एसईई परीक्षा : गोलाप्रथाद्वारा केन्द्राध्यक्ष तय गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण

महोत्तरी । यही आउने बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा केन्द्राध्यक्ष नियुक्तिबारे मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराएका छन् । परीक्षा सञ्चालन हुन तीन दिनमात्र बाँकी रहँदा मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक नभई गोलाप्रथाद्वारा तय गर्न समितिको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्री सिंहले एसइई परीक्षा सञ्चालनबारे प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले समसामयिक सुधार गरिँदै अघि बढ्न यसअघि नै जिल्ला परीक्षा समन्वय समितिलाई केन्द्राध्यक्ष गोलाप्रथाबाट नियुक्त गर्न पत्राचार गरिएको स्मरण गराए । केही जिल्ला परीक्षा समन्वय समितिले पुरानै प्रक्रियाअनुसार केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने प्रक्रिया अघि बढाएपछि मुख्यमन्त्री सिंहले यसबारे विज्ञप्ति प्रसारित गरेरै ध्यानाकर्षण गराएका हुन् ।
आइतबार साँझ सिंहका तर्फबाट प्रेस सल्लाहकार अनिलकुमार कर्णले प्रसारित गर्नुभएको विज्ञप्तिमा परीक्षा सञ्चालनबारे परीक्षाको मर्यादाका लागि सम्बन्धित केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नतोकिने यसअघि भएका निर्णयको स्मरण गराइएको छ । केन्द्राध्यक्ष गोलाप्रथाबाट तोकिँदा निष्पक्षता र परीक्षाको मर्यादा दुवै पक्षमा सकारात्मक सन्देश र परिणाम प्राप्त हुने अवस्थाको अवज्ञा केही जिल्लाबाट भएको भन्दै यस्तो भए परीक्षा सञ्चालन प्रक्रियाबाट मधेस सरकार अलग्गिनेसम्मको ध्यानाकर्षण विज्ञप्तिमा उल्लेख छ ।
यता जिल्ला परीक्षा समन्वय समितिहरूले यसअघिका वर्षहरूझै केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक तोकेर नै प्रक्रिया अघि बढाएका छन् । महोत्तरीमा पनि यसअघिका वर्षहरूमा भइआएको व्यवस्थाबमोजिम नै केन्द्राध्यक्ष तोकिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।
फरक प्रक्रिया अघि बढाउन तयारीका लागि पर्याप्त समय नहुनु जिल्ला परीक्षा समन्वय समितिको बुझाइ छ । परीक्षाको मुखमा जिल्ला परीक्षा समन्वय समिति र प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिबीच बढ्ने असमझदारीले परीक्षा गञ्जागोल हुने चिन्ता शिक्षाविद्हरूले व्यक्त गरेका छन् ।