चैतमा ८ फिल्म : स्टारको दबदबा र कथामा भेराइटी

काठमाडौंँ । गत माघ महिनाबाट गर्माएको नेपाली फिल्म रिलिजको माहोल फागुन हँुदै चैत महिनामा पनि कायम रहने देखिएको छ । माघमा ७ र फागुनमा ९ नेपाली फिल्म रिलिज भएकोमा चैतमा ८ वटा फिल्म रिलिज हुने देखिएको छ ।
नेपालमा चाडपर्व बाहेक अन्य समय शुक्रबार फिल्म रिलिज गर्ने परम्परा रहँदै आएको छ । ५ वटा शुक्रबार रहेको चैतमा पहिलो दिन अर्थात् १ गते ‘राजगञ्ज’ प्रदर्शन भयो ।
चैत ८ गते दुई फिल्म ‘द्रौपदी’ र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) प्रदर्शन हुने भएका छन् । यस्तै १५ गते ‘डोरी’ र २२ गते ‘बसन्त’ रिलिज हुने भएका छन् ।
फिल्म ‘नरसिंहा अवतार’ले केही अघि नै रिलिज मिति चैत २९ तोके पनि अहिलेसम्म प्रचारप्रसार गरेको देखिन्न । त्यसैले यो फिल्म चैतमै प्रदर्शन हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन ।
२९ गते रिलिज हुने फिल्मको सूचीमा ‘पिताम्बर’ र ‘कर्मा’ पनि छन् ।
- स्टारको दबदबा
चैत महिना नेपाली बक्सअफिसमा स्टारको दबदबा रहने देखिएको छ । रिलिजमा आउन लागेका ८ फिल्ममध्ये धेरैमा स्टार कलाकार देख्न सकिन्छ ।
१ गते रिलिज भएको दीपक रौनियार निर्देशित ‘राजागञ्ज’मा स्टार कलाकार दयाहाङ राईका अतिरिक्त आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डकदेखि पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
८ गते रिलिजमा आउन लागेको ‘द्रौपदी’ ऋषिराज आचार्यको निर्देशन रहेको फिल्म हो । यो फिल्ममा निर्देशक आचार्यका अलावा अभिनेत्री आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कविराज भाम, जेल्सन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतको अभिनय छ ।
८ गते नै प्रदर्शनमा आउन लागेको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) केशव पाण्डेले निर्देशन गरेका छन् । फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनालको अभिनय छ ।
त्यस्तै, १५ गते रिलिज हुने फिल्म ‘डोरी’ अरुण लामाले निर्देशन गरेका हुन् । फिल्ममा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली लगायत चलेका कलाकारका अलावा राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय छ ।
२२ गते रिलिज हुने फिल्म ‘बसन्त’मा प्रकाश सपुत, स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरे लगायतका चलेका कलाकार छन् । फिल्म प्रकाश सपुतले निर्देशन गरेका हुन् ।
यस्तै, २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’, ‘कर्मा’ र ‘नरसिंहा अवतार’ पनि स्टार कलाकारले भरिएको छ । कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’मा चलेका प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष लगायतको अभिनय छ ।
फिल्म ‘कर्मा’ सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्ममा पनि विपिन कार्की, मुकुन भुषाल, उपासना सिंह ठकुरी, दिव्यदेवलगायत स्टार कलाकारले भरिएको छ ।
‘नरसिंहा अवतार’ दीवाकार भट्टराई निर्देशित फिल्म हो । फिल्ममा राजेश हमाल, नीति शाह, सनिशा भट्टराई, राज कटुवाल लगायतको अभिनय छ ।
- कथामा भेराइटी
चैतमा प्रदर्शन हुने फिल्ममा विभिन्न भेराइटीका कथा देख्न सकिन्छ । गत १ गते रिलिज भएको फिल्म ‘राजगञ्ज’ नेपाल र भारतको सीमावर्ती सहरका अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।
चैत ८ गते रिलिज हुने ‘द्रौपदी’ले कर्णालीको कथा उठाएको छ । फिल्मले कर्णालीमा रहेको विवाह संस्कार र त्यहाँको दुःखसमेत देखाउने छ । अर्काे फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) भने क्राइम थ्रिलर विषयमा निर्माण भएको हो ।
त्यस्तै, १५ गते रिलिज हुने फिल्म ‘डोरी’ समसामयिक कथालाई फरक तरिकाले पस्किएको बताइन्छ । फिल्ममा एक पात्रको संघर्ष, रहस्य र गहन भाव देख्न सकिने निर्माण युनिटको भनाइ छ ।
२२ गते रिलिज हुने ‘बसन्त’ जातीय विभेद र वर्ण व्यवस्थाको कथावस्तुमा आधारित रहेर निर्माण भएको हो । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र यो लक्ष्य हासिल गर्न उसले हासिल गर्ने संघर्षको कथालाई फिल्ममा समेटिएको छ ।
चैत २९ गते रिलिज हुने ‘कर्मा’ एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्म हो । ‘पिताम्बर’मा प्रेमकथा, सामाजिकदेखि एक्सन कथासम्म देख्न सकिनेछ ।
फिल्म ‘नरसिंह अवतार’ पनि एक्सन र समसामयिक विषयमा निर्माण भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
टियु आंगिक तथा सामुदायिक क्याम्पसमा स्ववियु चुनाव आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
-
बारीमा उम्रिएको च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको मृत्यु
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा
-
लाइसेन्स दिने भनिएपछि कर्मकाण्ड र ज्योतिष कक्षा लिनेको बढ्यो भीड, ६ महिनाको शुल्क १५ हजार