडिसकेका छन् । अब सीमित कलिला युवा आमा छोराछोरी मात्र बाँकी छन् । देशको आर्थिक विकासको लागि पर्यटन भित्र्याउन त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनको लागि यौन व्यवसाय, यौन पर्मिट सरकारले दिनुपर्छ भन्नुभएको छ सरकारकै एक माननीयज्यूले । यो व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिएको त आएको त होइन ? यही दिनको लागि गणतन्त्र ल्याएको हो ?’

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने बताएका थिए । मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने उनको दाबी थियो । 

‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ । मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ । जसले यो मुलुकमा पर्यटकको सङ्ख्या बढाउनेछ,’ घिमिरेले भनेका थिए, ‘धार्मिक पर्यटकहरूले कम खर्च गर्छन् । साहसिक पर्यटक थोरै मात्र हुन्छन् । संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो । त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकमा आर्थिक विकास हुन्छ। विपक्षीले यी कुरा उठाइदिएको भए कति काइदा हुन्थ्यो !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?